राष्ट्रिय युवा परिषद्का २०० जना ट्राफिक स्वयंसेवक परिचालन

372

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।

महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न कलेजका २ सय जना विद्यार्थीहरुलाई ट्राफिक महाशाखामा शिक्षण गरी काठमाडौंका विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्रा क्रसिङमा परिचालन गरिनेछ । महाशाखाले स्वयंसेवकलाई १० दिन सम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारी जानकारी दिए ।

काठमाडौं उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए । स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने एसएसपी भट्टराईले जानकारी दिए ।

उनले एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने भन्दै ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे । जेब्रा क्रसिङ तथा जथाभावी बाटो काट्दा भएका दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उनले पैदलयात्रुको बढी भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरी सहजता ल्याउने जानकारी दिए ।

उपत्यकामा वर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रु दुर्घटना परि अनाहकमा ज्यान गुमाउनुको साथै अंगभङ्ग हुने गरेको छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरवाही तरिकाले सडक पार गर्ने र जथाभावी हिँड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ ।

स्वयमसेवक परिचालनबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाइ छ ।

यसअघि महाशाखाले नेपाल स्काउट, सामुदायिक सेवा केन्द्रका युवा विद्यार्थीहरुलाई समेत प्रशिक्षण दिइ बिभिन्न चरणमा ट्राफिक स्वयंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ ।

कार्यक्रममा प्रहरी अधिकृतहरु, राष्ट्रिय युवा परिषद्‌का पदाधिकारी तथा अन्य ट्राफिक स्वयंसेवकको उपस्थिति रहेको थियो । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा थप परिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...