प्रधानमन्त्रीले कहिले बसेर, कहिले उठेर उद्घाटनको तमासा गरे : गगन थापा

प्रतिनिधिसभा बैठकमा सम्बाेधन

457

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजना शिलान्यास गरेर तमासा गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केपी ओली प्रधानमन्त्री भएको ५७ दिनमा मेलम्ची खानेपानी आयोजनाको टनेलको सुरुङ छिचोलिएर उपराष्ट्रपतिले उद्घाटन गरेको स्मरण गर्दै त्यतिबेला प्रधानमन्त्री ओलीले २०७५ सालको असोजसम्म मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने दाबी गरेको उल्लेख गरे ।

उनले भने,“प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ वर्ष लाग्यो । किन ? प्रधानमन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन । साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को भाँचिएन । अहिले यत्रो फूर्ति ?”

 

थापाले काठमाडौंबासीसँग आयोजना ढिला भएकोमा माफी माग्नुपर्ने बेलामा प्रधानमन्त्रीले उद्घाटनको तमासा गरेको बताए । उनले भने,“काठमाडौंबासीको बीचमा उभिएर माफी माग्नुपर्नेमा कहिले धारा खोलेर, कहिले बाल्टी थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ, तमासा गरेको छ, चमत्कार गरेँ भनेको छ ।”

राष्ट्रिय गौरवका आयोजना थला परेर बसेको तर प्रधानमन्त्री गफ चुटेर बसेको आरोप लगाए । “राष्ट्रिय गौरवका आयोजना थला परेर बसेका छन्,” थापाले भने, “गर्नुपर्ने काम गरेको छैन, मिथ्यांक ल्याएको छ । गफ चुटेको छ, बसेको छ । यो भयो भनेको छ ।”

मिथ्यांक मात्रै पेस गरिरहेको भन्दै तथ्यांकमा टेकेर बहस गनए संसदमा आउन थापाले प्रधानमन्त्री ओलीलाई निम्तो समेत दिए । “प्रधानमन्त्रीज्यू तथ्य र तथ्याङ्कमा टेकेर बहस गर्न म तपाईँलाई संसदमा निम्तो दिन चाहन्छु । चुनौती दिन चाहन्छु ।”

Share This:
सम्बन्धित खबर
Loading...