ट्राफिक प्रहरीलाई ठूलाे सफलता : दुई हप्तामै चोरी भएका २७ मोटरसाइकल बरामद

258

काठमाडौ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एक पछि अर्को सफलता हात पारेको छ । सादा पोसाकमा खटिने ट्राफिक प्रहरी टोलीलाई विशेष सक्रियताका साथ परिचालन गरेसँगै चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरी बरामद गर्न सफल भएको हाे ।

उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल  बरामद गरी महाशाखाले बिहीबार एक कार्यक्रमकाबीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । महाशाखाले सुराकी तथा विशेष सूचना संकलनमार्फत टोली परिचालन गरी ती मोटरसाइकल बरामद गरेको हो ।

 

महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, बुढानिलकण्ठ, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका विभिन्न स्थानहरुबाट यी मोटरसाइकल  बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

उनले भने, “हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्दछन्, चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाउने गरेका छौँ । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौँ ।”

महाशाखाले ट्राफिक व्यवस्थापनसँगै मोटरसाइकल चोरी नियन्त्रणतर्फ पनि सक्रिय भई टोली परिचालन गरिरहेको छ । चोरीमा संलग्न मानिस र मोटरसाइकल नियन्त्रणको संख्यामा उल्लेख्य वृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी ल्याउन महाशाखा सफल भएको छ ।

आज मात्रै करिब ८० लाख बढी मूल्य बराबरको विभिन्न कम्पनीका मोटरसाइकलहरु सम्बन्धित धनिलाई बुझाएको छ भने यस वर्षमा करिब १६ करोड बढी मूल्य पर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

लामो समयसम्म पार्किङ्ग, एकान्त र अध्याँरो स्थानमा पार्किङ्ग गर्दा र अतिरिक्त लक तथा साइरनको प्रयोग नगर्दा चोरी हुने सम्भावना अत्याधिक हुने हुनाले सम्बन्धित मोटरसाइकल धनी एव चालक स्वयम् होसियार रहनु पर्ने महाशाखाको कथन छ । सम्बन्धित सवारी धनी एवम् चालक नै चोरी नियन्त्रणको एक प्रमुख कारक भएको हुनाले पार्किङ्ग गर्दा विशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने महाशाखाको सुझाव छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका २ सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुका साथै चोरीमा संलग्न ४१ जना व्यक्तिलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा लगइन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...