शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

6

भरतपुर, ९ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामअघि बढाइने बताउनुभएको छ ।

चितवन उद्योग सङ्घले आज आयोजना गरेको कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढाउने बताउनुभयो । उहाँले सरकारले उद्योगी व्यवसायीलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने बताउनुभयो । नियम उल्लङ्घन गर्ने उद्योगहरूको विद्युत् लाइन काटिएको र नीति, प्रक्रियामा आइ सञ्चालन भएका उद्योगलाई छुटसहित सहयोग गरिएको मन्त्री यादबले बताउनुभयो ।

चितवन उद्योग सङ्घका उपाध्यक्ष गोपालप्रसाद गैरेले सङ्घका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । व्यवसायी अर्जुन सापकोटाले नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थमा सरकारले कर छुट दिनुपर्ने बताउनुभयो ।

औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिकाका ३, ७ र ८ र इच्छाकामना गाउँपालिकाको ७ नम्बर वडाको एक हजार १७८ हेक्टर जग्गा तोकिएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि तयार भएको विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब ३७ अर्ब लागत लाग्ने अनुमान छ ।

Share This:
सम्बन्धित खबर
Loading...