नेपाल–खनालको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु, ओलीबाट कारबाहीको चेतावनी

175

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले आजबाट राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्दैछ । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार पत्रकार सम्मेलनमा आज र भोलि ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला हुने जानकारी दिएका हुन् ।

भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सचिव भट्टराईले जानकारी दिए । सचिव भट्टराईले नेकपाको एकतालाई सर्वोच्च अदालतले गत फागुन २३ मा खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको एमालेलाई विभाजनतर्फ लाने भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध आफूहरू दृढतापूर्वक उभिएको बताएका थिए । आफूखुसी बैठकका नाममा गुटका गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासविरुद्ध भेलाको आयोजना गरीएको सचिव भट्टराईको तर्क छ ।

एमालेको नेपाल–खनाल समूहले जनताको बहुदलीय जनवादको मूल्य र मान्यता रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा विकास एकताबद्ध हुनुपर्ने भएकाले भेला आयोजना गरिएको जनाएको छ । त्यसका लागि पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी र अबको बाटो कस्तो हुने भनेर अवधारणापत्र प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी छ ।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने सचिव भट्टराईले बताए ।

नेकपाको ओली समूहले भने भेला रोक्न भन्दै नरोके भेला आयोजना गर्ने र सहभागी हुने सबैलाई कार्वाही गर्ने चेतावनी दिइसकेको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कुनै पनि गुटको भेलामा सहभागी नहुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...