४० लाख मूल्य बराबरको अवैध समानसहित दुई जना पक्राउ

12

सिरहा, ३ जेठ । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठुलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाका अनुसार विशेष सुराकीका आधारमा गण मुख्यालयबाट खटिएको ३५ सदस्यीय टोलीले शनिबार राति करिब ९ बजे स१ख ५३५ नम्बरको टाटा टुटोन गाडीलाई शङ्कास्पद अवस्थामा रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा गाडीमा लुकाइछिपाई राखिएको कस्मेटिक सामग्री, मन्जन (टुथपेस्ट) तथा ओखर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र गाडीको अनुमानित बजार मूल्य करिब ४० लाख रूपैयाँ रहेको बताइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ निवासी अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३९ वर्षीय आनन्द यादवलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै व्यक्ति, बरामद सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने यस्ता अवैध गतिविधि र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप तीव्र बनाएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...