घट्दो विद्यार्थी सङ्ख्या रघुगङ्गाको मुख्य शैक्षिक चुनौती

19
  • सन्तोष गौतम

म्याग्दी, ३० जेठ । घट्दो विद्यार्थी सङ्ख्या म्याग्दीको रघुगङ्गा गाउँपालिकाको मुख्य शैक्षिक चुनौती बनेको छ । आठ वडा रहेको रघुगङ्गामा एक वटा कक्षा १२ र नौ वटा कक्षा १० सम्म पठनपाठन हुने सहित ३३ सामुदायिक र भगवतिमा एक निजी विद्यालय छन् । गाउँपालिकाको शिक्षा शाखाको अभिलेख अनुसार सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र २०८२ मा एक हजार नौ सय ३० जना विद्यार्थी भर्ना भएका थिए ।

नौ विद्यालयमा दुई अङ्कभन्दा कम र १५ मा तीन अङ्कभन्दा कम विद्यार्थी सङ्ख्या छ । तीन अङ्कभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालय चार वटा मात्र छन् । शैक्षिक सत्र २०८३ को जेठ तेस्रो सातासम्म रघुगङ्गाका सामुदायिक विद्यालयमा एक हजार तीन सय नौ जना विद्यार्थी भर्ना भएका शिक्षा शाखाका प्रमुख नहेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । “यस वर्ष ६४९ जना छात्रा र ६६० जना छात्र भर्ना भएका छन् । यो संख्या केही बढ्ने भए पनि गत वर्षको हाराहारीमा नपुग्ने अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो “यस वर्ष बालकक्षामा भर्ना हुने छात्रा ९० जना र छात्र १२४ जना छन् । गत वर्ष ११९ छात्रा र १३८ जना छात्र बालकक्षामा भर्ना भएका थिए ।”

बसाइँसराइ, वैदेशिक रोजगारीका कारण परिवार बाहिरिनु, निजी विद्यालयप्रतिको आकर्षण तथा जन्मदरमा आएको कमीका कारण विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको रघुगङ्गा गाउँपालिका–७ मा रहेको अमर माविका पूर्वप्रअ पृथ थापाले बताउनुभयो ।

“पहिले एउटै घरमा पाँच÷सात जना सम्म बच्चा हुन्थ्ये, अहिले मुस्किलले एक÷दुई जना बच्चा जन्मिएपनि बजार झरिहाल्ने प्रवृत्ति बढेको छ,” उहाँले भन्नुभयो “पहिलेका तुलनामा सुविधायुक्त भवन लगायत पूर्वाधार र प्रबिधीको प्रयोग गरेर पठनपाठन गराउन थालेपनि गाउँका विद्यालयमा विद्यार्थी टिकाउन गाहे भएको छ ।

कम विद्यार्थी भएका विद्यालय
रघुगङ्गा गाउँपालिका–१ बादुकमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयमा यस वर्ष विद्यार्थी सङ्ख्या शून्यमा झरेको छ । गत वर्ष बालकक्षामा ४ जना विद्यार्थी थिए । भएका विद्यार्थी अन्यत्र गएका र नयाँ विद्यार्थी भर्ना हुन नआएपछि उक्त विद्यालय नाममा मात्र सीमित भएको छ ।

कक्षा ८ सम्म पठनपाठन हुने श्रीकृष्ण आधारभूत तहघटुवा हुदै बन्द हुने अवस्थामा पुगेको हो । कुइने आधारभूतमा दुई जना, जनसुन्दर आधारभूतमा तीन जना, सुन्दर आधारभूतमा दुई जना, सिद्ध आधारभूतमा पाँच जना, जनसेवा आधारभूतमा सात जना, रघुगङ्गा आधारभूतमा सात र चिमखोला आधारभूतमा छ जना विद्यार्थी रहेका छन् । सबैभन्दा बढी मुक्तिधाम माविमा २८० जना विद्यार्थी छन् । विसं २००६ मा स्थापना भएको मुक्तिधाम मावि म्याग्दीकै पुरानो मध्यको विद्यालय हो ।

मुक्तिधाम माविमा भगवति, बेग, पिप्ले, दग्नाम सम्मका विद्यार्थी पढ्न आउँदा सात सय जना भन्दा धेरै विद्यार्थी हुन्थ्यो । मुक्तिधाम माविका प्रअ अमर केसीका अनुसार गत वर्ष ३१४ विद्यार्थी रहेको उक्त विद्यालयमा २०८१ मा ३७४ जना थिए ।

केही विद्यार्थीहरु बाहिरबाट भर्ना हुन आए पनि धेरै विद्यार्थीहरु पोखरा, बेनी जाने क्रम बढेको छ । बसाईसराई र सेवा क्षेत्रका आधारभूत विद्यालयले तल्लो तहका विद्यार्थी ‘होल्ड’ गर्दा विद्यार्थी सङ्ख्या कम भएको प्रअ केसीको भनाइ छ ।

बालीविज्ञान, कम्युटर, प्रयोगशाला र छात्रावास सुविधाले पनि विद्यार्थी आकर्षित गर्न नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । रघुगङ्गा गाउँपालिकाले उक्त विद्यालयको कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि पक्की छात्रावास भवन निर्माण गरिदिएको छ । छात्रावास भवनलाई प्रयोगमा ल्याउन पहल र सहजिकरण आवश्यक छ ।

मुक्तिधाम माविमा गाउँपालिकाले विद्यालयमा सभाहल भवन पनि निर्माण गरिदिएको छ । गाउँपालिकाले रघुगङ्गा–७ मा रहेको चिमखोला आधारभूत विद्यालयको भवन बनाउन यस वर्ष ४० लाख रूपैयाँ बजेट बिनियोजन गरेको थियो । भवन निर्माण अन्तिम चरणमा रहेको उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या जम्मा छ जना रहेको छ ।

एसइई केन्द्रविहीन
सरकारले तोकेको मापदण्ड र सङ्ख्या अनुसार विद्यार्थी नभएपछि २०८२ को माध्यमिक शिक्षा परिक्षा (एसइई)मा रघुगङ्गा गाउँपालिकाको एसइई परिक्षा केन्द्र बेनीमा सरेको छ । यसअघिको वर्षमा रघुगङ्गाका विद्यार्थीहरुको लागि मुक्तिधाम माविमा एसइई परिक्षा केन्द्रको व्यवस्था थियो । दुई सयभन्दा बढी विद्यार्थी सङ्ख्या हुनुपर्ने मापदण्डका कारण रघुगङ्गाको एसइई परिक्षा केन्द्र बेनीमा झरेको हो । रघुगङ्गाका १० माध्यमिक विद्यालययका १७३ जना विद्यार्थीले २०८२ को माध्यमिक शिक्षा परिक्षा एसइईमा भाग लिएका थिए । यसमध्ये १६३ जना ‘ग्रेडेड’ भएका छन् । कालिका मावि, महादेव मावि, रघुगङ्गा मावि, ज्ञानोदय मावि र महेन्द्र मावि झिँले यस वर्ष सतप्रतिशत नतिजा ल्याएका छन् । मुक्तिधाम माविकी रेजिना भण्डारी प्राविधिक धारतर्फ जिल्ला प्रथम हुनुभएको छ ।

२०८१ को माध्यमिक परीक्षामा १४३ जनाले सहभागिता जनाएकोमा ८८ जना ग्रेडेटेड भएका थिए । गत वर्षको तुलनामा २०८२ को नतिजामा सुधार आएको शिक्षा शाखाका प्रमुख नहेन्द्र क्षेत्रीले बताउनुभयो ।

सुधारको प्रयास
गाउँपालिकाले वर्तमान शैक्षिक अवस्थाको विष्लेषण, आवश्यकता पहिचान र सुधारका कार्ययोजना सहित पञ्चवर्षीय शिक्षा योजना तयार पारेको छ । योजनाकै आधारमा विद्यालयका भौतिक संरचना निर्माण, प्रबिधिको विस्तार, शिक्षकहरुको क्षमता विकास, शैक्षिक गुणस्तर सुधार, विद्यालय समायोजन, दरबन्दी मिलान र शिक्षक व्यवस्थापनको काम थालिएको गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीले बताउनुभयो । “गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ र विद्यालयको आकर्षण बढाउन जोड दिएका छौँ,” उहाँले भन्नुभयो “विद्यालयको भौतिक पूर्वाधार सुधार, सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइ, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्री व्यवस्थापन, अतिरिक्त क्रियाकलाप प्रवर्द्धन तथा विद्यालय अनुगमनलाई प्राथमिकतामा राखेका छौँ ।”

अध्यक्ष भण्डारीका अनुसार वार्षिक शैक्षिक योजना बनाएर कक्षागत पठनपाठनलाई पनि एकरुपता ल्याउने प्रयास भएको छ । माविका प्रअहरुलाई मासिक एक हजार रूपैयाँ र आधारभूतका प्रअलाई मासिक सात सय रूपैयाँका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाइएको छ । विद्यालयको प्रशासनिक खर्चका लागि वार्षिक आधारभूतलाई १० हजार रूपैयाँ र माविलाई १५ हजार रूपैयाँका दरले अनुदान दिने गरिएको छ ।

एसइई नतिजाको आधारमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षक छनोट गरी पुरस्कृत गरिएको छ । बालविकास सहजकर्ताहरुका लागि पारिश्रमिकमा पालिकाले रकम थप गरेको छ । विद्यार्थी अभाव भएका विद्यालय समायोजन र कक्षा घटुवा गर्ने प्रक्रियाको थालनी भएको छ । कक्षा १, २ र ३ को स्थानीय पाठ्यक्रममा आधारित पुस्तक तयार र मगर बाहुल्य बस्तीका १४ वटा विद्यालयमा यस वर्षदेखि कक्षा १ मा मगर खाम भाषामा पठनपाठन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो । “विद्यालय समायोजन, स्रोतको प्रभावकारी परिचालन तथा विषयगत शिक्षक व्यवस्थापनमार्फत शिक्षण सिकाइको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो “विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयको अवस्थाबारे अध्ययन गरी आवश्यकतानुसार व्यवस्थापन गर्ने नीति लिइएको छ ।”

गाउँपालिकाले विद्यालयमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने, अङ्ग्रेजी माध्यम तथा प्राविधिक शिक्षालाई प्रवर्द्धन गर्ने, बालविकास केन्द्रलाई थप प्रभावकारी बनाउने, विद्यालय र समुदायबिचको सहकार्य सुदृढ गर्ने तथा शिक्षकको पेशागत विकासमा लगानी बढाउन आवश्यक छ । स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउन सके घट्दो विद्यार्थी सङ्ख्या र गुणस्तरीय शिक्षासम्बन्धी चुनौतीको सामना गर्न सहज हुने अपेक्षा गरिएको छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...