- सङ्गीता राई
धरान, १ साउन । धरान उपमहानगरपालिका–१६ का सुमना श्रेष्ठ साउन महिना सुरु भएसँगै हरियो चुरा र हरियो पोसाकमा सजिनुहुन्छ । उहाँले भन्नुभयो, “अरूबेला जस्तोसुकै कपडा लगाए पनि साउन लागेपछि हरियो चुरा, हरियो कुर्ता लगाउने र हातमा मेहेन्दी लगाउने गर्छु । महिला साथीहरू हरियो शृङ्गारमा सजिएको देख्दा धर्म र संस्कृतिप्रतिको सम्मान अझ बढेको महसुस हुन्छ । साउने सोमबार व्रत बसेर हरियो चुरा लगाउँदा मनमा खुसी, आनन्द र शान्तिको अनुभूति हुन्छ ।”
यो महिना महिलाहरूका लागि विशेष महत्त्व बोकेको महिना हो । हरियो चुरा, मेहेन्दी तथा हरियो र पहेँलो पहिरन सजावट वा फेसनका लागि मात्र नभइ परम्परा, संस्कृति र धार्मिक आस्थासँग जोडिएको विषय हो । साउन सुरु भएपछि महिलामा छुट्टै उत्साह जाग्ने उहाँ बताउनुहुन्छ । साउन महिना सुरु भएसँगै देशका विभिन्न स्थानका सहरहरुमा हरियो चुरा, मेहेन्दी र सोमबारे व्रतको रौनक छाएको छ । परापूर्वकालदेखि चलिआएको यो परम्परा अहिले धार्मिक आस्थामा मात्र सीमित नरही आधुनिक फेसन, बजार अर्थतन्त्र र स्वास्थ्य सचेतनासँग पनि जोडिन थालेको छ ।
साउनको आगमनसँगै नेपाली हिन्दु समुदायमा विशेष उमङ्ग र उल्लास छाएको छ । महिलाहरू हरियो, पहेँलो र रातो रङका पहिरन, चुरा तथा मेहेन्दीमा सजिएर धार्मिक आस्था प्रकट गरिरहेका छन् । शिवालयहरूमा सोमबारे व्रत बस्ने, पूजा–आराधना गर्ने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने भक्तजनको चहलपहल पनि निकै बढेको छ । धरानका भानुचोक, पुतलीलाइन, देशीलाइन, पुरानो बजारलगायतका क्षेत्रमा हरियो चुरा, मेहेन्दी र साउने शृङ्गार सामग्री किन्ने महिलाको भीड बढेको छ । साउन लागेसँगै सोमबारे व्रत, शिवपूजा र हरियो शृङ्गारले बजारमा विशेष रौनक थपिएको व्यवसायीहरू बताउँछन् ।
हिन्दु परम्पराअनुसार साउन महिनामा विशेषगरी सोमबारका दिन व्रत बसी भगवान् शिवको पूजा–आराधना गर्ने चलन रहिआएको छ । विवाहित महिलाका लागि साउन धर्म, संस्कृति र सौभाग्यको प्रतीकका रूपमा मानिन्छ । यस अवधिमा महिलाहरू व्रत बस्ने, शिव मन्दिरमा पूजा गर्ने, शाकाहारी भोजन गर्ने तथा हरियो चुरा, हरियो पोसाक र अन्य हरिया शृङ्गार सामग्री प्रयोग गर्ने परम्परा छ ।
धरान उपमहानगरपालिका–८ का सरिता बस्नेत साउने व्रतले अनुशासन, संयम र श्रद्धाको भावना विकास गराउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “साउन लागेपछि हामी साथीहरूसँग हरियो चुरा र लुगा किन्छौँ । महिनाभर सोमबारे व्रत बस्छौँ र शिव मन्दिरमा पूजा–आराधना गर्छौँ । हरियो रङलाई आशा, समृद्धि र नयाँ जीवनको प्रतीकका रूपमा लिइने भएकाले हरेक वर्ष उत्साहका साथ साउने शृङ्गार गर्ने गर्छौँ । यसलाई सौभाग्य र प्रकृतिसँगको सामीप्यको प्रतीक पनि मानिन्छ ।”
साउनमा भगवान् शिवको आराधनाको विशेष समय हो । व्रत बस्ने, मन्दिर जाने, चुरा र मेहेन्दी लगाउने चलन पुरानै भए पनि समयसँगै यसको महत्त्व अझ बढ्दै गएको छ । अहिले धेरै महिलाले साउनलाई आत्मचिन्तन र आध्यात्मिक उन्नतिको समयका रूपमा पनि लिन थालेका छन् ।
इटहरी उपमहानगरपालिका–६ की सीता निरौला साउनलाई धार्मिक पर्वसँगै महिलाबीचको एकता र आत्मीयता बढाउने अवसरका रूपमा पनि लिनुहुन्छ । उहाँले भन्नुभयो, “साउनको हरेक सोमबार हामी समूहमा पूजा गर्छौँ, भजन गाउँछौँ र मन्दिर जान्छौँ । यसले साथीभाइबीचको सम्बन्ध अझ बलियो बनाउँछ । व्रत बस्दा आत्मिक शान्ति मिल्छ भने हरियो चुरा, मेहेन्दी र पहिरनले हाम्रो संस्कृतिलाई जीवन्त राख्न मद्दत गर्छ । साउन महिना हामी महिलाका लागि साँच्चिकै विशेष लाग्छ ।” धार्मिक आस्था, सांस्कृतिक परम्परा, सामाजिक सद्भाव र आधुनिक जीवनशैलीलाई एकसाथ जोड्ने पर्वका रूपमा साउन महिना स्थापित हुँदै गएको छ । समयसँगै साउने शृङ्गार फेसनका रूपमा पनि लोकप्रिय बन्दै गए पनि यसको मूल आधार धर्म, संस्कृति र परम्परामै रहेको महिलाहरूको भनाइ छ ।
साउन महिनाको आगमनसँगै सुनसरीका प्रमुख व्यापारिक क्षेत्र इटहरीको हटिया लाइन, सङ्गीत चोक, सुनसरीको झुम्का बजार तथा धरानका भानुचोक, सब्जीमण्डी, देशीलाइनलगायतका क्षेत्रमा रहेका चुरा तथा कस्मेटिक पसलमा उल्लेखनीय चहलपहल बढेको छ । हरियो चुरा, मेहेन्दी, पोते, टिकालगायतका साउने शृङ्गार सामग्री खरिद गर्ने महिला ग्राहकको भीड बढेसँगै बजार गतिविधि पनि रङ्गीन बनेको छ । व्यवसायीहरूका अनुसार साउन महिनामा चुरा, मेहेन्दी, टीका, बिन्दी, क्लिप, नेलपोलिस, सिन्दूरलगायतका शृङ्गार सामग्रीको बिक्री अन्य महिनाको तुलनामा उल्लेखनीय रूपमा बढ्ने गर्छ । विशेषगरी, विवाहित तथा किशोरी महिलामा हरियो चुरा र मेहेन्दीप्रति आकर्षण बढेकाले यतिबेला ती सामग्रीको माग उच्च रहेको धरानका व्यवसायी रमेश शाह बताउनुहुन्छ ।
धरानको सब्जीमण्डीमा चुरा पसल सञ्चालन गर्दै आउनुभएका विजय महर्जनका अनुसार साउन महिनामा हुने कारोबार अन्य महिनाको तुलनामा झण्डै दोब्बर नै हुने गरेको छ । उहाँले भन्नुभयो, “साउन सुरु भएपछि बिहानैदेखि ग्राहकको घुइँचो लाग्न थाल्छ । अन्य महिनामा फाट्टफुट्ट ग्राहक आउने भए पनि साउनभर बिहानदेखि बेलुकासम्म चुरा लगाउने महिलाको भीड भइरहन्छ । हामी जस्ता साना व्यवसायीका लागि यो महिना विशेष व्यस्तता र राम्रो आम्दानी गर्ने अवसर पनि हो ।”
व्यापारीका अनुसार अहिले बजारमा काँचका चुरा प्रतिदर्जन ४० रूपैयाँदेखि ८० रूपैयाँसम्म तथा मेटलका चुरा एक सय रूपैयाँदेखि १८० रूपैयाँसम्ममा बिक्री भइरहेको छ । साउन महिनामा मेहेन्दी लगाउने चलन पनि उत्तिकै बढ्दो छ धरानका ब्युटीपार्लर तथा सौन्दर्य सैलुनमा पनि सेवाग्राहीको चाप बढेको छ । धरान पुतलीलाइनमा ब्युटीपार्लर सञ्चालन गर्दै आउनुभएकी रीता राई साउन सुरु भएयता मेहेन्दी लगाउन आउने महिलाको सङ्ख्या दिन प्रतिदिन पार्लरमा बढ्दै गएको बताउनुहुन्छ ।
साउनको शृङ्गार सौन्दर्यसँग मात्र सीमित छैन । हरियो चुरा, मेहेन्दी र हरियो पहिरनले धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा नारीको सौभाग्यसँग जोडिएको सांस्कृतिक पहिचानलाई पनि झल्काउने गरेको छ । हरियाली मौसमसँगै साउने शृङ्गारले प्रकृति र संस्कृतिको सुन्दर सङ्गम प्रस्तुत गर्ने गरेको छ । साउन वर्षा ऋतुको मध्यसमय भएकाले असारमा रोपिएको धान खेतभरि हरियाली फैलिन थाल्छ । जताततै हरियाली छाउने भएकाले पनि यस महिनालाई हरियालीको प्रतीकका रूपमा लिने गरिन्छ । कृषकका लागि रोपाइँ सम्पन्न भएपछि केही फुर्सद मिल्ने र प्रकृतिसँग रमाउने समय पनि यही हो ।
हिन्दु परम्पराअनुसार साउन महिनामा विवाहित महिलाले श्रीमानको दीर्घायु, पारिवारिक सुख शान्ति र समृद्धिको कामना गर्दै सोमबारे व्रत बस्ने, हरियो चुरा तथा मेहेन्दी लगाउने र भगवान् शिवको पूजा–आराधना गर्ने चलन छ । यही कारण साउन लागेसँगै सुनसरीका विभिन्न शिव मन्दिरमा भक्तजनको चहलपहल उल्लेखनीय रूपमा बढेको देखिन्छ । हरियो, पहेँलो र रातो रङका पहिरन तथा चुरा साउने शृङ्गारका प्रमुख आकर्षण हुन् । हिन्दू मान्यताअनुसार हरियो रङ हरियाली, आशा र समृद्धिको, पहेँलो पवित्रताको तथा रातो रङ सौभाग्यको प्रतीक मानिन्छ । यी रङको संयोजनमा महिलाहरू व्रत तथा शिवपूजामा सहभागी हुने परम्परा रहिआएको छ ।
धार्मिक मान्यताअनुसार देवी पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर व्रत बसेर हरियो शृङ्गारसहित आराधना गरेको विश्वास गरिन्छ । यही विश्वासका आधारमा नेपाली हिन्दु महिलाले साउन महिनालाई सौभाग्य, वैवाहिक सुख र पारिवारिक समृद्धिको प्रतीकका रूपमा मनाउने गरेका छन् ।
साउन सुरु भएसँगै धरान–१४ स्थित प्रसिद्ध पिण्डेश्वर महादेव मन्दिरमा पनि धार्मिक तथा सांस्कृतिक रौनक बढेको छ । विजयपुर डाँडामा अवस्थित पिण्डेश्वर मन्दिरमा साउन १ गतेदेखि सुरु भएको बोलबम मेला एक महिनाभर सञ्चालन हुन्छ । अहिले पिण्डेश्वर मन्दिरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका शिवभक्तको उल्लेखनीय भीड देखिन थालेको छ । भक्तजनहरू चतरास्थित सप्तकोशी नदीमा स्नान गरी खाली खुट्टा गेरुवस्त्र धारण गरेर पवित्र जल बोकी पिण्डेश्वर महादेवलाई जल अर्पण गर्न आउने परम्परा आज पनि निरन्तर रहेको छ । पिण्डेश्वर महादेव मन्दिरमा भगवान् शिवको ‘अमृतपिण्ड’का रूपमा पूजा–आराधना गरिन्छ ।
धार्मिक मान्यताअनुसार समुद्र मन्थनबाट प्राप्त अमृतको अंशबाट यो मन्दिर स्थापित भएकाले यहाँ चढाइने जलले विशेष पुण्य प्राप्त हुने विश्वास छ । स्कन्द पुराणमा समेत यस क्षेत्रको महत्त्व उल्लेख गरिएको पाइन्छ । यही विश्वासका कारण हरेक वर्ष साउन महिनाभर, विशेषगरी सोमबारका दिन, हजारौँ शिवभक्त पिण्डेश्वरमा पुगेर पूजा–आराधना गर्ने गर्छन् ।
हिन्दु धर्मशास्त्रमा साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिएको छ भने साउने सोमबारलाई विशेष फलदायी मानिन्छ । यसै अवसरमा धरानको पिण्डेश्वर महादेव मन्दिरमा लाग्ने ‘बोलबम मेला’ धार्मिक आस्था र भक्तिभावको प्रमुख केन्द्रका रूपमा परिचित छ । “हर हर महादेव” र “बोलबम” को जयघोष गर्दै भक्तजन समूह–समूहमा पैदलयात्रा गरी चतरास्थित सप्तकोशी नदीबाट पवित्र जल बोकेर पिण्डेश्वरमा आई शिवलिङ्गमा जल अर्पण गर्ने परम्परा निरन्तर छ । भारतको बिहारस्थित देवघरको वैद्यनाथधाम मन्दिरमा बोलबम मेलाको पुरानो परम्परा रहेपनि २०४२ सालदेखि धरानको पिण्डेश्वर महादेव मन्दिरमा पनि बोलबम मेला सञ्चालन हुँदै आएको छ । त्यसयता यो मन्दिर नेपाल तथा भारतका शिवभक्तहरूको प्रमुख धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विशेषगरी, भारतका बिहार, झारखण्ड र उत्तर प्रदेशका साथै नेपालको तराई, पहाड तथा राजधानीबाट समेत ठुलो सङ्ख्यामा भक्तजन यहाँ आउने गरेका छन् ।
साउन महिनाभर व्रत बसेका महिलाको सहभागिता पनि उल्लेखनीय हुने गरेको छ । हरियो चुरा, पहेँलो साडी तथा पूजा सामग्रीसहित मन्दिर पुग्ने व्रतालु महिलाले भगवान् शिवको आराधना गर्दै पारिवारिक सुख, शान्ति, समृद्धि र पति दीर्घायुको कामना गरिहेका छन् । मेला अवधिभर पिण्डेश्वर मन्दिर परिसरमा जलपान, विश्राम तथा पूजा सामग्री बिक्रीका लागि दर्जनौँ अस्थायी स्टल सञ्चालन गरिएका छन् ।
धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्ण भट्टराईका अनुसार पिण्डेश्वर महादेव मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य पनि हो । उहाँले साउन महिनामा सञ्चालन हुने बोलबम मेलाले धरानको धार्मिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय व्यापार व्यवसायलाई समेत टेवा पुर्याउँदै आएको बताउनुभयो । साउने बोलबम मेलामा भक्तजनको सहजताका लागि मूल आयोजक समितिले सुरक्षा, पार्किङ, यातायात व्यवस्थापन, खानेपानी, शौचालय, निःशुल्क भोजन तथा विश्रामस्थलको व्यवस्था गरेको छ । वर्षाका समयमा एक हजारभन्दा बढी भक्तजन अट्ने आश्रयस्थल र आधुनिक ढङ्गको लाइन व्यवस्थापन समेत गरिएको उहाँको भनाइ छ ।
धार्मिक आस्था, सांस्कृतिक परम्परा, सामाजिक सद्भाव र स्थानीय अर्थतन्त्रलाई एकै सूत्रमा बाँध्ने साउन महिना समयसँगै नेपाली समाजको जीवनशैलीसँग अझ गहिरोसँग जोडिँदै गएको छ । हरियो शृङ्गार, सोमबारे व्रत, शिवपूजा र बोलबम मेलाले साउनलाई धार्मिक पर्वमा सीमित नराखी संस्कृति संरक्षण, धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय व्यापार व्यवसाय चलायमान बनाउने महत्त्वपूर्ण अवसरका रूपमा स्थापित गरेको छ । यही कारण साउन महिना आज पनि नेपाली समाजमा विशेष गरी महिलाहरुले आस्था, उत्साह र सांस्कृतिक पहिचानको जीवन्त प्रतीकका रूपमा मनाउँदै आएका छन् । –रासस