- सन्तोषी रावल
काठमाडौँ, १ साउन । पशुपतिनाथ मन्दिर परिसरको खुला क्षेत्रमा गीत–भजन गाएर जीविकोपार्जन गरिरहेका दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूले दैनिक जीवनयापनदेखि बसोबास, स्वास्थ्य उपचार र सामाजिक व्यवहारसम्म अनेक समस्या भोग्नुपरेको बताएका छन् ।
उनीहरूले वृद्धभत्ता तथा सर्वसाधारणले दिने सहयोगकै भरमा जीवन चलिरहेको भए पनि त्यसले आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेको गुनासो गरे ।
गौरीघाट क्षेत्रमा बस्दै आउनुभएकी ‘खगिसरा’ नाम बताउने एक महिलाले पहिले साथीभाइसँगै समूहमा सडक पेटी वा खुला क्षेत्रमा बसेर भजन गाउँदै बस्ने गरेको भए पनि हिजोआज छुट्टाछुट्टै बस्न थालेको बताउनुभयो । उहाँले भाडा समयमै तिर्न नसक्दा घरधनीबाट गाली खानुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।
“२१ सय भत्ताले मात्रै कहाँ पुग्छ र ? घरभाडा दुई–चार दिन ढिला भयो भने घरधनीले कोठाको सामान मिल्काइदिने वा गाली गर्छन्,” उहाँले दखेसो पोख्नुभयो ।
उहाँले आफूले पोखरा, काठमाडौँ, भैरहवा र बुटवलमा समेत आँखा परीक्षण गराएको तर चिकित्सकले आँखाको नसासमेत सुकेको बताएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आठ वर्षको उमेरदेखि दृष्टि कमजोर हुन थालेपछि पाँच कक्षासम्म मात्रै अध्ययन गर्न सकिन् । त्यसयता दृष्टि क्रमश घट्दै गएको उहाँले सुनाउनुभयो । “म उज्यालो मात्रै छुट्याउन सक्छु । बाटोमा हिँड्दा अनुमानकै भरमा हिँड्छु । कतिबेला ठोक्किने वा खाल्डोमा पर्ने थाहा हुँदैन । जसले भोगेको छ, उसलाई मात्रै यसको पीडा थाहा हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले एक्लै बस्न र दैनिक काम गर्नुपर्ने अवस्था रहेको बताउँदै अरूको व्यवहारले शारीरिकभन्दा मानसिक पीडा बढी हुने उल्लेख गर्नुभयो ।
यस्तै, पशुपति परिसरमै भेटिएकी कविता ओलीले पनि आठ वर्षअघि आँखामा चोट लागेपछि एउटा आँखाले पूर्ण रूपमा देख्न छाडेको र अर्को आँखाले पनि धमिलो मात्रै देख्ने बताउनुभयो ।
दाङको तुलसीपुर घर भएकी उहाँ अहिले श्रीमान् र नातिनीसँग बस्दै आउनुभएको छ । उहाँका श्रीमान् पनि दृष्टिविहीन रहेको उहाँले जानकारी दिनुभयो । “हामी दुवैले राम्रोसँग देख्न सक्दैनौँ । जनताले दिएको सहयोग भए खान पाइन्छ, नत्र गाह्रो हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार उनीहरू दृष्टिविहीनका लागि सञ्चालन हुने विद्यालयमा अध्ययनका क्रममा भेटिएका थिए । अहिले पनि माइती पक्षको सहयोगले दैनिक जीवन सहज बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
पशुपति क्षेत्रमा मागेर जीविकोपार्जन गर्नेहरूलाई बेला–बेला प्रहरीले नियन्त्रणमा लिएर त्यहाँ माग्न नपाइने चेतावनी दिने गरेको उनीहरूको गुनासो छ । “यहाँ माग्न पाइँदैन भनेर चौकीमा लैजान्छन् । दिनभरि त्यहीँ चाउचाउ र पानी खाएर बस्नुपर्छ,” ओलीले भन्नुभयो ।
आश्रममा बस्न सुझाव पाए पनि परिवारसँग छुट्टिएर आश्रममा बस्न आफूहरू तयार नभएको उनीहरूको भनाइ छ ।
दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूले नियमित आयआर्जनको अवसर, सहज उपचार, सम्मानजनक बसोबास र सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनमा राज्यको ध्यान आवश्यक रहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अभियान दृष्टिविहीन वा अपाङ्गता भएका व्यक्तिलाई लक्षित नभइ सडकमा आश्रित तथा सहयोगको आवश्यकता भएका व्यक्तिको उद्धार र संरक्षणका लागि सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।
काठमाडौँ महानगरपालिकाले सडकमा आश्रित तथा सहयोगापेक्षी मानवलाई उद्धार गरी सुरक्षित आश्रयमा व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ ।
महानगरपालिकाले काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँबिच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्दै सडकआश्रित मानवमुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सडकमा बसोबास गर्ने, सहयोगको आवश्यकता भएका तथा गीत–सङ्गीत वा अन्य माध्यमबाट जीविकोपार्जन गरिरहेका सहयोगापेक्षी व्यक्तिहरूलाई उद्धार गरी मानव सेवा आश्रमका विभिन्न आश्रयस्थलमा राखिनेछ । उनीहरूको खानपान, आवास, औषधोपचार तथा आवश्यक हेरचाहको व्यवस्था सम्बन्धित निकायहरूको सहकार्यमा गरिने छ ।”
केहि समय अघि दृष्टिविहीनहरुको समूह सडक आन्दोलनमा पनि आएका थिए । –नेपाल न्युज बैङ्क