सिर्जना घट्यो होला तर साङ्गीतिक स्टेज छाडेको छैन : रोशन गुरुङ

11

काठमाडौँ, १८ जेठ । ‘पैसै ठुलो छ’ ‘रेशमैको पछ्यौरी’, मलाई छाडी नजाउ’, ‘इलामले सम्झायो माया’ ‘सानु तिम्रो सम्झनामा’ ‘कान्छीलाई मोहनी जालमा पारेर’ जस्ता चर्चित गीतमा स्वर दिएर सङ्गीतप्रेमीहरुमाझ प्रिय बनेका गायक रोशन गुरुङ हालैको दिन काठमाडौँको जोरपाटीमा भेटिनुभयो ।

तीन सयबढी गीतमा स्वर दिनुभएका रोशन करिब डेढ दशकअघि अमेरिका जानुभएको थियो । अमेरिकामै व्यवसाय गर्दै प्रवासी साङ्गीतिक मञ्चहरुमा व्यस्त हुने गरेका रोशनले लोकशैलीका गीतहरु कहिल्यै नमर्ने प्रतिक्रिया पनि दिनुभयो ।

लोकबेसमा आधारित गीतहरूको लोकप्रियता अझै कायम रहेको उहाँको प्रतिक्रिया थियो । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले नेपाली सङ्गीतको वर्तमान अवस्था, विदेशमा रहेका नेपालीहरूको सङ्गीतप्रतिको रुचि तथा आफ्नो सांगीतिक यात्राबारे खुलेर धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “खास गरेर विदेशमा रहेका नेपालीहरूको मर्म भनेको लोकबेसमा आधारित गीत नै हो । हामी जुनसुकै ठाउँमा जाँदा पनि मादल बजेको, लोकबेसमा आधारित गीतहरू नेपालीहरूले निकै मन पराउँछन् ।”

अमेरिकाबाट हालै हङकङमा आयोजित दुई साङ्गीतिक कार्यक्रममा सहभागी भएर नेपाल आउनुभएका उहाँलाई यसपटक ‘नातिकाजी राष्ट्रिय सम्मान’ प्रदान गरिएको छ । उक्त सम्मान ग्रहण गर्न नेपाल आउनुभएका गुरुङले बदलिँदो समयसँगै सङ्गीतको स्वरूप पनि परिवर्तन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयको माग अनुसार सबै किसिमको गीतहरु बजारमा आइरहेका छन् । तर, कोही स्रोताहरुले राम्रा गीतहरु सुन्न चाहनुहुन्छ । भाइरल गीतहरु पनि सुन्नुहुन्छ । समयको माग पनि होला । समय अनुसार मान्छेले आफ्नो–आफ्नो च्वाइसहरु सुन्न सक्छन् । पहिले पहिले त लिमिटेड, च्वाइसहरु हुन्थे । रेडियो नेपाल, नेपाल टेलिभिजन अथवा सीमित क्यासेटहरु मात्रै हुन्थे तर अब समय बदलिएको छ ।”

पहिले रेडियो, टेलिभिजन र सीमित क्यासेटमार्फत मात्र गीत सङ्गीत सुन्न पाइने अवस्था रहेको स्मरण गर्दै उहाँले अहिले डिजिटल प्लेटफर्मका कारण सबैले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएको बताउनुभयो ।

“अहिले कसैको सिर्जनालाई रोक्ने वा सेन्सर गर्ने अवस्था छैन । बजारमा सबै प्रकारका सामग्री आउँछन्, त्यसमध्ये केही उत्कृष्ट हुन्छन् भने केही कमसल पनि,” उहाँले भन्नुभयो ।

विदेशमा रहेका नेपालीहरूले विशेषगरी लोकबेसमा आधारित गीतहरू रुचाउने गरेको उहाँको अनुभव छ । “जहाँ गए पनि नेपालीहरूले मादलको ताल र लोकसंस्कृतिसँग जोडिएका गीतहरू मन पराउँछन् । त्यस्ता गीतले आफ्नोपनको अनुभूति गराउँछन्,” उहाँले भन्नुभयो ।

सङ्गीत क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबिच नयाँ पुस्ताका कलाकारलाई धैर्य गर्न उहाँले सुझाव दिनुभयो । “राम्रो सिर्जना छ भने एकदिन त्यसको मूल्याङ्कन अवश्य हुन्छ । एक–दुई गीत नचले भन्दैमा आत्तिनु हुँदैन, निरन्तर लागिरहनुपर्छ,” उहाँले भन्नुभयो ।

करिब १७ वर्षदेखि अमेरिकामा बस्दै आएका गुरुङले आफ्नो साङ्गीतिक करिअरको उत्कर्ष समय पनि सम्झिनुभयो । एक समय नेपाली चलचित्र र एल्बमहरूमा उहाँको आवाज नियमित सुनिन्थ्यो । उहाँले हालसम्म करिब तीनसय गीतमा स्वर दिएको जानकारी दिनुभयो ।

विदेशमा कार्यक्रमको व्यस्तताका कारण पछिल्ला वर्षहरूमा सिर्जनात्मक काम केही कम भए पनि सङ्गीत यात्रालाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक जमाना थियो मेरो । हरेकजसो फिल्ममा मेरो स्वर हुन्थ्यो । एल्बमहरु निस्किरहन्थे । एउटा एल्बममा आठ वटा गीत हुन्थ्यो, हरेक एल्बममा मेरो एउटा न एउटा गीत भइहाल्थ्यो । त्यो एउटा पिक समय थियो । अब त अमेरिका बसेकै १७ वर्ष बित्यो । त्यतिका धेरै रेकर्डिङ त अहिले भएको छैन । तर, हालसम्म लगभग ३०० गीत भए होलान् । अहिले अलिक कम भएको छ । स्टेजहरुमा व्यस्त भएपनि सिर्जना चाहिँ कम भएको छ ।”

सामाजिक सञ्जालमा नयाँ गीत नआएको गुनासो आउने गरेको उल्लेख गर्दै उहाँले आफ्नै नामको युट्युब च्यानलमार्फत नयाँ गीतहरू सार्वजनिक गरिरहेको जानकारी दिनुभयो ।

नेपाली सङ्गीत उद्योगको आर्थिक पक्षबारे बोल्दै गुरुङले सीमित जनसंख्या र सानो बजार नेपाली कलाकारका लागि चुनौती बनेको बताउनुभयो । “हाम्रा स्रोताहरुको आकार नै सानो छ । गीतहरूको पहुँच सीमित हुन्छ,” उहाँले भन्नुभयो । स्थिर सरकारी नीतिको अभाव र सीमित अवसरका कारण धेरै कलाकार विदेशिन बाध्य भएको उहाँको भनाइ छ ।

गुरुङका अनुसार उहाँका कार्यक्रमहरूमा आज पनि पुराना लोकप्रिय गीतहरूको माग अत्यधिक हुन्छ । विशेषगरी मेरा ‘पछ्यौरी’, ‘सही हो नि कान्छी’ लगायतका गीतहरू दर्शकको रोजाइमा पर्ने गरेका छन् ।

“यी गीतहरू बिना कार्यक्रम अधुरो जस्तै हुन्छ । कतिपय कार्यक्रममा एउटै गीत दुई–तीन पटकसम्म गाउनुपर्ने अवस्था आउँछ,” उहाँले हास्दै सुनाउनुभयो ।

इलामको अन्तु डाँडासँग जोडिएको आफ्नो चर्चित गीत स्मरण गर्दै उहाँले नेपाली स्रोतालाई देशका सुन्दर पर्यटकीय गन्तव्यहरू अवलोकन गर्न पनि आग्रह गर्नुभयो ।

समय बदलिएको छ, सङ्गीतको शैली फेरिएको छ, तर नेपालीपन झल्काउने लोकबेस गीतप्रतिको आकर्षण अझै उस्तै रहेको गुरुङको अनुभव छ । यही विश्वासका साथ उहाँ विदेशमा रहेर पनि नेपाली सङ्गीतको यात्रामा निरन्तर सक्रिय हुनुहुन्छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...