म्याग्दी, २७ जेठ । त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ ।
नागरिकतासमेत नभएका मीम बहादुर किसानको परिवारका लागि गाउँपालिकाले स्थानीय समुदायसँग समन्वय गरेर दुई कोठे घर निर्माण गरिदिएको हो । मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एकजित रोकाले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत चार लाख रूपैयाँ बजेटबाट मीम बहादुरलाई घर बनाएर उपलब्ध गराएको जानकारी दिनुभयो ।
“गाउँपालिकाको बजेट र पैयुपाँटा टोलका युवा तथा अगुवाहरूको सक्रियतामा मीमबहादुर बस्ने घर निर्माण गरिदिएका हौँ”, उहाँले भन्नुभयो, “यसअघि विसं २०८० असार १९ गते उहाँलाई प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको थियो ।”
ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका किसानका एक श्रीमती र तीन छोराछोरी छन् । उहाँहरू यसअघि त्रिपालमुनि कपडा र बोराले बारेको झुपडीमा बस्दै आउनुभएको थियो । “घर बनेपछि झरीमा पानी चुहिने र हावाहुरी लाग्दा त्रिपाल उडाउने झुपडीको असहज र असुरक्षित बसाइँको अन्त्य भएको छ”, उहाँले भन्नुभयो, “हामीलाई घरमै सरकार आएको अनुभव भएको छ ।” घर बनाउने जग्गाजमिन भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सक्नुभएको थिएन ।