सरकार र विप्लव समूहबीचको वार्ता बुधबार हुने

212

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीचको वार्ता बुधबार हुने भएको छ ।

सरकार र प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहबीचको वार्ता आज राति नै गर्ने तयारी भएको समाचार आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने वार्ता आज राति नहुने बताएका हुन् । आज राति वार्ता हुनेबारे अहिलेसम्म केहि त्यस्तो टुंगो नभएको उनले बताए ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेत रहेको दुई सदस्यीय वार्ता टोली सरकारले आजै गठन गरेको हो । सरकारले वार्ता टोली गठन गरेलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा नेता उदय चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली घोषणा गरेको हो ।

हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी सरकारले २०७५ फागुन फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो ।

सरकारका प्रवक्ता पार्वत गुरुङले हिजो मात्र विप्लव समूलाई वार्ताका लागि औपचारिक आह्वान पनि गरेको थियो । सरकार प्रतिबन्धयता विप्लवका झण्डै दुई हजारका कार्यकर्तालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो वार्ता टोली गठनबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विप्लव समूहमाथि लागेको प्रतिबन्ध, मुद्दा र हतियार व्यवस्थापन आदिबारे वार्ताबाटै टुंगो लगाउने समेत बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...