- सन्तोषी रावल
काठमाडौँ, १५ जेठ । गणतन्त्रलाई नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको नेकपा (एमाले)का केन्द्रीय सदस्य नरेश रोकायाले बताउनुभएको छ ।
उहाँले १०४ वर्षे राणा शासन र २३९ वर्षसम्म कायम राजतन्त्रको निरंकुशताबाट पिल्सिएका निमुखा जनताले बल्ल अधिकार प्राप्त गरेको उल्लेख गर्दै यो व्यवस्थाप्रति आफूलाई निकै गौरव र खुसी रहेको बताउनुभयो ।
पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन क्याम्पस)मा अध्ययनरत रहँदा आफू विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा रहेको स्मरण गर्दै रोकायाले २०६१ माघ १९ को शाही ‘कू’ विरुद्ध आफूहरूले कडा प्रतिरोध गरेको बताउनुभयो । तत्कालीन शाही नेपाली सेनाको दमन र गोलीबारीका बिच पनि आफूहरू पछि नहटेको र कयौँ सहकर्मीहरू घाइते भएको उहाँले सुनाउनुभयो ।
आफू राजनीतिक चेतना भएको परिवारमा हुर्केका कारण आन्दोलनमा लाग्न सहज भएको बताउँदै उहाँले पिएन क्याम्पसलाई क्रान्तिकारी योद्धाहरू जन्माउने पवित्र तपोभूमि मान्ने गर्नुभएको छ । विद्यार्थीहरू लहलहैमा लागेर नभइ परिवर्तनको दृढ अठोटका साथ आन्दोलनमा होमिएको रोकायाको भनाइ छ ।
आन्दोलनका क्रममा सहिद भीमसेन दाहालले आफ्नो अगाडि नै गोली खाएर ज्यान गुमाएको पीडादायी घटनालाई उहाँले कहिल्यै बिर्सन नसक्ने बताउनुभयो । सँगै आन्दोलनमा रहेका साथीको अकालमै ज्यान जानु र घाइतेहरूलाई हस्पिटल पुर्याउँदा पनि बचाउन नसक्नुको पीडा आन्दोलनको अविस्मरणीय पक्ष रहेको उहाँले उल्लेख गर्नुभयो ।
गणतन्त्र स्थापनापछिको कालखण्डमा माओवादीले मच्चाएको आतंकको विरोधमा आफूहरूले प्रतिकार गरेको रोकायाले स्पष्ट पार्नुभयो । सार्वजनिक स्थल र कलेज कब्जा गर्ने तथा नागरिकलाई आतंकित पार्ने कार्यविरुद्ध उभिएकै कारण आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको र त्यसपछि हेलिकोप्टरबाट उद्धार गरी उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।
ऐतिहासिक संघर्षबाट प्राप्त गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै दलले लगानी गरे पनि, अहिलेको शासन व्यवस्थाले जनतालाई सुशासन र परिवर्तनको वास्तविक अनुभूति दिन नसक्दा उहाँ दुःखी हुनुहुन्छ । उहाँले अहिलेको ‘जेनजी’ पुस्ताको आक्रोशलाई राज्यको सेवा सुविधा र न्याय वितरणमा भएको कमजोरीको परिणामका रूपमा अर्थ्याउनुभएको छ ।
रोकायाले नेपालमा शासन सत्ता सञ्चालन गर्ने निकायहरूलाई जनताको आवाज सुन्न र उनीहरूको भविष्यका लागि उचित निर्णय लिन आग्रह गर्नुभयो । गणतन्त्रले सबैभन्दा बढी अधिकार भुइँतहका जनतालाई दिलाउनुपर्नेमा जोड दिँदै उहाँले नागरिकले अधिकार सम्पन्न भएको अनुभूति गर्न पाउनुपर्ने शुभकामना व्यक्त गर्नुभयो । –नेपाल न्युज बैङ्क