आइसोलेसन केन्द्र रित्तो, संक्रमित सबै घरमा

109

भादगाउँ । भक्तपुरमा सोमबार १ सय २८ कोरोना संक्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार १ सय १८ नयाँ संक्रमित थपिएका थिए । दिनको १ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए पनि कोरोना संक्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन् ।

कोरोना संक्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै संक्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन् । भक्तपुरका विभिन्न आइसोलेसन केन्द्रमा ८ सय ७१ शय्या छन् तर मंगलबार दिउँसोसम्म ती केन्द्रमा जम्मा ५९ जना उपचाररत छन् ।

भक्तपुर अस्पतालमा १५, भक्तपुर क्यान्सर अस्पतालमा छ, सैनिक आवासीय महाविद्यालयमा १ सय ५०, डा इवामुरा अस्पतालमा चार, सिद्धि स्मृति अस्पतालमा एक, जनस्वास्थ्य च्याम्हसिंहमा दुई, ब्रह्मायणी आइसोलेसन केन्द्रमा ७५, केएमसी अस्पताल दुवाकोटमा १ सय ५०, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १ सय ३०, खानेपानी तालीम केन्द्र तेलकोटमा २३, विद्युत् प्राधिकरण तालीम केन्द्र खरिपाटीमा २ सय शय्याको आइसोलेसन केन्द्र छ ।

त्यसैगरी, समिट अस्पतालमा १०, बिपी आँखा अस्पतालमा एक, आरोग्य अस्पतालमा चार, नागरिक सामुदायिक अस्पतालमा तीन, मध्यपुर अस्पतालमा १३, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा नौ, कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा ५० र वीर दल गण सूर्यविनायकमा ७५ शय्याको आइसोलेसन केन्द्र रहेको छ ।

तीमध्ये भक्तपुर अस्पतालमा पाँच पुरुष र एक महिला गरी छ, सैनिक महाविद्यालयमा १२ पुरुष र एक महिला गरी १३, ब्रह्मायणीमा पाँच पुरुष र तीन महिला गरी आठ, केएमसी अस्पतालमा तीन पुरुष र तीन महिला गरी छ, सैनिक अन्तर्राष्ट्रिय शिक्षालयमा एक पुरुष तथा विद्युत् प्राधिकरण तालीम केन्द्रमा एक पुरुष संक्रमित उपचाररत छन् ।

त्यसैगरी नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा तीन पुरुष र चार महिला गरी सात, मध्यपुर अस्पतालमा चार पुरुष र एक महिला गरी पाँच तथा कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा सात पुरुष र पाँच महिला गरी १२ संक्रमित छन् । आइसोलेसन केन्द्रका बाँकी शय्या खाली छन् ।

सरकारले कोरोना संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश संक्रमितको पहिलो रोजाइ होम आइसोलेसन हुने गरेको छ । सुरुमा सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेकाले पनि संक्रमित होम आइसोलेसनमा बस्न थालेको सरोकारवाला बताउँछन् । दसैँ तिहारजस्ता ठूला चाडपर्वका कारण पनि संक्रमितले होम आइसोलेसन राजेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए ।

“संक्रमितले किन अस्पताल गएर उपचार नलिएको त्यो कुरो त हामीलाई भन्दा संक्रमितलाई नै थाहा होला । सायद शुल्क लाग्ने र शुल्क पनि अलि बढी नै खर्च हुने भएकाले पनि घरमै सुरक्षितरुपमै आवश्यक औषधि लिएर बसेका होला”, उनले भने । होम आइसोलेसनमा बसे पनि संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित जानकारी लिइरहेको मिजारले बताए । उनले स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फत संक्रमितको जानकारी लिइरहेको जानकारी दिए । उनले भने, “घरमै बसेका संक्रमितको निगरानी स्वास्थ्य उपचार स्थिति कस्तो छ भन्नेबारे स्थानीय तहका स्थानीय स्वास्थ्यकर्मीमार्फत ‘फलोअप’ गरेर आवश्यक उपचार दिइरहनुका साथै थप उपचार गर्नुपरे कुन अस्पताल लैजाने, के गर्ने सबै उहाँहरुले जिम्मा लिएर गरिरहेको अवस्था छ ।”

यसैगरी, भक्तपुरमा आइसियू र भेन्टिलेटरसमेत खाली रहेका छन् । जिल्लामा १९ वटा आइसियू शय्या छन् तीमध्ये छ वटामात्र भरिएका छन्, बाँकी १३ वटा खाली छन् । जिल्लाको कोभिड अस्पताल भक्तपुर अस्पतालमा चार वटा आइसियू शय्या भए पनि यहाँ तीन पुरुष र दुई महिला गरी पाँच जनाको उपचार भइरहेको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको आठ वटा आइसियू शय्यामध्ये एक पुरुषको मात्र उपचार भइरहेको छ । बाँकी आइसियू शय्या खाली रहेको छ । केएमसी अस्पतालमा सात आइसियू शय्या कोभिडका बिरामीलाई छुट्याए पनि यहाँको सबै शय्या खाली रहेको मिजारले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका विभिन्न अस्पतालका भेन्टिलेटरमध्ये १२ वटा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ तर तीमध्ये भक्तपुर अस्पतालको तीन वटामा दुई वटामात्र उपयोग भएको छ । यहाँ एक महिला र एक पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै केएमसी दुवाकोटको तीन र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको छ वटा भेन्टिलेटर खाली रहेको छ । रासस

Share This:
सम्बन्धित खबर
Loading...