ज्ञानकुप, विद्याकुप र शतानन्दकुप : आस्था, इतिहास र लोकविश्वासको सङ्गम

4
  • निरञ्जनकुमार साह

धनुषा, २८ जेठ । मिथिलाको धार्मिक, सांस्कृतिक तथा शैक्षिक इतिहाससँग जोडिएको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेका तीन प्राचीन कूप (इनार) यतिबेला पनि स्थानीयवासी, श्रद्धालु तथा अनुसन्धानकर्ताको आकर्षणको केन्द्र बनेका छन् । ज्ञानकुप, विद्याकुप र शतानन्दकुप नामले परिचित यी तीन कूपलाई धार्मिक आस्था, पौराणिक मान्यता तथा लोकविश्वाससँग जोडेर हेरिँदै आएको छ ।

जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरसँग निकट सम्बन्ध रहेको सो विद्यालय केवल शैक्षिक संस्था मात्र नभइ धार्मिक तथा ऐतिहासिक सम्पदाका रूपमा समेत परिचित छ । विद्यालय परिसरमा रहेका तीनवटै कूपबारे विभिन्न धार्मिक ग्रन्थ, स्थानीय किंवदन्ती तथा जनश्रुतिहरू पाइन्छन् । स्थानीयवासी तथा जानकी मन्दिरका महन्तहरूका अनुसार यी कूपहरुको इतिहास पौराणिक कालसँग जोडिएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार पौराणिककालदेखि नै सो स्थानमा कूपहरूको अस्तित्व रहेको मानिन्छ । मिथिला परम्परामा माता सीताले अध्ययन गरेको स्थलका रूपमा परिचित यस क्षेत्रमै तीनवटा कूप उत्पन्न भएको धार्मिक विश्वास छ । “सीताजीले अध्ययन गर्ने क्रममा यस परिसरमा ज्ञान, विद्या र आध्यात्मिक उन्नतिसँग सम्बन्धित तीन कूप प्रकट भएका हुन् भन्ने जनविश्वास रहिआएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार ज्ञानकुप , विद्याकुप र शतानन्दकुप केवल पानीका स्रोत मात्र नभई मिथिलाको सांस्कृतिक चेतना र अध्यात्मिक परम्पराका प्रतीक हुन् । पुस्तौँदेखि स्थानीय समाजले ती कूपहरुलाई श्रद्धापूर्वक संरक्षण गर्दै आएको छ ।

ज्ञान प्राप्तिको प्रतीक मानिने ज्ञानकूप
तीन कुपमध्ये ज्ञानकूपलाई विशेष महत्त्वका साथ हेरिन्छ । धार्मिक मान्यताअनुसार ज्ञानको अभाव भएका व्यक्तिले ज्ञानकुप को पानीले स्नान गर्ने वा थोरै मात्रामा सेवन गर्ने गरेमा वौद्धिक विकास र ज्ञान प्राप्तिमा सहयोग पुग्ने विश्वास छ । स्थानीय जानकारहरूका अनुसार विगतमा विद्यार्थी तथा साधुसन्तहरूले अध्ययन आरम्भ गर्नुअघि ज्ञानकुप मा पूजा गर्ने परम्परा रहेको थियो । यस कूपको पानीलाई ज्ञान, विवेक र अध्यात्मिक चेतनासँग जोडेर हेरिन्छ । धार्मिक तथा सांस्कृतिक क्षेत्रका अध्येताहरूका अनुसार यस्ता विश्वासहरू समाजमा शिक्षा र ज्ञानप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्यले विकसित भएका हुन सक्छन् । यद्यपि, यसको वैज्ञानिक पुष्टि नभए पनि स्थानीय समाजमा यसप्रतिको आस्था अझै बलियो रहेको छ ।

विद्याकुपको धार्मिक महत्त्व
विद्यालय परिसरमा रहेको अर्को कूप विद्याकुप हो । नामअनुसार नै यसलाई विद्या प्राप्तिसँग जोडेर हेरिन्छ । धार्मिक ग्रन्थ तथा स्थानीय मान्यतामा विद्याकुपको विशेष चर्चा पाइन्छ । स्थानीयवासीका अनुसार विद्यार्थीहरूले परीक्षा, अध्ययन वा संस्कृत शिक्षा प्रारम्भ गर्नुअघि विद्याकुपमा पूजा–आराधना गर्ने चलन रहिआएको छ । यस कूपको पानीले मानसिक एकाग्रता र अध्ययनप्रति रुचि बढाउने धार्मिक विश्वास रहेको बताइन्छ । जानकारहरूका अनुसार मिथिला क्षेत्र शिक्षा र विद्वत परम्पराका लागि प्रसिद्ध रहँदै आएको छ । विद्याकुपलाई त्यही गौरवशाली परम्पराको एक प्रतीकका रूपमा लिइन्छ ।

दुःख निवारणसँग जोडिएको शतानन्दकुप
तेस्रो कूप शतानन्दकुप हो । स्थानीय जनविश्वास अनुसार यस कूपको पानी सेवन गर्दा विभिन्न प्रकारका दुःख, कष्ट तथा मानसिक पीडाबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ । धार्मिक कथनअनुसार शतानन्दजी माता सीताका गुरु थिए । मिथिला सभ्यता र वैदिक ज्ञान परम्परामा उहाँको महत्त्वपूर्ण स्थान रहेको उल्लेख पाइन्छ । शतानन्दकुपको नामकरण पनि उहाँकै नामबाट भएको जनविश्वास छ । स्थानीय श्रद्धालुहरू विशेष अवसरमा शतानन्दकुपमा पूजा गर्दै मनोकामना माग्ने गर्दछन् । धेरैले यसलाई अध्यात्मिक शान्ति प्राप्त गर्ने स्थलका रूपमा लिने गरेका छन् ।

धार्मिक सम्पदा संरक्षणको आवश्यकता
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले यी तीनवटै कूप मिथिलाको धार्मिक र सांस्कृतिक पहिचानसँग जोडिएका महत्त्वपूर्ण सम्पदा भएको बताउनुभयो । उहाँका अनुसार कूपहरू केवल धार्मिक विश्वासका विषय मात्र नभई प्राचीन इतिहासका जीवित प्रमाण पनि हुन् । “यी सम्पदाको संरक्षण, प्रवद्र्धन र अध्ययन आवश्यक छ । आगामी पुस्ताले मिथिलाको मौलिक इतिहास बुझ्न यस्ता धरोहर महत्त्वपूर्ण आधार बन्न सक्छन्,” उहाँले भन्नुभयो । उहाँले स्थानीय तह, पुरातत्वविद् तथा सम्बन्धित निकायले कूपहरूको ऐतिहासिक अध्ययन गरी व्यवस्थित संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

शैक्षिक इतिहाससँग जोडिएको विद्यालय
श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले विद्यालय मिथिलाको प्राचीन शैक्षिक परम्पराको प्रतिनिधित्व गर्ने संस्थामध्ये एक रहेको बताउनुभयो । उहाँका अनुसार विद्यालय स्थापना भएको लामो इतिहास रहेको छ। संस्कृत शिक्षा प्रवद्र्धनमा विद्यालयले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । “विद्यालय परिसरमा रहेका ज्ञानकुप , विद्याकुप र शतानन्दकुपले यस संस्थाको धार्मिक तथा ऐतिहासिक महत्त्व अझ बढाएका छन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी, अभिभावक तथा आगन्तुकहरू तीनवटै कूपबारे जानकारी लिन उत्सुक हुने गरेको छ ।

ऋषिमुनिको पालादेखिको अस्तित्व रहेको विश्वास
यस विद्यालयका पूर्वविद्यार्थी तथा हाल सहायक प्राध्यापक सोमनाथ भट्टराईले विद्यालयको स्थापना १९६६ सालमा भएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको औपचारिक स्थापना त्यस समयमा भए पनि कूपहरूको इतिहास अझ प्राचीन रहेको जनविश्वास छ । “स्थानीय मान्यता अनुसार यी कूपहरूको अस्तित्व ऋषिमुनिको पालादेखि रहँदै आएको हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार विद्यालयको इतिहास र कूपहरूको पृष्ठभूमिबारे थप अनुसन्धान आवश्यक छ । उहाँले धार्मिक विश्वास र ऐतिहासिक तथ्यलाई सन्तुलित ढंगले अध्ययन गरी दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका पूर्वविद्यार्थी तथा स्थानीयवासी अवधेश पोखरेलले बाल्यकालदेखि नै तीनवटै कूपप्रति स्थानीय समाजमा गहिरो श्रद्धा रहेको बताउनुभयो । उहाँका अनुसार विभिन्न पर्व, उत्सव तथा धार्मिक अवसरमा श्रद्धालुहरू कूपको दर्शन गर्न आउने गरेका छन् । “हामीले सानैदेखि यी कूपको महत्त्वबारे सुन्दै आएका छौँ । स्थानीय समाजको सांस्कृतिक जीवनसँग यी कूप अभिन्न रूपमा जोडिएका छन्,” उहाँले भन्नुभयो ।

साहित्यकार तथा जानकार डा.राजेन्द्र विमलले ज्ञानकुप , विद्याकुप र शतानन्दकुप मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक अध्ययनका दृष्टिले महत्वपूर्ण विषय भएको बताउनुहुन्छ । उहाँका अनुसार मिथिलामा शिक्षा, दर्शन र धार्मिक चिन्तनको लामो परम्परा रहेको छ । “तीनवटै कूपले त्यही ज्ञान परम्पराको प्रतिनिधित्व गर्छन् । यिनको अध्ययनले मिथिलाको बौद्धिक इतिहास बुझ्न सहयोग पुग्न सक्छ,” उहाँले भन्नुभयो । उहाँले स्थानीय किंवदन्ती, धार्मिक ग्रन्थ र ऐतिहासिक स्रोतलाई एकीकृत गरेर अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पुस्तौँदेखि सुनिदै आएको जनश्रुति
स्थानीय ७० वर्षीय मोहन उपाध्यायले आफूले बाल्यकालदेखि नै तीनवटै कुपबारे विभिन्न धार्मिक कथा सुन्दै आएको बताउनुभयो । उहाँका अनुसार विगतमा भारतको टाढाटाढाबाट श्रद्धालुहरू कूपको दर्शन गर्न आउने गर्थे । “ज्ञानकुप को पानीले ज्ञान बढ्छ, विद्याकुपले अध्ययनमा सफलता दिन्छ र शतानन्दकुपले दुःख हटाउँछ भन्ने विश्वास समाजमा व्यापक थियो,” उहाँले भन्नुभयो । यस्तै ६५ वर्षीय रामदेव यादवले पनि कूपहरू मिथिलाको धार्मिक जीवनसँग गहिरो रूपमा जोडिएको बताउनुभयो। उहाँका अनुसार समयसँगै धेरै परिवर्तन आए पनि स्थानीयवासीको आस्था भने यथावत् रहेको छ ।

स्थानीय ६७ वर्षीया रामकुमारी रायले तीनवटै कूपलाई धार्मिक आस्थाको केन्द्रका रूपमा लिने गरेको बताउनुभयो । उहाँका अनुसार विशेष पूजा तथा व्रतका अवसरमा महिलाहरू कूपमा पुगेर पूजा–आराधना गर्ने चलन रहिआएको छ । “हामीले पुर्खादेखि यी कूपको महत्त्व सुन्दै आएका छौँ । यहाँ आएपछि मनमा शान्ति मिल्छ,” उहाँले भन्नुभयो ।

पर्यटन प्रवर्द्धनको सम्भावना
स्थानीय सरोकारवालाहरूका अनुसार उचित प्रचारप्रसार, संरक्षण र व्यवस्थापन हुनसके यी कूप धार्मिक पर्यटनका महत्त्वपूर्ण गन्तव्य बन्न सक्छन् । जनकपुरधाम आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मिथिलाको प्राचीन शैक्षिक र धार्मिक परम्पराबारे जानकारी गराउन पनि यी कूप उपयोगी हुन सक्छन् । विशेषगरी जानकी मन्दिर दर्शनका लागि आउने श्रद्धालुहरूलाई विद्यालय परिसरमा रहेका कूपहरूको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी गराउने व्यवस्था गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

जनकपुरधामस्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेका ज्ञानकुप , विद्याकुप र शतानन्दकुप मिथिलाको धार्मिक आस्था, सांस्कृतिक चेतना तथा शैक्षिक परम्पराका महत्त्वपूर्ण प्रतीकका रूपमा रहेका छन् । यिनको उत्पत्तिबारे विभिन्न धार्मिक विश्वास, जनश्रुति तथा पौराणिक कथन प्रचलित भए पनि यी कूपले स्थानीय समाजमा विशेष महत्व राख्दै आएका छन् । ज्ञान, विद्या र आध्यात्मिक शान्तिसँग जोडिएका यी तीनवटै कूप केवल धार्मिक आस्थाका केन्द्र मात्र नभइ मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा समेत महत्त्वपूर्ण छन् । तिनको संरक्षण, अध्ययन तथा प्रवर्द्धनमार्फत आगामी पुस्तालाई मिथिलाको समृद्ध परम्पराबारे जानकारी गराउन सकिनेछ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...