काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद् र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको प्रतिक्रिया दिएका छन् ।
पार्टीको कुनै कमिटीले आधिकारिक निर्णय नगरी कारबाहीका लागि गरिएको सिफारिसलाई सभामुखले स्वीकृत गर्नु गलत रहेको उनको भनाइ छ ।
बिहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसद्हरु सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव, मुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना सार्वजनिक गरेको थियो ।
नेता महतोले सांसद् पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने समेत बताएका छन् । “यो फर्जी कसले गर्यो ? पार्टीको त बैठक नै बसेको छैन । दुनियाँलाई थाहा छ नी,” महतोले भने ।
प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।
महतोले लुम्बिनीका सभामुखले गलत काम गरेको बताए । “फर्जी काम भयो, सभामुख कस्तो मान्छे हो । कन्फर्म त गर्नुपर्छ नी,” महतोले भने ।
कम्युनिस्टहरुले आफ्नो पार्टी गोलमाल बनाएपछि जसपाभित्र पनि त्यही गर्न लागेको उनको भनाइ छ ।