काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र एमाले अध्यक्ष एवम् बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले दावी पेस गरेका छन् ।
ओली र देउवा दुवै जनाले आफ्ना पक्षमा बहुमत सांसद् रहेको जिकिर गरेका छन् । सभापति देउवाले आफ्नो दल कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष र एमालेका नेपाल पक्षका १४९ सांसदको समर्थन रहेको दावी गर्दै शितल निवासमा पत्र दर्ता गराए ।
त्यसअघि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुले हस्ताक्षर संकलन गरेका थिए । देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको दाबी गर्न देउवाका साथै माओवादी अध्यक्ष प्रचण्ड, जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादव, माधव कुमार नेपाललगायका नेताहरु शितल निवास पुगेका थिए ।
त्यस्तै, शुक्रबार नै प्रधानमन्त्री ओलीले शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष फेरि प्रधानमन्त्री पदको लागि दाबी पेस गरे । नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका २३ गरि १५३ जना सांसदको समर्थन रहेको भन्दै ओलीले फेरि प्रधानमन्त्री पदको लागि दाबी गरेका हुन् ।
प्रतिपक्षी गठबन्धन र सत्ता पक्षले नै दाबी गरेपछि राष्ट्रपति कार्यालयले सांसद्का हस्ताक्षरको अध्ययन गर्ने जनाएको छ ।