मेलबर्न स्टार्समाथि १ विकेटको विजयी हुँदै सिड्नी सिक्सर्स शीर्ष स्थानमा उक्लियो

220

क्वुइन्सल्यान्ड । दशौँ संस्करणको बिग बास लिग (बिबिएल) अन्तर्गत सिड्नी सिक्सर्स विजयी भएको छ । शनिबार भएको दोस्रो खेलमा सिक्सर्सले मेलबर्न स्टार्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

१ सय ९४ रनको लक्ष्य पछ्याएको सिक्सर्सले एक बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पुरा गर्यो । सिक्सर्सको जितमा दानिएल ह्युजले ९६ रनको योगदान दिए । अन्तिम ओभरमा जितका लागि २० रन चाहिएको अवस्थामा ह्युजले म्याक्सवेलको बलमा ६,४,६ रन जोड्दै जित नजिक पुर्याएका थिए भने चौथो बलमा उनी क्याच आउट हुन पुगे । पाँचौँ बल लेगबाइज हुँदै चौका भएको थियो ।

यस्तै, जोस फिलिप्सले २२, कार्लोस ब्राथवाइटले २१, ज्यासन होल्डरले १८, दानिएल क्रिस्टिएनले १४ रनको पारी खेले ।

यसअघि, क्वुइन्सल्यान्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो ।

स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले नटआउट ७१ तथा निकोलास पूरनले ६५, बेन डन्कले २४ र हिल्टन कार्टराइटले १४ रन बनाएका थिए ।

जितसँगै सिक्सर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ खेले खेलेको सिक्सर्सले १२ अंक जोडेको छ भने थन्डर्स र होबार्ट हुरिकेन्स ११ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने स्टार्स चौथो, एडिलेड स्ट्राइकर्स पाँचौँ र रेनेगेड्स छैटौँ स्थानमा रहेका छन् । यस्तै, एक खेल कम खेलेका पर्थ स्कोर्चर्स सातौँ र ब्रिबेन हिट पुछारमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...