काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधामन्त्री केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई फकाउन आफूले ‘दुई कदम पछि हटेर एक कदम अघि बढ्ने’ लेलिनको शैली अपनाएको तर त्यसबाट फाइदा हुने संकेत नदेखेको बताएका छन् ।
बालुवाटारमा शुक्रबार सुरु भएको एमाले दशौँ महाधिवेशन आयोजक कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
“म अझै पनि लचिलो भएर आएको छु । मेरो माधव नेपाल, योगेश भट्टराईलगायतका नेताहरुसँग भेटघाट भयो । दुई कदम पछाडि एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेलिनको शैली अपनाउन तयार भएर कुरा गरेँ,” ओलीले भने,“साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल महशुस र अनुभूति देखिँदैन ।”
निकै दुःखका साथ एकीकृत गरिएको पार्टी प्रचण्ड र नेपालका कारण विभाजन भएको आरोप उनले लगाए । बैठकमा बोल्दै ओलीले कम्युनिस्ट पार्टी एकताबद्ध बनाउन आफूले रातो दिन अहोरात्र खटिरहेको बताउँदै भने,“हामी जिम्मेवार र अनुशासित भएकोले हामीले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौँ । यत्रो दुःखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र नेपाल कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुनः विभाजित भयो ।”
उनले पार्टी विभाजा नहुँदै प्रचण्ड र माधवले शत्रुतापूर्ण सम्बन्ध बनाइसकेको आरोप लगाउँदै सोही कारण आफूलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गरेको बताए ।
ओलीले कोही पार्टी खोस्ने ढंगले आएको हो भने त्यो सम्भव नभएको पनि बताए ।“कम्युनिस्ट पार्टी नयाँ उचाइ, सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ,” ओलीले भने ।