चितवन, १३ साउन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अन्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुरु गरेको हो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अन्डाको समर्थन मूल्य बढाएको छ । फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट ३० रूपैयाँ वृद्धि गरिएको छ । ठुलो अन्डा प्रतिक्रेट ५०० रूपैयाँबाट ५३० रूपैयाँ, मिडियम ४७० रूपैयाँबाट ५०० रूपैयाँ र सानो अन्डा प्रतिपेटी (सात क्रेट)को दुई हजार ९०० रूपैयाँबाट तीन हजार पुर्याइएको छ । एक्सेल अन्डा ५१५ रूपैयाँबाट ५४५ रूपैयाँ पुगेको छ ।
अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको, उत्पादनमा कमी आएको लगायतका कारण अन्डाको समर्थन मूल्य बढाइएको बताउनुभयो । बर्डफ्लुका कारण ठुलो अण्डा प्रतिक्रेट ४५० रूपैयाँमा झरेको थियो । प्रतिक्रेट ५६५ रूपैयाँबाट रोगको सङ्क्रमण देखिएसँगै मूल्य घटेको थियो । अन्डाको लागत मूल्य प्रतिगोटा १९.१२ रूपैयाँ पर्न आउँछ । यसरी हिसाब गर्दा किसानले प्रतिक्रेट ५७३.६० रूपैयाँ पाउँदा मात्रै लागत मूल्य पाउँछन् । बर्डफ्लुका कारण किसानले ठुलो नोक्सानी व्यहोरेको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार झन्डै १० लाख लेयर्स कुखुरा बर्डफ्लु र एचनाईनका कारण मरेका छन् । चैत महिनादेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको छ । यसलाई हेर्दा दैनिक १५ लाख हाराहारी अन्डा उत्पादन घटेकाले ठुलो नोक्सान भएको उहाँ बताउनुहुन्छ ।
यस्तै, कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ । बोइलर चल्लाको मूल्य प्रतिगोटा ७० रूपैयाँ पुगेको छ । रोगका कारण तीन ह्याच नष्ट गरेका उद्योगीले गोटाको १५ रूपैयाँमा समेत बिक्री गरेका थिए । ह्याचरीले सातामा दुई ह्याच चल्ला उत्पादन गर्दछन् । ह्याचरी उद्योग सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ६५ रूपैयाँ हो । यस्तै, लेयर्स चल्लाको लागत मूल्य प्रतिगोटा १२५ रूपैयाँ हो भने अहिले बजारमा १५० रूपैयाँमा बिक्री हुन थालेको छ । एक सातामा बोइलर चल्ला २८ देखि ३० लाख र लेयर्स चल्ला एक लाख उत्पादन हुने गर्दछ । बर्डफ्लुभन्दा पहिला ब्रोइलर चल्ला साताको ४० देखि ४५ लाखसम्म उत्पादन हुने गरेको थियो ।
रोग सङ्क्रमणका कारण दैनिक नौ लाख किलो बिक्री भइरहेको कुखुराको मासु घटेर दैनिक पाँच लाख किलोमा झरेको थियो । यो बढेर अहिले दैनिक सात लाख किलो पुगेको छ । किसानले बोइलरको जिउँदो कुखुरा प्रतिकिलो २६० रूपैयाँमा बिक्री गर्दै आएकामा घटेर १५० रूपैयाँमा झरेको थियो । अहिले बढेर २१५ रूपैयाँ पुगेको लामिछानेले जानकारी दिनुभयो । रोगका कारण भएको क्षतिको विवरण निकाल्ने काम भइरहेको भन्दै उहाँले अर्बौँ गुमाउनुपरेको बताउनुभयो ।
पशु सेवा विभागका अनुसार यही साउन १ गतेयता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लोपटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरी जलमा सङ्क्रमण देखिएको थियो । विभागको तथ्याङ्कअनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी विकास मन्त्रालयबाट वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो । मोरङको उर्लाबारी–८ र सुन्दरहरैचा–४ मा पहिलोपटक वर्डफ्लु देखिएको थियो ।
विभागका वरिष्ठ पशु चिकित्सक डा.मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । ११ लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो । –रासस