कर्णालीमा संक्रमितको संख्या पाँच हजार नाघ्यो

139

कर्णाली । कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या कर्णालीमा पाँच हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ७०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई, दैलेख अस्पतालमा २३ र चौरजहारी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कोरोना संक्रमण हुनेमा सुर्खेतका ६३, दैलेखका २३, सल्यान र रुकुमपश्चिमका सातसात, जुम्ला तथा जाजरकोट र कालीकोटका एकएक जना रहेको बताइएको छ । “आइतबार १ सय ३ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितहरुको कुल सङ्ख्या पाँच हजार १ सय ३८ पुगेको छ”, उनले भने, “पछिल्लो २४ घण्टामा १३४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।”

उनका अनुसार आइतबार १ सय ३४ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ८ सय ६२ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेसनमा एक हजार १ सय ३२ संक्रमित रहेको उनले बताए । कर्णालीमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...