भक्तपुरमा १०० शय्याको आइसोलेसन वार्ड स्थापना

467

काठमाडौं । कोभिड–१९ बिरामीको उपचारका लागि नेपाल सरकारले नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा १ सय शय्याको आइसोलेसन वार्ड तयार पारेको छ ।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँ मात्रै उपलब्ध गराएको जनाए । कलेको ठूलो कार्यक्रम हल त्यसका लागि उपलब्ध गराएको जानकारी दिए । वार्डका लागि बाँकी सबै काम नेपाल सरकारले नै गरेको उनले स्पष्ट पारे ।

बेड र त्यसका लागि आवश्यक सम्पूर्ण सामाग्री (ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, मन्जन)लगायतका सम्पूर्ण सामानको १ सय सेट सरकारले नै व्यवस्था गरिदिएको उनले जनाए । साथै बेड राख्ने सम्पूर्ण काम पनि सरकारले नै गरेको उनले जनाए । शनिबार बिहानसम्म त्यहाँ बिरामी भने पुगेका छैना् । तर बिरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ ।

यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँ बेड विस्तार गरिएको थियो । तर त्यतिबेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँदै गएकाले बिरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशाशनसँगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सबै स्टोरमा राखेको थियो । अहिले त्यही बेडको विस्तार गरिएको हो ।

भक्तपुरमा पनि कोरोनाको संक्रमण बढ्दो छ । जिल्लामा भक्तपुर, मध्यपुर, चाँगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु रहेका छन् । यी चारमध्ये जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित क्रमशः मध्यपुर थिमि, सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकाहरुमा छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार हालसम्म पिसिआर पोजेटिभ हुनेहरुको संख्या (वैशाख १७ गतेसम्म) मध्यपुर थिमिमा ५५, सूर्यविनायकमा ३८, भक्तपुरमा २२ र चाँंगुनारायणमा ७ जना संक्रमितहरु छन् । साथै पाँच जना सम्पर्कविहीन छन् ।

Share This:
सम्बन्धित खबर
Loading...