इलाम, १ साउन । राष्ट्रिय समाचार समिति (रासस)का इलाम समाचारदाता राम कुमार लिम्बू ‘माङसेबुङ पत्रकारिता पुरस्कार–२०८३’ बाट पुरस्कृत हुनुभएको छ । जिल्लाको माङसेबुङ गाउँपालिकाले लिम्बूलाई नगद ५१ हजार रूपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेको हो ।
बिहीबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत नवदीप राईलगायतले लिम्बूलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।
गाउँपालिकाले माङसेबुङको विकास र समृद्धिको विषयमा राससमार्फत समाचार सम्प्रेषण गरी पुर्याएको योगदानको कदर गर्दै लिम्बूलाई नगद पुरस्कारसहित सम्मान गरिएको माङसेबुङ गाउँपालिकाले जनाएको छ । माङसेबुङ गाउँपालिकाको १८औँ गाउँसभा समापनका अवसरमा आयोजित कार्यक्रमा लिम्बू पुरस्कृत हुनुभएको हो ।
गाउँपालिकाको विकास र समृद्धिसँग सम्बन्धि समाचार आलेख तथा अनुसन्धानमूलक सामग्रीको उत्पादन तथा प्रकाशन÷प्रसारण गर्ने एक जना क्रियाशील पत्रकारलाई हरेक वर्ष सो पुरस्कृत गर्न माङसेबुङले यस वर्षदेखि सो पुरस्कार स्थापना गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।
‘माङसेबुङ गाउँपालिका पत्रकारिता पुरस्कार कार्यविधि, २०८३’ अनुसार पुरस्कार वितरण सुरु गरिएको उहाँले बताउनुभयो ।
पुरस्कार प्राप्त गरेपछि लिम्बूले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बन्न र पेसामै रहिरहन ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो । लिम्बू २०८० सालदेखि राससमा आबद्ध हुनुहुन्छ ।