वेलिङ्टन । न्युजिल्यान्डविरुद्धको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । बुधबार भएको खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ६४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
वेलिङटनस्थित, वेष्टप्याक स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाहुन टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो ।
सुरुवाती विकेट ६ रनको स्थितिमा गुमाएको अष्ट्रेलियाका लागि आरोना फिन्च र ग्लेन म्याक्सवेलले अर्धशतकीया पारी खेले ।
आक्रामक ब्याटिङ गरेको म्याक्सवेलले ३१ बलमा ५ छक्का र ८ चौकाको मद्धतमा ७० रन जोडे । यस्तै, कप्तान फिन्चले ४४ बलमा ६९ रनको योगदान दिए ।
जोस फिलिपले ४३ रन बनाउँदा मर्कूस स्टोइनिस र मिचेल मार्शले क्रमशः ९ र ६ रनमा अविजित रहे ।
न्युजिल्यान्डका इश सोदीले दुई तथा ट्रेन्ट बोल्ट र टिम साउथीले समान एक–एक विकेट लिए ।
२ सय ९ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रन मात्र बनाउन सक्यो ।
न्युजिल्यान्डका मार्टिन गुप्टिलले ४३, डेभोन कोनवेले ३८, मार्क क्याम्पम्यानले १८, ग्लेन फिलिप्सले १३ तथा काइल जेमिन्सनले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।
न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका एस्टोन अगरले ६ विकेट लिए ।
जितसँगै अष्ट्रेलियाले पाँच खेलको टी–२० सिरिज १–२ को स्थितिमा ल्याएको छ ।