प्रदेश एकका सांसदसँग प्रधानमन्त्रीको छलफल

147

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो प्रदेश नम्बर एकका सांसदहरुसँग छलफल गरेका छन् ।

पुस ५ गते विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ मा पुनः स्थापन गरेपछि छलफल र परामर्शमा व्यस्त प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा आफू निकट प्रदेश एकका सांसदहरुसँग भेटघाट गरेका हुन् ।

“प्रधानमन्त्रीसँग हाम्रो छलफल भइरहन्छ । आज दिउँसो पनि प्रदेश नम्बर एकका केही साथीहरुसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छ,” छलफलमा सहभागी एक सांसदले भने ।

प्रधानमन्त्रीसँग छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरण, पार्टी एकता र राजनीतिक स्थायित्वको विषयमा छलफल भएको बालुवाटर पुगेका सांसदको भनाइ छ ।

सांसदहरुसँग करिब एक घन्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा दृढ रहेको बताएका छन् । ओलीले नेकपा प्रचण्ड–नेपाल समूहको रणनीतिका आधारमा कदम चाल्नेसमेत बताएका छन् ।

प्रतिनिधिसभालाई सर्वोच्चले पुनः स्थापना गरेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले सबै प्रदेशका नेता तथा सांसदसँग छलफल सुरु गरेका हुन् । सोही क्रममा शुक्रबार प्रदेश नम्बर एकका सांसदसँग छलफल भएको र शनिबार बागमती प्रदेशका सांसदसँग छलफल गर्ने तयारी रहेको बालुवाटार श्रोतले बताएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एक समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...