एजेन्सी, २५ साउन । पाकिस्तानमा बढ्दो तापक्रमले इँटा भट्टीमा काम गर्ने मजदुरको कठिन जीवन झनै जोखिमपूर्ण बनाएको छ । चर्को घाममुनि ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहँदै काम गर्ने मजदुरले खुट्टामुनिबाट निस्कने भट्टीको तातो र माथिबाट पर्ने सूर्यको ताप दुवै खेप्नुपरेको छ ।
पाकिस्तानको शेखुपुरा जिल्लास्थित एक इँटा भट्टीमा मजदुरहरू खुट्टामुनिका साना प्वालबाट कोइला तलको आगोको कोठामा हालिरहेका छन् । उनीहरूको टाउकोमाथि भने भट्टीबाट निस्किएको बाक्लो कालो धुवाँ फैलिएको छ ।
परम्परागत इँटा भट्टीमा तापक्रम एक हजार डिग्री सेल्सियसभन्दा माथि पुग्छ । इँटा राम्रोसँग पाकेको सुनिश्चित गर्न मजदुरले भट्टीको तापक्रम निरन्तर निगरानी गर्नुपर्छ । पाकिस्तानमा पहिले नै अत्यधिक गर्मी हुने भए पनि जलवायु परिवर्तनका कारण तापक्रम अझ बढ्दै गएपछि यस्तो काम झनै कठिन बनेको छ ।
पैँतिस वर्षीय मजदुर आबिद हुसेनको कपडा भट्टीबाट निस्किएको कालो धुवाँ र धुलोले ढाकिएको थियो । उहाँले आफू तल र माथिबाट आउने आगोको तापबीच फसेजस्तो महसुस हुने बताउनुभयो । “गर्मी निःसन्देह चरम छ तर घरको आर्थिक दबाब सम्झँदा काम गरिरहनुबाहेक विकल्प हुँदैन”, उहाँले भन्नुभयो ।
हुसेनजस्तै सयौँ हजार मजदुर पाकिस्तानको इँटा उद्योगमा कार्यरत छन् । श्रम अधिकारकर्मीहरूका अनुसार यो क्षेत्र कमजोर नियमन, न्यून ज्याला र जोखिमपूर्ण कार्य अवस्थाका कारण समस्याग्रस्त छ । पाकिस्तानमा तीव्र गतिमा भइरहेको निर्माण गतिविधिले इँटाको माग बढाए पनि मजदुरको आम्दानी भने अत्यन्त न्यून छ । उनीहरूले दैनिक करिब तीन अमेरिकी डलर मात्र कमाउने गरेका छन् ।
चर्को घाम, धुलो र तातो हावाबीच मजदुरहरू घन्टौँसम्म भट्टीको सतहमा काम गर्छन् । बन्डेड लेबर लिबरेसन फ्रन्ट पाकिस्तानकी महासचिव सैदा गुलाम फातिमाले इँटा भट्टीलाई मजदुरका लागि ‘कैदको ठाउँ’ जस्तै भएको बताउनुभयो ।
“कामदारले माथिको घामको अथक ताप सहनुपर्छ भने भट्टीबाट निस्कने तीव्र गर्मी तलबाट शरीरतर्फ आउँछ”, उहाँले भन्नुभयो ।
फातिमाका अनुसार मजदुरहरू ऋण, चरम गर्मी र बिग्रँदो स्वास्थ्यको चक्रमा फसेका छन् । बढ्दो विश्वव्यापी तापक्रमले उनीहरूको जोखिम थप बढाएको उहाँको भनाइ छ ।
शेखुपुरा पाकिस्तानको ठुलो इँटा भट्टी उद्योगको प्रमुख केन्द्र हो । सन् २०१८ को जलवायु तथा स्वच्छ वायु गठबन्धनको तथ्याङ्कअनुसार पाकिस्तानभर १८ हजारभन्दा बढी इँटा भट्टी सञ्चालनमा छन् र तिनमा १० लाखभन्दा बढी मानिस कार्यरत छन् ।
जलवायु विज्ञहरूका अनुसार पाकिस्तान विश्वमा जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका मुलुकमध्ये एक हो । फातिमाले धेरै मजदुरले अग्रिम रकम लिने भएकाले ऋणको बोझमा पर्ने र त्यसपछि जोखिमपूर्ण अवस्थामा पनि काम छाड्न नसक्ने बताउनुभयो ।
हुसेनले आफूले मासिक करिब २५ हजार पाकिस्तानी रुपैयाँ अर्थात् ९० अमेरिकी डलर कमाउने बताउनुभयो । उक्त रकमले घरभाडा र बालबालिकाका आधारभूत आवश्यकता पूरा गर्न मात्र पुग्ने उहाँको भनाइ छ ।
“हामी बिरामी भए पनि वा पारिवारिक समस्या भए पनि काम गर्नैपर्छ”, उहाँले भन्नुभयो, “समय निकालेर काम नगरे परिवार समस्यामा पर्छ ।”
विश्रामसमेत कठिन
इँटा भट्टीबाट हुने वायु प्रदूषण र स्वास्थ्य जोखिम घटाउन पञ्जाब प्रान्तीय सरकारले परम्परागत भट्टीलाई ‘जिगज्याग’ प्रविधिमा रूपान्तरण गर्न दबाब दिइरहेको छ । यसले उद्योगलाई थप आधुनिक र कम प्रदूषणयुक्त बनाउन सक्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार विशेषगरी परम्परागत भट्टीमा लामो समयसम्म अत्यधिक गर्मीमा काम गर्दा छालासम्बन्धी समस्या, श्वासप्रश्वासमा कठिनाइ र मिर्गौलासम्बन्धी रोगको जोखिम बढ्न सक्छ ।
तर, भट्टीको तापक्रम स्थिर राख्नुपर्ने भएकाले लामो विश्राम दिन कठिन रहेको ४५ वर्षीय सुपरभाइजर मुजीब उल्लाले बताउनुभयो । “चरम गर्मी होस्, चिसो होस् वा वर्षा, काम निरन्तर गर्नुपर्छ”, उहाँले भन्नुभयो । मजदुरलाई पिउने पानी र कहिलेकाहीँ छोटो विश्राम उपलब्ध गराउने गरिएको उहाँको भनाइ छ ।
भट्टीको अर्को भागमा २८ वर्षीय मुहम्मद आजिम भिजेको माटो मिसाएर काठको साँचेमा हातैले इँटा बनाइरहनुभएको थियो । पाकिसकेका इँटाका पङ्क्तिबीच उहाँको काम पनि उत्तिकै थकाइलाग्दो थियो । आफ्नो कामको कठिनाइबारे आजिमले भन्नुभयो, “मौसम राम्रो होस् वा नराम्रो, काम त काम नै हो । गर्नैपर्छ ।” –एएफपी