राष्ट्रिय संकल्पलाई पूरा गर्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गरौँ : मन्त्री गुरुङ

361

काभ्रे । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन सबैलाई आह्वान गरेका छन् ।

मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने आधार तयार भएको उल्लेख गर्दै ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा पनि जोड दिए ।

आदिवासी जनजाति चलचित्र महासंघले बुधबार काभ्रेको धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा आयोजना गरेको ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले आदिवासी चलचित्रकर्मीहरुलाई पनि राष्ट्रको समृद्धिमा योगदान पुर्याउने गरी चलचित्र निर्माणमा ध्यान दिन आग्रह गरे । ‘पछिल्लो राजनीतिक परिस्थितिबाट निराश नभई मुलुकको समृद्धिमा योगदान पुर्याउने गरी चलचित्र क्षेत्रको विकासमा लाग्न म चलचित्रकर्मीहरुलाई आग्रह गर्दछु’ मन्त्री गुरुङले भने, ‘मुलुकको समृद्धिका लागि सरकारले आधार तयार पारेको छ ।’

मन्त्री गुरुङले समाज रुपान्तरणका लागि सन्देश दिने खालका चलचित्र निर्माणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औँल्याए । सबै भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धनमा आदिवासी चलचित्रकर्मीहरुले खेलेको भूमिकाको चर्चा गर्दै उनले आदिवासी चलचित्र क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले समाजमा जाति, भाषा, धर्म र संस्कृतिबीच द्धैष फैल्याउने खालका गतिविधि हुन नदिन सचेत हुनुपर्ने समेत स्पष्ट पारे। मन्त्री गुरुङले सबै जाति, भाषा, धर्म र संस्कृतिको विकासमा योगदान पुग्ने गरी सरकारी सञ्चार माध्यमलाई परिचालन गर्ने बताए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, फोनिजका अध्यक्ष डण्ड गुरुङलगायतले कार्यशाला गोष्ठीको पूर्ण सफलताको कामना गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...