काठमाडौँ, १५ वैशाख । चर्चित गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ आज पनि उत्तिकै चर्चित छ र उत्तिकै कर्णप्रिय लाग्छ । ग्रामीणदेखि सहरिया नेपालीहरुले सदावहार गुनगुनाइरहेका छन् । फरक शब्द, लय र प्रस्तुतिका कारण गीतको भाव आजसम्म जीवन्त छ ।
विसं. २०५४–५५ तिर सार्वजनिक भएको गीतले नेपाली आधुनिक गीतसङ्गीतमा छुट्टै पहिचान बनाएको छ । सरल तर भावपूर्ण शब्द, आकर्षक सङ्गीत संयोजन र चलचित्र ‘माइली’मार्फत सार्वजनिक भएको गीत दशकौँदेखि लोकप्रिय छ ।
विभिन्न सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय नृत्य र महोत्सवहरूमा गीत घन्किनेगरेको छ ।
कसरी रचना भयो गीत ?
रचनाकार विधान आचार्यले आफ्नो चर्चित गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ कसरी रचना भयो भन्ने रोचक कथा सार्वजनिक गर्नुभएको छ । उहाँले यो गीत कुनै योजनाबद्ध रूपमा नभइ संयोग र सिर्जनात्मक क्षणबाट जन्मिएको बताउनुभयो ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा आचार्यले भन्नुभयो, “बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’भन्ने गीत कसरी आयो भन्ने विषय रोचक छ । मेरो घर भएको स्थान चुँदीरम्गामा मेरो पुर्खाको खेत पनि छ । त्यो खेतको नाम ‘बाँझो खेत’ हो । त्यो खेतमा एकचोटी धान रोप्दारोप्दै एकजना रोपार महिलाको ढलेर मृत्यु भयो । त्यसपछि खेत रोप्न बन्द भयो । ३० –४० वर्षसम्म प्रसिद्ध भएको त्यो बाँझो भएका कारण चर्चामा आयो । बाँझो खेत शब्द त्यहीँबाट जन्मियो । गीत चलचित्र माइलीका लागि लेखिएको थियो ।”
गीतको उत्पत्तिबारे बोल्दै आचार्यले भन्नुभयो, “चलचित्र ‘माइली’ का लागि गीत लेख्ने क्रममा निर्देशक तथा सङ्गीतकारसँग भएको अनौपचारिक छलफलका बेला अचानक ‘बाँझो खेतमा’ भन्ने शब्द उच्चारण भएको थियो । त्यहीँ शब्दलाई संगीतकार शम्भुजित बाँस्कोटासँगको भेटमा ट्युनमा रूपान्तरण गरिँदा गीतको आधार तयार भएको उहाँ बताउनुभयो ।
उहाँले भन्नुभयो, “एकदिन राजेन्द्र सलभ ,म र शम्भुजित बाँस्कोटा तीनजना बसेर छलफल गर्दै थियौँ, त्यही बेला हामीहरु मध्येको मुखबाट बाँझो खेतमा भन्ने शब्द निस्कियो । सोहीबेला हामीले त्यसलाई ट्युनअप गर्यौँ । त्यसलाई नै पछि लयबद्ध गर्यौँ । त्यो एउटा संयोग पनि थियो । यही खेतको लागि गीत लेख्छु भनेर लेखेको होइन । शम्भुजित बाँस्कोटाजीका कारण र मलाई मन परेका कारण गीतमा समावेश भएको हो ।”
उहाँका अनुसार, यो गीत कुनै खेतको वर्णनका लागि लेखिएको नभइ चलचित्रको कथावस्तुका लागि तयार पारिएको हो । पछि यो गीत ‘माइली’ फिल्ममार्फत सार्वजनिक भएपछि अत्यन्त लोकप्रिय बन्न पुग्यो ।
उहाँका अनुसार विसं. २०५४–५५ तिर सार्वजनिक भएको गीतले पाँच–छ वर्षसम्म नेपाली सङ्गीत बजारमा उच्च स्थान कायम राखेको आचार्यले बताउनुभयो । त्यतिबेलाका अन्य चर्चित गीतहरूलाई समेत पछि पार्दै यो गीत श्रोतामाझ लोकप्रिय बनेको थियो ।
आचार्यले गीतले युवापुस्तामा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अहिले पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा यो गीतमा नृत्य र प्रस्तुति हुने गरेको बताउनुभयो । छड्के सलाम भन्ने वाक्यांश नै युवाहरूबिच लोकप्रिय बनेको उहाँको भनाइ छ ।
उहाँले गीतसँग जोडिएका आफ्ना व्यक्तिगत अनुभवहरू पनि उहाँले सुनाउनुभयो । विभिन्न स्थानमा श्रोताहरूले गीत र कविता सुनेर देखाएको सम्मान आफ्नो लागि ठुलो प्रेरणा भएको उहाँले बताउनुभयो ।
आचार्यका अनुसार, सिर्जना तब सफल हुन्छ जब त्यो श्रोतासँग भावनात्मक रूपमा जोडिन्छ, र ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई’ गीत त्यसैको उदाहरण हो । –नेपाल न्युज बैङ्क