‘टिचर्स डे’भन्दा गुरुपूर्णिमाको गरिमा उच्च र बृहत् छ : उपप्राध्यापक डा.निरौला

8
  • पार्वती भण्डारी

काठमाडौँ, १३ साउन । गुरुपूर्णिमा केवल धार्मिक पर्व मात्र होइन, गुरुको योगदानप्रति सम्मान प्रकट गर्ने विशेष अवसर पनि हो । जीवनका पहिलो गुरु माता–पिता हुन् । शैक्षिक संस्थामा शिक्षा प्रदान गर्ने शिक्षकहरू दोस्रो गुरु हुन् ।

जीवनको प्रत्येक पाइला सही दिशामा अघि बढ्न प्रेरणा दिने पनि गुरु हुन् । जीवनका कठिन मोडमा सही निर्णय लिन प्रेरणा दिने, भविष्यको स्पष्ट बाटो देखाउने र व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति नै गुरु हुन् ।

सफलता हासिल गर्न आवश्यक आत्मविश्वास, सकारात्मक सोच र मेहनत गर्ने संस्कार पनि गुरुले नै सिकाउँछन् । त्यसैले गुरु केवल शिक्षक होइनन्, जीवनका मार्गदर्शक र प्रेरणाका स्रोत हुन् । गुरुको ज्ञान, प्रेरणा र मार्गदर्शनले नै व्यक्तिको जीवन उज्यालो बन्ने भएकाले गुरुपूर्णिमाको महत्त्व आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

यसै सन्दर्भमा नेपाल न्युज बैङ्कले उपप्राध्यापक डा.नारायणप्रसाद निरौलासँग गरेको संवादमा गुरुपूर्णिमा केवल शिक्षकलाई सम्मान गर्ने दिन मात्र नभइ जीवनको अन्धकार हटाइ सही मार्गतर्फ डोर्‍याउने सम्पूर्ण गुरुहरूको स्मरण र सम्मान गर्ने पवित्र अवसर भएको बताउनुभयो ।

उहाँका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ त्यसलाई हटाउने व्यक्ति हो । त्यसैले गुरु भन्नाले मानिसलाई ज्ञान, विवेक र सही मार्गदर्शन प्रदान गरी अज्ञानताको अन्धकारबाट उज्यालोतर्फ लैजाने व्यक्तिलाई बुझिन्छ ।

उहाँले गुरु केवल विद्यालयमा पढाउने शिक्षक मात्र होइनन्, जीवनका हरेक क्षेत्रमा मार्गदर्शन गर्ने व्यक्तित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी विद्यालयमा पढाउनेलाई मात्र गुरु मानिरहेका छौँ । हरेक बाटोमा अन्धकारलाई हटाएर उज्यालो मार्ग प्रदर्शन गर्ने, दर्शाउने हरेक व्यक्तिलाई गुरु मान्नुपर्छ । त्यस कारण गुरुको स्थान ‘टिचर्स डे’ मा भन्दापनि गुरु पूर्णिमाको अझ ठुलो एवम बृहत् महत्त्व छ ।”

पछिल्लो समय ‘टिचर्स डे’ मनाउने चलन बढ्दै गएको भए पनि गुरुपूर्णिमाको सांस्कृतिक, आध्यात्मिक र दार्शनिक महत्त्व अझै व्यापक रहेको उहाँले बताउनुभयो ।

ऋषि–महर्षिको परम्परामा गुरुलाई देवतासरह सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै डा.निरौलाले ‘आचार्य देवो भव’ भन्ने शास्त्रीय मान्यता आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ऋषि महर्षि परम्परामा के छ भने आफ्ना गुरुलाई देवता, गुरु देवता, देवताको रूपमा ‘आचार्य देवो भव’ भन्न बताएको छ । आचार्य भनेको गुरु हुनुहुन्छ । त्यो भनेको देव समान वा देवता समान गुरुलाई सम्मान गर्नु पर्दछ भन्ने हाम्रो शास्त्रीय व्यवस्थामा उल्लेख गरिएको छ ।”

उहाँले गुरु पूर्णिमाको अवसरमा गुरुको पूजा, सम्मान, सान्निध्यमा रही उपदेश ग्रहण गर्ने, विशेष ज्ञान प्राप्त गर्ने तथा आत्मप्रेरणा हासिल गर्दै जीवनलाई सही दिशामा अघि बढाउने संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार यही भावनाले गुरुपूर्णिमालाई अर्थपूर्ण बनाउनेछ ।

उहाँले भन्नुभयो, “विशेषतः गुरुको पूजा गर्ने, गुरुको सान्निध्यमा रहेर गुरुको उपदेश लिने, गुरुलाई आदर सम्मान विशेषत सधैँ गरिन्छ, त्योभन्दा विशेष गर्ने र विशेष ज्ञान लिने, विशेष मार्ग लिने, त्यसबाट अगाडि बढ्नका लागि आफूले उत्प्रेरणा प्राप्त गर्ने रूपमा उपयोग गर्न सकिन्छ ।”

उहाँका अनुसार गुरु पूर्णिमा ज्ञान, संस्कार र जीवनदर्शनसँग जोडिएको पर्व भएकाले यसको गरिमा शिक्षक दिवसभन्दा फराकिलो छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...