- चन्द्रकला भण्डारी
झापा, ११ असार । जङ्गलको बाटो, काँधमा क्यामरा अनि आँखामा चरा खोज्ने सपना बोकेर मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेल एक दशकदेखि दौडधुप गरिरहनुभएको छ । पेसा र सोखले फोटोग्राफर खरेल आज नेपालकै वन्यजन्तु संरक्षण र चरा अनुसन्धानमा इतिहास ब्युँताउने नाम बन्नुभएको छ ।
नेपालमा डेढ सय वर्षदेखि नदेखिएको दुर्लभ चरा ‘हङरायो’ र नेपालकै इतिहासमा पहिलोपटक ‘हरित परेवा’ पत्ता लगाएर विश्वभर सनसनी मच्चाउने खरेल हाल मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको अध्यक्ष हुनुहुन्छ । उहाँले नै ‘बैजनी ढाँडे बुङ्गे’ चरा नेपालमा पहिलोपल्ट फेला पार्नुभएको अभिलेखीकरण भएको छ ।
विसं २०७८ पुसको जाडोमा इलामको सूर्योदय नगरपालिका–१ स्थित थुम्के भन्ने ठाउँमा चरा खोज्न हिँडिरहेका बेला खरेलको नजर आकाशमा ठुला प्वाँख फिजाएर उडिरहेका एक जोडी अनौठा चरामा पर्यो । संयोगले ती चरा नजिकैको रुखमा बसेपछि उहाँले केही तस्बिर र भिडियो खिच्नुभयो । त्यही चराको फोटोले उहाँलाई संसारभर चिनायो । ती चराहरु दुर्लभ प्रजातिको एक जोडी ‘हङरायो’ थिए ।
“फोटो खिचिसकेपछि यो खबर म कसलाई सुनाउँ, कुन मिडियालाई भनुँ, कि के गरुँ जस्तो भएको थियो”, अनौठो चरा भेट्दाको खुसी साट्दै उहाँ भन्नुहुन्छ, “मेरो भाग्य, ती चरा रुखमै बसे । उडेर टाढा गइदिएका थिए भने मैले फोटो खिच्न पाउने थिइन । मैले फटाफट फोटो खिचेँ । त्यो मेरो जीवनकै सबैभन्दा अविस्मरणीय क्षण हो ।”
प्रधानमन्त्री भीमसेन थापाको पालातिर ब्रिटिस खोजकर्ता ब्रायन हड्सनले नेपालमा विश्वमै पहिलोपल्ट ‘हङरायो’ चरा भेटिएको प्रमाण पेस गर्नुभएको थियो । डेढ सय वर्षपछि खरेलले यो चरा नेपालमा जीवितै रहेको प्रमाण दिनुभयो । त्यसअघि खोजकर्ताहरुले ‘हङरायो’ नेपालबाट लोप भइसकेको औपचारिक प्रतिवेदन नै दिइसकेका थिए ।
सुरुका दिनमा दृश्य, फूल र पुतलीको तस्बिर खिच्ने खरेलको ध्यान विस्तारै चराचुरुङ्गीतर्फ सोझियो । भारतकी प्रख्यात वाइल्डलाइफ फोटोग्राफर राथिका रामास्वामी र जीवविज्ञानका लेखक कमल मादेनका कामहरूले उहाँको मनमा चरा खोज्ने भोक जगाइदियो । यही भोकले उहाँलाई नेपालको चरा इतिहासमै एउटा सुनौलो पाना थप्ने ठाउँसम्म पुर्यायो ।
नेपालको ८८७औँ चराको रूपमा ‘हरित परेवा’लाई मानिन्छ । यो चरा २०७७ मङ्सिर ९ गते मेचीनगर नगरपालिका–७ मा खरेलले नै फेला पार्नुभएको थियो । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ । यो परेवा नेपालमा पाइन्छ भनेर खरेलले नै पत्ता लगाउनु भएको हो । २०८१ फागुन ७ गते उहाँले मेचीनगरकै काँकडभिट्टामा ‘बैजनी ढाँडे बुङ्गे’ चराको तस्बिर र भिडियो खिच्नुभएको थियो । उक्त चरा नेपालमा पहिलोपल्ट फेला भेटिएपछि नेपालमा पाइने चराको सूचीमा एउटा चरा थपिएको थियो ।
मेचीनगरको बाहुनडाँगीमा ‘बगर बट्टाई’ र इलामको रोङस्थित कुटीडाँडामा ‘रातो ढाँडे पुष्पकोकिल’ लगायतका दर्जनौँ दुर्लभ मानिएका चराको खोज गरेर उहाँले नेपाललाई चराको स्वर्गको रुपमा चिनाउन योगदान दिनुभएको छ । उहाँले अति दुर्लभ मानिएको पेट कैले कोइली, कालो टाउके बगेडी र संसारकै सबैभन्दा तीव्र गतिमा उड्ने शाहीबाज नामक चरा समेत मेचीनगरमै फेला पारेर तस्बिर सार्वजनिक गर्नुभएको छ ।
भौगोलिक रूपमा नेपाल सानो भए पनि चराको विविधतामा विश्वकै २६ औँ स्थानमा पर्छ । हाल नेपालमा ९०३ प्रजातिका चरा रेकर्ड भइसकेका छन् । त्यसमा पनि मेचीनगर क्षेत्र चराहरूको ‘हटस्पट’ रहेको उहाँ बताउनुहुन्छ । उहाँकै पहलमा मेचीनगरमा मात्रै ३६१ भन्दा बढी प्रजातिका चरा भेटिइसकेका छन् ।
मेचीनगर–५ मा हालै उहाँले लामो पुच्छर भएको स्वर्गचरीको बच्चा हुर्काइरहेको जोडी नै फेला पार्नुभएको छ । नगरपालिका, बैंकलगायतका सरकारी तथा गैरसरकारी निकायले उहाँले खिचेका सुन्दर एवम् दुर्लभ चराहरुको तस्बिरलाई आफ्नो कार्यालयको अतिथि गृहमा सजाएर र स्मारिकाहरुमा प्रकाशन गरेर सम्मान दर्साउने गरेका छन् ।
नेपालमा चरा संरक्षणको अवस्था निकै दयनीय रहेकोमा खरेल चिन्ता व्यक्त गर्नुहुन्छ । “हाम्रो देशमा चरा पनि जोगाउनुपर्छ र ? भन्ने चेतना छ,” उहाँ भन्नुहुन्छ, “कोशी टप्पुभन्दा पूर्व एउटा पनि वन्यजन्तु आरक्ष नहुनु र देशैभरि जम्मा दुईवटा घोडाघोडी र जगदीसपुर ताल मात्र ‘चरा संरक्षित क्षेत्र’ हुनुले चरा संरक्षणतर्फ राज्यको उदासिनता प्रष्ट हुन्छ ।” मेची नदीपारि भारततर्फ भने आसामसम्म पुग्दा १२ भन्दा बढी वन्यजन्तु संरक्षित क्षेत्रहरु रहेको उहाँले बताउनुभयो । मेचीनगर, रोङ र सूर्योदय क्षेत्रलाई समेटेर ‘चरा संरक्षित क्षेत्र’ घोषणा हुनुपर्ने उहाँको धारणा छ । यस क्षेत्रमा चरा देखाएर पर्यटक आकर्षण गर्न सकिने उहाँको भनाइ रहेको छ ।
नेपालमा अहिलेसम्म चरा पर्यटनको सम्भावनालाई सरकारले अध्ययन नगरेको गुनासो गर्दै उहाँले नेपालको हावापानी, भूगोल र प्राकृतिक सौन्दर्यसँगै चरा हेर्न समेत विदेशबाट पर्यटक भित्र्याउन सकिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “तर, यसका लागि राज्यले चरा संरक्षित क्षेत्रहरु घोषणा गर्नुपर्छ र प्रचारप्रसारलाई व्यापक बनाउनुपर्छ ।”
चरा रमाइलोका लागि मात्र होइन, मानव अस्तित्वका लागि अनिवार्य रहेको खरेल बताउनुहुन्छ । हाम्रो साहित्य, संस्कृति र सङ्गीत चराकै चिरविरबाट सुरु हुने जनाउँदै उहाँले चरा बिनाको धरती निरस र बस्न अयोग्य हुने बताउनुभयो । किंवदन्ती, उखान, गीत, लोकभाका र श्रुतिहरुमा चरा बाँचेको उहाँ बताउनुहुन्छ । उहाँ चराहरुलाई धरती हराभरा बनाउने ‘अदृश्य माली’ भन्न रुचाउनुहुन्छ । “चराले बोलेको, गाएको, नाचेको भावलाई लिएर गीत र साहित्य रचना भएका छन्”, उहाँ भन्नुहुन्छ, “बिहानलाई बुझाउन कथा लेख्नुपर्यो भने चरा चिरविर गरेको भन्ने गरिन्छ । चित्रकारले हिमाल मास्तिर चरा उड्दै देखाउँछ । चराले फलफूल खाएर बिस्कटयाउँदा होस् या चुच्चोमा टिपेर फलफूल अर्को ठाउँमा पु¥याउँदा झुक्किएर झरेका बीजबाट वनजङ्गल फैलिएको हो ।”
चराको चोरी शिकारी रोक्न र यसको बासस्थानको संरक्षण मात्रै गर्न सक्दा ठुलो उपलब्धि हुने उहाँ बताउनुहुन्छ । ग्याटिसजस्ता साधन प्रयोग गरेर चरा मार्ने र चरालाई आतङ्कित तुल्याउने कार्यलाई निरुत्साहित गर्न विद्यालय तहमै चरा संरक्षणको ज्ञान दिनुपर्ने उहाँको धारणा छ । चरामार्फत विश्वभर नेपालको नाम चम्काउने खरेलको पर्दा पछाडिको व्यथा भने निकै मार्मिक छ । राज्य र समाजको उदासिनताका कारण चरा खोज्दाखोज्दै उहाँले आफ्नो निजी सम्पत्ति धेरै खर्च गरिसक्नुभएको छ । चरा जोगाउने कुरा गर्दा मानिसहरू हाँस्ने गरेको तीतो अनुभव उहाँसँग छ । आफूसँग चराको तस्बिर र भिडिओ खिच्ने अत्याधुनिक क्यामरा र लेन्सको अभावका कारण थुप्रै दुर्लभ तस्बिर र भिडियो कैद गर्न नपाएको उहाँको गुनासो छ ।
यही क्षेत्रमा काम गर्ने क्रममा उहाँले सामाजिक पहिचान र सम्मानसमेत पाउँदै आउनुभएको छ । चरा तथा वन्यजन्तुको खोज, अनुसन्धान र संरक्षणमा पुर्याउनुभएको योगदानको कदर गर्दै सुसेली साहित्यिक परिवारले उहाँलाई गत वर्ष डा.मुकेशकुमार जनककुमारी चालिसे विज्ञान पुरस्कारबाट सम्मानित गरेको छ भने लाल भागिरथा बानियाँ प्रतिष्ठानले राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको छ । कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टाले उहाँलाई पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रहेका चराहरुको खोजी गर्नका लागि सहयोग लिने गरेको छ ।
चराको खोजीका लागि उहाँ नेपालको विभिन्न जिल्ला र भारतको केही प्रान्तहरुमा पुग्नुभएको छ । विदेशबाट नेपालका चरा हेर्न आउने पर्यटक र अनुसन्धाताहरुलाई उहाँले ‘गाइड’को रुपमा झापा, इलामलगायत देशका विभिन्न जिल्लामा घुमाउने गर्नु भएको छ । चरा संरक्षणका लागि तीनै तहका सरकारले बजेटको व्यवस्था नगरेकोमा उहाँको गुनासो छ । पर्यटकीय पूर्वाधारको नाममा बन क्षेत्रमा कङ्क्रिटका ठुला संरचना बनाउने र कर्कश आवाज निकाल्ने ‘साउन्ड सिस्टम’ प्रयोग गरिदा चराको बासस्थान र विचरणमा नकारात्मक असर परेको उहाँको भनाइ छ । पछिल्ला दिनमा उहाँले नयाँ पुस्तालाई चरा चिनाउने र संरक्षणको चेतना जागृत गर्ने अभियान सञ्चालन गरिरहनु भएको छ । विद्यालयमा गएर चरा संरक्षणको विषयमा पढाउनेदेखि सिमसार र जङ्गलहरुमा पुगेर समुदायलाई चरा चिनाउने प्रशंसनीय कार्य उहाँको नेतृत्वमा भइरहेको छ । –रासस