नेपालमा वास्तविक गणतन्त्र ल्याउन अझै बाँकी छ : डा.गोपीलाल न्यौपाने

8
  • पार्वती भण्डारी

काठमाडौँ, १५ जेठ । राजनीतिक विश्लेषक डा.गोपीलाल न्यौपानेले गणतन्त्र भनेको केवल व्यवस्था परिवर्तन मात्र नभइ जनताको पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्ने माध्यम भएको बताउनुभएको छ । डा.न्यौपानेले गणतन्त्रमा जनताले बोल्ने स्वतन्त्रता (स्पिच फ्रिडम), आर्थिक स्वतन्त्रता (इकोनोमिक फ्रिडम), जीवन रक्षाको अधिकार र सम्पत्तिको अधिकार (प्रोपर्टी राइट) पाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणतन्त्र भनेको जनताको फ्रिडमको व्यवस्था हो । मान्छेलाई स्पिच फ्रिडम हुन्छ, इकोनोमिक फ्रिडम हुन्छ, लाइफलाई डिफेन्सको राइट हुन्छ र प्रोपर्टी राइट हुनुपर्छ । जुन नेपालमा अहिले छैन् । सरकारले चाह्यो भने जसको जग्गा पनि सिज गर्न सक्छ । प्रोपर्टी राइट भनेको कसैले पनि सम्पत्ति खोस्न नपाउने अधिकार हो, सरकारले पनि पाउँदैन। प्रोपर्टी राइट हामीसँग छैन ।” नेपालमा यी कुनैपनि अधिकार सुरक्षित नभएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार सरकारले चाह्यो जोसुकैको जग्गा वा सम्पत्ति पनि जफत गर्न सक्ने अवस्था हुनु भनेको सम्पत्तिको अधिकार नहुनु हो । अहिले ‘आइडियाको सप्रेसन’ (विचारको दमन) भइरहेको छ । कसैले फरक विचार राख्ने बित्तिकै उसलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट तथानाम गाली गरेर विचारलाई नै निमोठ्ने काम भइरहेको छ ।

उहाँले भन्नुभयो, “गणतन्त्रमा स्पिच फ्रिडमको राइट प्राप्त हुनुपर्छ । यतिबेला स्पिच फ्रिडम आइडियाको सप्रेसन हुन थालेको छ । विभिन्न माध्यममा आएका विषयलाई अर्को आइडिया नआओस् भनेर मान्छेहरूले गाली गर्छन् । गणतन्त्रमा आइडियाको सप्रेसन गर्न मिल्दैन । कानुनी शासन हुनुपर्छ ।”

गणतन्त्रमा कानुनी शासन हुनुपर्नेमा व्यवसायहरू सुरक्षित नभएको र सधैँ आतङ्कित हुनुपर्ने अवस्थाले गणतन्त्रका आधारभूत मान्यताहरू नै नेपालमा स्थापित नभएको उहाँले बताउनुभयो । त्यसैले साँचो गणतन्त्र ल्याउन अझै बाँकी रहेको उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक मान्छेले जुन व्यवसाय गर्न चाहन्छ, जसलाई मान्छेले जसको सर्भिस किन्छन्, जसको गुड्स किन्छन्, त्यो व्यवसाय प्रोटेक्टेड हुनुपर्छ, सुरक्षित हुनुपर्छ । कानुनले त्यसलाई सुरक्षा दिनुपर्छ । नेपालमा व्यवसाय सुरक्षित छैन । व्यवसायहरू आतङ्कित हुने स्थिति छ । त्यसैले गणतन्त्र आएपनि आधारभूत मान्यताहरू अहिले छैन । त्यसैले गणतन्त्र ल्याउन बाँकी छ ।”

नेपाली समाजले तत्काल रोजगारी, आर्थिक उन्नति र गरिबीबाट मुक्ति चाहेको छ । सम्पन्न देशका नागरिकले जस्तै नेपालीले पनि विश्वमा मान, सान र इज्जत खोजेका छन् । नेपाली जनता आफ्नै देशभित्र काम गर्न चाहन्छन् । जबसम्म राज्यले यी आधारभूत आवश्यकताहरू पूरा गर्न सक्दैन, तबसम्म गणतन्त्र सफल सक्दैन ।

उहाँले भन्नुभयो, “नेपाली समाजमा इम्प्लोयमेन्ट चाहिएको छ, आर्थिक उन्नति चाहिएको छ, रोजगारी चाहिएको छ, गरिबी हट्नु परेको छ, र नेपालीहरूको मान र सान बढ्नुपरेको छ । सम्पन्न देशका नागरिकहरूले जुन मान, इज्जत र सम्मान पाउँछन्, त्यो सम्मान नेपाली जनताले पनि खोजेका छन् । त्यो गणतन्त्रले दिनुपर्छ ।”

उहाँले लामो समयसम्म विभिन्न वंश (मल्ल, लिच्छवि, गोपाल, ठकुरी र शाह)ले शासन गरेको नेपालमा अब फेरि राजतन्त्र वा शाह वंश फर्किने सम्भावना नरहेको बताउनुभयो । उहाँले नागरिकले स्वतन्त्रताको स्वाद चाखिसकेपछि फेरि एउटै परिवारमा राज्यको सम्पूर्ण अधिकार केन्द्रित गर्ने कुरा असम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा लामो समयदेखि विभिन्न किसिमका राजाहरूले नेपालमा शासन गर्दै आए । कहिले मल्ल, कहिले लिच्छवि, कहिले गोपाल वंशी त कहिले ठकुरीहरूले राज गरे । अनेक किसिमका मान्छेहरूले शासन गरिरहेका छन् । किसिम किसिमका परिवारले शासन गर्दै आए र आफूलाई राजा भन्दै एउटा शासनलाई अगाडि बढाए ।”

नेपालमा शाह वंशीय राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै उहाँले समाज सधैँ अगाडि बढ्ने भएकाले पुरानो शासन व्यवस्थामा फर्किन नसकिने तर्क गर्नुभयो ।

पछिल्लो समय केही समूहले फेरि शाहहरूको शासन ल्याउनुपर्ने आवाज उठाइरहेको उल्लेख गर्दै उहाँले नेपालमा अहिले त्यो सम्भव नभएकाले समाज भनेको अगाडि बढ्नुपर्छ, पछाडि फर्किनु नहुने बताउनुभयो ।

उहाँका अनुसार लोकतन्त्र र गणतन्त्र ‘अटो करेक्सन’ अर्थात् आत्मसुधार गर्ने व्यवस्था हो । उहाँले भारत र अमेरिकाको उदाहरण दिँदै लोकतान्त्रिक प्रणाली दीर्घकालीन रूपमा टिकिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतमा लोकतन्त्र स्थापना भएको झन्डै एकसय वर्ष पुग्न लाग्यो । अमेरिकामा करिब ३०० वर्ष हुनलाग्यो । तर, उनीहरूले लोकतान्त्रिक व्यवस्था फालेनन् । किनभने लोकतन्त्रले आफूलाई समयअनुसार सुधार गर्दै लैजान्छ ।”

उहाँले दुई तिहाइ बहुमत प्राप्त गर्दैमा संविधान संशोधन गरेर राजतन्त्र ल्याउन वा अधिनायकवाद लाद्न नसकिने बताउनुभयो । विगतमा केपी शर्मा ओलीको दुई तिहाइको सरकारसमेत तासको महलजस्तै ढलेको उदाहरण दिँदै उहाँले नेपालमा सरकार फाल्न जनतालाई कुनै गाह्रो नरहेको स्मरण गराउनुभयो ।

कालो चस्मा र कालो कोट लगाएर आफूलाई ‘राजा महेन्द्र’ जस्तै शक्तिशाली ठान्ने वर्तमान नेतृत्वको प्रवृत्तिलाई उहाँले ‘ह्यालुसिनेसन’ रहेको बताउनुभयो ।

ज्ञानेन्द्र शाहले त अभ्यास गर्दा नसकेको अवस्थामा नयाँ महेन्द्र बन्ने दिवास्वप्न नदेख्न उहाँले सुझाव दिनुभयो । हिजो कांग्रेस र कम्युनिस्टको अकर्मण्यताका कारण निराश भएका जनताले विद्रोहस्वरूप अहिलेको शक्तिलाई भोट दिए पनि, त्यसलाई ‘ब्ल्याङ्क चेक’ सम्झेर राज्यका सबै निकायलाई पङ्गु बनाउन खोजे त्यसको महँगो मूल्य चुकाउनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री भनेको देशको कार्यकारी प्रमुख हो, उसले नबोलिकन बस्न मिल्दैन । पाँच वर्षमा देशलाई कहाँ पुर्‍याउने हो, त्यसको स्पष्ट ‘रोडम्याप’ जनतालाई बताउनुपर्छ । गोप्य तरिकाले मान्छे समात्ने र सुकुमबासीका टहरा भत्काउँदै हिँड्ने कार्य राजनीति नभएर आतंकवादी गतिविधि भएको उहाँको आरोप छ ।

उदार लोकतन्त्रमा विश्वास राख्नेहरूका लागि जनता रुवाउने र घरबारविहीन बनाउने कार्य आतंककारीभन्दा कम नहुने र यस्तो सरकार आतंककारीको सूचीमै पर्ने उहाँले बताउनुभयो ।

नेपालमा काम गर्ने दिनभन्दा बिदाका दिन धेरै हुनु विकासको सबैभन्दा ठुलो बाधक रहेको उहाँको बताउनुभयो । वर्षको ३६५ दिनमध्ये शनिबार, आइतबार, चाडपर्व, प्रदेशका बिदा, सुत्केरी र घर बिदा गरेर झन्डै २४० दिन बिदा हुने र जम्मा १२० दिन मात्र काम गरेर देश बन्न नसक्ने उहाँले बताउनुभयो ।

युरोपको सिको गरेर दुई दिन बिदा दिने तर युरोपमा गएर नेपालीले २४सै घन्टा भाडा माझ्ने गरेको यथार्थ औँल्याउँदै उहाँले नेपालमा तत्काल सबै अनावश्यक बिदा खारेज गर्नुपर्ने माग गर्नुभयो ।

देशमा बिजुली र सुरक्षाको कुनै समस्या नभएको हुँदा काठमाडौँ, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज र बुटवलजस्ता ठुला सहरहरूलाई २४सै घन्टा खुला राख्नुपर्ने उहाँको सुझाव छ ।

यसले व्यापार र रोजगारी दुई गुणाले वृद्धि हुने बताउनुभयो । बैङ्कमा थुप्रिएर बसेको अथाह पुँजी उद्योगधन्दा खोल्न चाहने नागरिकलाई सहज रूपमा उपलब्ध गराउनुपर्ने र ट्याक्स छलेको भरमा व्यापारीलाई जेल हाल्नुको साटो कर तिराएर व्यापार गर्ने वातावरण दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले सेल्टरमा राखेर दिने १५ हजार रुपैयाँको भिख जनतालाई नचाहिएको, बरु उनीहरूलाई काम गर्ने वातावरण र सम्मान चाहिएको बताउनुभयो । डोजर लगाएर विस्थापित गरिएका सबै नागरिकसँग सरकारले तत्काल माफी माग्नुपर्ने, उनीहरूलाई जग्गा र प्रविधि दिनुपर्ने तथा १० वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा बैंकबाट ऋण उपलब्ध गराएर गरिखाने वातावरण बनाउनुपर्ने उहाँको माग छ ।

भारतले चिनी आयात रोकेका कारण नेपालमा चिनी मिलहरू बन्द भएको र उखु किसानहरू सडकमा आउनुपरेको अवस्था सरकारले देखे पनि समाधान दिन नसकेको उहाँले बताउनुभयो ।

अर्कोतर्फ, सानो र गरिब देशको प्रधानमन्त्री भएर पनि डोनाल्ड ट्रम्प वा ठुला देशका प्रमुखसँग मात्र कुरा गर्छु भन्ने अहंकारका कारण नेपाल आएका अमेरिकी र भारतीय विशेष दूतहरूसँग भेट्न आनाकानी गर्नु कूटनीतिक विपत्ति भएको उहाँले बताउनुभयो । चीन र भारतजस्ता विशाल र विकसित छिमेकीको बिचमा कूटनीतिक सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

जनताको हितमा काम नगर्ने, सधैँ डोजर चलाएर आतंकित पार्ने र अहंकार पाल्ने हो भने यो सरकार पाँच महिना वा रास्वपाको आगामी महाधिवेशनसम्म पनि नटिक्ने उहाँको दाबी छ ।

नेपालमा सरकार फाल्न कुनै ठुलो कुरा नभएको भन्दै उहाँले शासकहरूलाई जनतासँग निहुँ नखोज्न चेतावनी दिनुभयो। राजतन्त्र, कांग्रेस–कम्युनिस्ट, बालेनतन्त्रस जनताले केवल सुख, शान्ति, रोजगारी र सम्पत्तिको सुरक्षा खोजेका हुन् । यदि यी आधारभूत कुराहरू दिन सकिएन भने नेपाली जनता फेरि अर्को विद्रोह गर्न र नयाँ विकल्प खोज्न तयार रहेको समेत बताउनुभयो । -नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...