सङ्क्रमित पन्छी नष्ट गर्नु नै बर्ड फ्लु नियन्त्रणको प्रभावकारी उपाय : डा.उमेश दाहाल [भिडिओ]

12

काठमाडौँ, ११ असार । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु सङ्क्रमण अहिले विशेषगरी काठमाडौँ उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा.उमेश दाहालका अनुसार हालसम्म ११ जिल्लामा सङ्क्रमण पुष्टि भए पनि पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएको छ ।

उहाँका अनुसार देशभरका प्रयोगशालामार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि काठमाडौँ उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ सङ्क्रमण पुष्टि भएको छैन । अहिले विभागको मुख्य ध्यान उपत्यकाभित्र सङ्क्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उहाँले बताउनुभयो ।

डा.दाहालका अनुसार हालसम्म साना–ठुला गरी करिब ८० भन्दा बढी कुखुरा फार्ममा बर्ड फ्लु देखिएको छ । बिहीबार मात्रै थप पाँच स्थानका नमुनामा सङ्क्रमण पुष्टि भएको जानकारी प्राप्त भएको र ती स्थानमा तत्काल प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाइएको उहाँले बताउनुभयो ।

सङ्क्रमणको सुरुवात चैत्र अन्तिमतिर कागमा देखिएको थियो । त्यसपछि जेठ दोस्रो सातादेखि काठमाडौँको चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर लगायत क्षेत्रमा फैलिन थालेको डा.दाहालले बताउनुभयो ।

“संक्रमित कागबाट नै रोग सरेको देखिन्छ । कागमा परीक्षण गरेर बर्ड फ्लु पुष्टि भइसकेको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार गोदावरी, चाँगुनारायण, सूर्यविनायक लगायत क्षेत्रमा पनि सङ्क्रमण फैलिएको छ । हाल सदर चिडियाखानामा समेत सङ्क्रमित काग भेटिएपछि वन्यजन्तु तथा जङ्गली चराहरूमा समेत सङ्क्रमण फैलिएको सङ्केत देखिएको छ ।

डा.दाहालले बर्ड फ्लु अत्यन्त सङ्क्रामक भाइरस भएको उल्लेख गर्दै यसले ठुलो संख्यामा कुखुरा मार्ने र मानिसमा समेत सर्न सक्ने सम्भावना रहने बताउनुभयो । “यो उपचार र प्रभावकारी खोप नभएको रोग हो । त्यसैले जहाँ सङ्क्रमण देखिन्छ, त्यहाँका पन्छी र सङ्क्रमणका सबै स्रोत नष्ट गर्ने ‘स्टाम्पिङ आउट’ विधि अपनाइन्छ,” उहाँले भन्नुभयो ।

नेपालमा हालसम्म मानवमा सङ्क्रमणको एउटा मात्रै पुरानो घटना देखिएको उल्लेख गर्दै उहाँले अहिले मानव सङ्क्रमण पुष्टि नभएको जानकारी दिनुभयो । चिडियाखाना तथा अन्य जनावरमा एच–नाइन (एच९) प्रकारको अर्को एभियन इन्फ्लुएन्जा देखिएपछि भाइरसको स्वरूप परिवर्तन भएको हो कि भन्ने विषयमा पनि अध्ययन सुरु गरिएको छ ।

डा.दाहालका अनुसार बर्ड फ्लु समन्वय समिति, जनस्वास्थ्य क्षेत्र, वातावरणविद् तथा सरोकारवालासँग छलफल गरी भाइरसको जीनोमिक सिक्वेन्सिङ गर्ने तयारी भइरहेको छ ।

६ लाखभन्दा बढी कुखुरा नष्ट
सङ्क्रमण नियन्त्रणका लागि हालसम्म झन्डै ६ लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ । त्यस्तै, साढे ५० लाखभन्दा बढी अन्डा र करिब दुई लाख किलो दाना पनि नष्ट गरिएको विभागले जनाएको छ । डा.दाहालका अनुसार यसबाट हालसम्म ६० करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष क्षति भइसकेको छ । तर, उत्पादन बन्द हुनु, फार्म खाली राख्नुपर्ने अवस्था र पुनः उत्पादन सुरु गर्न लाग्ने समयका कारण अप्रत्यक्ष क्षति भने अर्बौँ रुपैयाँ पुगेको उहाँको भनाइ छ ।

“कुखुरा नष्ट भएपछि कम्तीमा ४२ दिन अर्थात् झन्डै डेढ महिनासम्म नयाँ चल्ला राख्न पाइँदैन । त्यसैले किसानले लामो समय उत्पादन गुमाउनुपरेको छ,” उहाँले भन्नुभयो ।

क्षतिपुर्तिको व्यवस्था
बर्ड फ्लु रोग नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमित फार्मका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपुर्ति दिने व्यवस्था रहेको डा.दाहालले जानकारी दिनुभयो।

जिल्लास्तरमा दररेट निर्धारण समितिले लागत मूल्य निर्धारण गर्ने र नष्ट गरिएका कुखुरा, अन्डा तथा दानाको प्रमाणका आधारमा किसानकै बैङ्क खातामा रकम पठाइने उहाँले बताउनुभयो । हाल पहिलो चरणमा प्रभावित किसानहरूको विवरण तथा आवश्यक कागजात सङ्कलनको काम भइरहेको छ ।

डा.दाहालले बर्ड फ्लु बाहेक रानीखेत, गम्बोरो, इ–कोलाई लगायत रोगविरुद्ध उपचार र खोप उपलब्ध रहेकाले किसानले नियमित जैविक सुरक्षा अपनाउनुपर्ने बताउनुभयो । उहाँले कुखुरा व्यवसायीलाई पशुपन्छी बिमा गर्न पनि आग्रह गर्नुभयो । “बिमा प्रिमियमको ८० प्रतिशतसम्म सरकारले अनुदान दिन्छ । किसानले २० प्रतिशत मात्रै तिरेर आफ्नो व्यवसाय सुरक्षित बनाउन सक्छन्,” उहाँले भन्नुभयो ।

सङ्क्रमित पन्क्षी नष्ट गर्नु नै बर्डफ्लु नियन्त्रणको प्रभावकारी उपाय
डा.दाहालले बर्ड फ्लुको उपचार तथा प्रभावकारी खोप उपलब्ध नभएकाले सङ्क्रमित पन्क्षी तथा पन्क्षीजन्य सामग्री नष्ट गर्नु नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो ।

उहाँले कुनै फार्ममा सङ्क्रमण देखिएलगत्तै आकस्मिक रोग अनुसन्धान टोली परिचालन गरी जोखिम क्षेत्र पहिचान गर्ने र आवश्यकताअनुसार सङ्क्रमित पन्क्षी तथा उत्पादन सामग्री नष्ट गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार बर्डफ्लु मानिसमा समेत सर्न सक्ने सम्भावना भएकाले सङ्क्रमण फैलिन नदिन तत्काल नियन्त्रणका उपाय अपनाइन्छ । हालसम्म नेपालमा अन्य जनावरमा सङ्क्रमण व्यापक रूपमा नदेखिएको भए पनि निगरानीलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।

महानिर्देशक दाहालले किसानलाई सङ्क्रमण देखिए तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गरेको बताउनुभयो । बजारमा उपलब्ध मासु तथा अन्डा सुरक्षित रहेको उल्लेख गर्दै उहाँले सबै प्रकारका मासु राम्ररी पकाएर मात्र उपभोग गर्न उपभोक्तालाई आग्रह गर्नुभयो ।

उहाँले कुखुरा पालनमा जैविक सुरक्षा मापदण्डको पालना, नियमित सरसफाइ तथा बिमाको प्रयोगले किसानलाई थप सुरक्षित बनाउन मदत पुग्ने पनि बताउनुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...