नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी

2

काठमाडौँ, ६ जेठ । पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण र कोभिड–१९ महामारीपछिको बदलिँदो स्वास्थ्य परिस्थितिका कारण बालबालिकाहरूमा भाइरल इन्फेक्सनको जोखिम तीव्र रूपमा बढेको पाइएको छ ।

जाडो मौसम सकिएर गर्मी र वर्षायाम सुरू हुने यो सङ्क्रमणकालीन समयमा बालबालिकाहरू अत्यधिक बिरामी पर्ने गरेका छन् । अरिन अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा.सुमित अधिकारीका अनुसार यो सिजनमा विशेषगरी बालबालिकामा इन्फ्लुएन्जा, प्याराइन्फ्लुएन्जा, एडिनो भाइरस र राइनो भाइरस जस्ता भाइरल ज्वरो र सङ्क्रमणहरू बालबालिकामा द्रुत गतिमा फैलिरहेका छन् ।

उहाँका अनुसार अहिलेको समय बालबालिकाको बिरामी हुने ‘पिक सिजन’ हो । एक बच्चामा सङ्क्रमण भएपछि वरिपरिका अन्य बच्चामा पनि छिट्टै सर्ने भएकाले अभिभावक विशेष सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले भनेको जाडो मौसमबाट गर्मी मौसम सुरू हुने समय हो । यो बेलामा एकदम धेरै नै बच्चाहरु बिरामी हुने पिकको सिजन पनि हो । यस्तो बेला धेरैजसो भाइरल फिभर हुन्छ । भाइरल इन्फेक्सन हुन्छ ।”

त्यस्तै, नवजात शिशुमा पनि विभिन्न स्वास्थ्य समस्या बढिरहेको डा.अधिकारीको भनाइ छ । समयभन्दा अगाडि जन्मिने अर्थात् सात वा आठ महिनामै जन्मिने शिशुहरूमा श्वासप्रश्वासको समस्या बढी देखिने उहाँले बताउनुभयो । यस्ता शिशुलाई लामो समयसम्म आइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था आउने गरेको उहाँको भनाइ छ ।

“नवजात शिशुहरूमा देखिने समस्या डेलिभरीदेखि नै सुरू भएको हुन सक्छ । बच्चा कति महिनामा जन्मिएको हो- सात, आठ वा नौ महिनामा-त्यसले पनि विभिन्न रोग र समस्यामा असर पार्छ । समयभन्दा दुई–तीन महिना अगाडि अर्थात् सात महिनामै जन्मिएका बच्चाहरूमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्या धेरै देखिन्छ । यस्तो अवस्थामा उनीहरूलाई लामो समयसम्म एनआइसियू (नियोनेटल आइसियू)मा राखेर उपचार गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार केही नवजात शिशु जन्मिएपछि ढिलो रुने समस्या पनि देखिन्छ, जसलाई चिकित्सकीय भाषामा ‘बर्थ एस्फिक्सिया’ भनिन्छ । साथै नवजात शिशुमा जन्डिसको पनि समस्या भएको उनले बताउनुभयो । जन्डिसको समस्या सामान्य भएपनि विशेष ध्यान पुर्‍याउनु पर्ने डा.अधिकारीले बताउनुभयो ।

“धेरैजसो जन्डिस सामान्य प्रकृतिको हुन्छ, तर केहीमा गम्भीर अवस्था पनि देखिन सक्छ,” उहाँले भन्नुभयो ।

डा.अधिकारीले गर्भावस्थामा आमाको स्वास्थ्य स्याहारमा कमी, संक्रमण तथा पोषण अभावका कारण नवजात शिशुमा ‘नियोनेटल सेप्सिस’ जस्ता संक्रमणसमेत देखिने गरेको बताउनुभयो । उहाँले गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, सरसफाइ तथा नवजात शिशुको विशेष हेरचाहमा ध्यान दिन आग्रह गर्नुभयो ।

डा.अधिकारीले पछिल्ला वर्षहरूमा नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको बताउनुभयो । उहाँले समयमै उपचार, गर्भावस्थादेखिको नियमित स्वास्थ्य परीक्षण, आधुनिक नवजात सघन उपचार सेवा (एनआइसियू) तथा जनचेतनाको वृद्धि यसका मुख्य कारण रहेको बताउनुभयो ।

उहाँका अनुसार अहिले गर्भवती महिलाहरूले गर्भधारण गरेदेखि नै नियमित स्वास्थ्य परीक्षण, आवश्यक भ्याक्सिन, औषधि तथा चिकित्सकीय परामर्श पाइरहेका छन् । “पहिलाको तुलनामा अहिले आमाहरू धेरै सचेत हुनुहुन्छ । कुन समयमा अस्पताल जानुपर्छ, के–कस्ता समस्या आउन सक्छन् भन्नेबारे पहिले नै जानकारी हुने भएकाले समयमै उपचार सम्भव भएको छ,” उहाँले भन्नुभयो ।

डा.अधिकारीका अनुसार विगतमा यातायातको अभाव, सीमित अस्पताल तथा स्वास्थ्य सेवाको पहुँच कम भएका कारण धेरै गर्भवती महिलाहरू समयमै अस्पताल पुग्न सक्दैनथे । तर, अहिले स्वास्थ्य संस्था र यातायात सेवाको पहुँच बढेकाले प्रसूति तथा नवजात शिशु उपचार सहज बनेको छ ।

पहिलाको तुलनामा नेपालमा नवजात शिशु मृत्युदर निकै घटेको डा.अधिकारी बताउनुहुन्छ । यसको मुख्य कारण गर्भावस्थादेखि नै आमालाई नियमित स्वास्थ्य परीक्षण, खोप, उपचार र परामर्श उपलब्ध हुनु हो ।

उहाँले नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू)को सेवामा आएको प्रगतिले पनि मृत्युदर घटाउन ठुलो भूमिका खेलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हामीले अत्यन्तै कम तौल भएका, करिब ७५० ग्राम तौलका सात महिनामै जन्मिएका शिशुलाई समेत बचाउन सफल भइरहेका छौँ ।”

विशेषगरी कान्ति बाल अस्पतालमा विगत १५–२० वर्षको तुलनामा अत्याधुनिक नवजात उपचार सेवा विस्तार भएको उल्लेख गर्दै उहाँले बच्चालाई न्यानो राख्ने प्रविधि, श्वासप्रश्वास व्यवस्थापन, मुटु तथा अन्य जटिल समस्याको उपचारमा उल्लेखनीय सुधार आएको बताउनुभयो ।

उहाँका अनुसार अहिले बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन)सहितको विशेषज्ञ टोली उपलब्ध भएकाले जटिल अवस्थाका नवजात शिशुको उपचार पनि सहज बन्दै गएको छ । “समयमै उपचार, आधुनिक उपकरण, प्रशिक्षित जनशक्ति र आमाहरूमा बढ्दो स्वास्थ्य सचेतनाका कारण नेपालमा नवजात शिशु मृत्युदर पहिलेको तुलनामा धेरै घटेको छ,” डा.अधिकारीले भन्नुभयो ।

डा.अधिकारीले जन्मपछिको पहिलो ६ महिना बच्चालाई आमाको दुध मात्र खुवाउनुपर्नेमा जोड दिनुभयो । “हामीले ‘एक्सक्लुसिभ ब्रेस्टफिडिङ फर सिक्स मन्थ्स’ भनेर किन जोड दिन्छौँ भने, बच्चा जन्मेपछि पहिलो ६ महिना अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण समय हुन्छ,” डा.अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार यो अवधिमा आमाको दुधमै बच्चालाई आवश्यक पर्ने अधिकांश पोषक तत्त्व, भिटामिन तथा न्युट्रिएन्ट्स पर्याप्त मात्रामा पाइन्छन् । “भिटामिन डी बाहेकका लगभग सबै आवश्यक तत्त्व आमाको दुधबाट प्राप्त हुन्छन् । भिटामिन डी भने हामीले सप्लिमेन्टका रूपमा बच्चालाई एक वर्षसम्म दिइरहेका हुन्छौँ,” उहाँले भन्नुभयो ।

डा.अधिकारीका अनुसार आमाको दुध केवल पोषणको स्रोत मात्र होइन, बच्चाको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने महत्त्वपूर्ण माध्यम पनि हो ।

“आमाको दूधमा इम्युनोग्लोबुलिन, विशेषगरी आइजीए हुन्छ, जसले बच्चाको शरीरमा डिफेन्स मेकानिजम विकास गर्न मदत गर्छ । बच्चा बढ्दै जाँदा यही प्रक्रियाले इम्युनिटी बुस्ट हुँदै जान्छ,” उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले स्तनपानले आमा र बच्चाबिचको भावनात्मक सम्बन्धलाई पनि अझ बलियो बनाउने बताउनुभयो । उहाँले भन्नुभयो,“ब्रेस्टफिडिङले आमा र बच्चाबीचको माया, आत्मीयता र सम्बन्धलाई गहिरो बनाउँछ ।”

उहाँका अनुसार नियमित स्तनपानले भविष्यमा बच्चाको रोगसँग लड्ने क्षमता बढाउने भएकाले यसलाई विशेष महत्त्व दिइएको हो । “त्यही भएर हामीले एक्सक्लुसिभ ब्रेस्टफिडिङलाई यति धेरै प्राथमिकता दिएका हौँ । यदि आमाको दुध पर्याप्त आउँछ भने सकेसम्म बच्चालाई पहिलो ६ महिना केवल आमाको दुध मात्र खुवाउनुपर्छ,” उहाँले सुझाव दिनुभयो ।

डा.अधिकारीले ‘कंगारु केयर’ पनि बच्चाको स्वास्थ्यका लागि उत्तिकै महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । “एक्सक्लुसिभ ब्रेस्टफिडिङसँगै कंगारु केयर पनि बच्चाको शारीरिक र मानसिक विकासका लागि निकै महत्त्वपूर्ण पक्ष हो,” उहाँले भन्नुभयो ।

अहिलेको डिजिटल युगमा अभिभावक व्यस्त हुने र बालबालिकालाई मोबाइलमा अल्झाउने प्रवृत्ति बढेको भन्दै डा.अधिकारीले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँका अनुसार अत्यधिक मोबाइल प्रयोगले बालबालिकामा बोलाइ ढिलो हुने, सामाजिक अन्तरक्रिया कम हुने, आँखासम्बन्धी समस्या बढ्ने, खानपान बिग्रने र कब्जियतजस्ता समस्या देखिने गरेका छन् । त्यसैले अभिभावकले दिनमा कम्तीमा केही समय बालबालिकासँग प्रत्यक्ष संवाद गर्न, सँगै खाना खान र मोबाइलबाट टाढा राखेर समय बिताउनुपर्ने उहाँको सुझाव छ ।

बालरोग विशेषज्ञ डा.अधिकारीले सरकारी अस्पतालहरूमा बाल स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको बताउनुभयो । विशेषगरी मध्यमवर्गीय तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गर्दै सरकारी अस्पतालहरूले सहज, सुलभ र प्रभावकारी सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । त्यसका अलावा निजी क्षेत्रका अस्पतालहरु पनि सबै नागरिकहरुका लागि सहज बन्दै गएको उल्लेख गर्दै अरिन अस्पतालको सेवा नेपालका लागि नमुना सावित हुने पनि बताउनुभयो ।

उहाँले आफू साँझ ५ देखि ६ बजेसम्म अरिन अस्पतालमा सेवा दिइरहेको जानकारी दिँदै आवश्यक परे अन्य विभागका विशेषज्ञसँग पनि तत्काल समन्वय गरेर उपचार उपलब्ध गराइने बताउनुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...