क्यानबेरा । दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी-२० अन्तर्गत सिड्नी थन्डर्स विजयी भएको छ । शनिबार भएको खेलमा मेलबर्न रेनेगेड्सलाई १ सय २९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
२ सय १० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्सले १२।२ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो । मेलबर्न रेनेगेड्सका आरोन फिन्च र रिले रोसोउले मात्र दोहोरो अंकमा रन जोडे । फिन्चले २० तथा रिलेले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन ।
थन्डर्सका तानभीर संघले ४, एडम मिल्ने र क्रिस ग्रिनले समान २–२ विकेट लिए ।
यसअघि, क्यानबेरास्थित मनुका ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिड्नी थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो । थन्डर्सका लागि ओलिभर डेविसले ४८, एलेक्स हेल्सले ३५, उस्मान खवाजाले ३४, लक्की फर्गुसनले ३१ तथा दानिएल साम्सले २-२ रनको योगदान दिए ।
तीन खेलबाट दुईमा जित र एक हारसहित ७ अंक जोडेको थन्डर्स पाँचौँ स्थानमा रहेको छ भने पराजित रेनेगेड्स छैटौँ स्थानमा रहेको छ ।