भेरी नदीमा छ पुलको काम अझै अलपत्र

8
  • हेमन्त केसी

सुर्खेत, २९ वैशाख । सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडकखण्डको ११८ किलोमिटरमध्ये १०३ किलोमिटर सडकको ट्रयाक खालेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो ।

सोही खण्डमा बाँकी रहेका १४ पुल निर्माण गर्नका लागि राष्ट्रिय योजनाले अर्थ मन्त्रालयले मागेको सहमति दिएको छ । सडक हस्तान्तरण गरेको सात वर्षपछि यो सडक खण्डको ५६ किमी कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । बाँकी ठाउँमा काम गर्न ठेक्का लागे पनि काम अझै सुरू भएको छैन ।

जाजरकोटको नलगाड–१२ बाट डोल्पाको दुनैसम्मको ६२ किलोमिटर निर्माण बाँकी रहेका १४ वटा पुल निर्माण गर्न योजना आयोगले सहमति दिएको छ । यही सडक खण्डको जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म १४ वटा पुल निर्माण गर्नुपर्ने भन्दै लामो समयदेखि फाइल मन्त्रालय हुँदै योजना आयोग पुगेको थियो । स्रोत सुनिश्चित भएसँगै अब अन्य कामहरू सुरु हुने योजना प्रमुख नरेश केसरीले जानकारी दिनुभयो । तीस मिटरभन्दा कमको पुलको डिजाइन स्वीकृत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले गर्दछ । त्योभन्दा माथिको लागि माथिल्लो निकायमा पढाउने गरिन्छ ।

भेरी कोरिडोरभित्रका फूलबारीखोला पुल, चिसापानीखोला पुल, खहरेखोला, घट्टेखोला, मनकाखोला, रिजिगार, उसुमखोला, कर्पगाड, खदाङ, खदाङभेरी पुल, चुँगाड, त्रिपुराकोट, गल्ली गाड, खोरखोलामा पुल निर्माण गर्न सहमति दिइएको हो तर यही सडकखण्डमा छ वर्षदेखि पाँचवटा पक्की पुल अलपत्र पर्दै आएका छन् ।

हाल यो सडकखण्डको नामकरण भेरी कोरिडोर सडक योजना राखिएको छ । यो कोरिडोरको कुल लम्बाइ ३१० किमी रहेको छ । जाजरकोट खलङ्गाको पासागाडदेखि नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्रेको काम यति बिल्ड्रसमार्फत भइरहेको छ ।

सुर्खेतबाट डोल्पाको अन्तिम विन्दु अर्थात् नेपालको चीनको सिमाना मरिमसम्म ३१० किमी रहेको भेरी कोरिडोर सडक योजना हाल जाजरकोटको अन्तिम विन्दु तल्लुसम्म काम भइरहेको छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पाको अन्तिम विन्दु मरिमअर्थात् चीनको सिमानासम्म पुगेर यो सडक पूरा हुन्छ । भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको योजना प्रमुख केसरीले बताउनुभयो ।

कहाँकहाँ अलपत्र छन् त पुल ?
भेरी कोरिडोरमा (जाजरकोट–डोल्पा) छ वर्षदेखि अलपत्र परेका पुल कहिले निर्माण हुने हो कुनै अत्तोपत्तो छैन । छ वर्ष अगाडि लागेको पक्की पुलको ठेक्काको काम नहुँदा यस क्षेत्रका नेताले आलोचित हुनुपरेको छ । भेरी कोरिडोर जाजरकोट–डोल्पाको दुनै सडकखण्डको ११८ किमी सडकखण्डको ५६ किमीभित्र सडक कालोपत्रेको काम अन्तिम चरणमा पुर्‍याएपछि सँगसँगै लागेको पुलको ठेक्का भने कुनै काम भएको छैन । योजना प्रमुख केशरीका अनुसार पाँचमध्ये तीन वटा अर्कोलाई निर्माण गर्न दिइने र बाँकी दुई क्याराभानले नै निर्माण अन्तिम सहमति हुन लागेको बताउनुभयो ।

उक्त क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते जाजरकोटको नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो । यो १८ करोड ४३ लाख ४३ हजार रूपैयाँमा ठेक्का लिइएको थियो । त्यस्तै, उक्त जेभीले सोही मितिमा भेरी कोरिडोरकै जाजरकोटको नलगाड नगरपालिका–९ को त्रात्रखोला, वडा–८ को मैदेखोला, वडा–११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यो दोस्रो ठेक्का १३ करोड ५४ लाख रूपैयाँमा यो ठेक्का सम्झौता भएको थियो ।

यी पुलहरू भेरी कोरिडोरका लाइफलाइनका रूपमा रहेका छन् । त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लुस्थित भेरी नदीको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडको पुल निर्माण कार्य सुरु भएको छ । खदाङको पुल विवादका कारण अझै सुरु हुन सकेको छैन । एयपी एमआरपी पुलचोक जेभीले ठेक्का लिएको छ । रुकुम पश्चिमको आठबीसकोटको पिपलचौरस्थित छहरेखोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुलको काम करिब पूरा भएको छ ।

हाल नेपालगञ्ज, सुर्खेत तथा काठमाडौँबाट सिधैँ डोल्पाको सदरमुकाममा यातायातका साधन पुग्ने गरेका छन् । जाजरकोटको तल्लुसम्म कालोपत्रे गरेको सडकमा र बाँकी रुकुम पश्चिम हुँदै डोल्पाको सदरमुकामसम्म नेपाली सेनाले निर्माण गरेको कच्ची सडकमा गुड्दै डोल्पाको सदरमुकाम दुनैसम्म सवारीसाधन पुग्ने गर्छन् । पछिल्लो समय डोल्पामा रहेका पर्यटकीयस्थलको भ्रमणमा जाने पर्यटकको चाप ठुलो मात्रामा रहेको पाइन्छ ।

जाजरकोटको तल्लुदेखि डोल्पाको त्रिरुपाकोटसम्मको सडकमा कालोपत्रे गर्नका लागि ठेक्का लागेको दुई ठेक्कामा एउटाको काम सुरू भए पनि अर्को अझै सुरु हुन सकेको छैन । योजना प्रमुख केशरीले दिएको जानकारीअनुसार ७४ करोड रूपैयाँमा उक्त ठेक्का लागेको छ । क्याब निर्माण, जावलाखेलले ठेक्का पाएको छ । बयालीस किमि सडकमा कालोपत्रे गर्नका लागि ठेक्का लागेको हो । बाँकी छलगाडबाट मरिमसम्म १२० किमी सडक रहेको छ । बयालीस किमी कालोपत्र गर्नका लागि गत असोज २ गते सम्झौता भएको छ भने २०८५ असोज १ गतेसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

दुनै–लासिक्याप सडकखण्ड निर्माणमा ढिलाइ
भेरी कोरिडोरकै डोल्पाको सदरमुकाम दुनै–लासिक्याप खण्डमा ठेक्काको काम भइरहेको छ । दुनै–लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुगेको भन्दै आलोचना चर्को भएपछि कामले गति लिएको हो । डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको १०० किमीमध्ये २५ किमि कच्ची सडक कटान गर्नुपर्ने छ ।

दुनै–लासिक्याप खण्डको काम छिटो भएमा सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले जिम्मेवारी लिएको छ । अहिले २५ किमि सडकखण्डभित्र कटानको कामलाई तीव्रता दिइएको छ । माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किमीमध्ये नेपाली सेनाले ४० किमि कटानको काम गरिसकेको आयोजनाले जनाएको छ ।

दुनै–लासिक्याप खण्ड निर्माण सम्पन्न गर्न सूर्य–श्रेया–शान्ति देवी जेभीको म्याद २०८२ पुस १६ गतेसम्म म्याद थियो । २०७८ चैत १७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तल्लो सडक निर्माण नगरी माथिल्लो खण्ड निर्माणमा सेनाले आवश्यक उपकरण लिन नसक्ने भएकाले तल्लो खण्डको काम छिटो सक्नुपर्ने बाध्यता रहेको छ ।

सेनाले निर्माण गर्ने खण्डभन्दा दुनैबाट लासिक्यामअन्तर्गतको सडक यथाशीघ्र निर्माण भएमा माथिल्लो सडक निर्माण गर्न सहज हुने पूर्वमन्त्री धनबहादुर बुढाले बताउनुभयो । भेरी कोरिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहन सेवामा सजिलो हुने भएकाले छिन्चु–जाजरकोट–डोल्पा त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको उहाँको भनाइ छ ।

नेपाली सेनाले भेरी कोरिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण २०६५ सालमा सुरू गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले ११८ किमी सडक २०७६ सालमा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । दुनैबाट चीनको सिमामा रहेको मरिम नाकासम्मको एक सय किमीमध्ये नेपालतर्फ ४० किमि निर्माण भइसकेको छ भने दुनैबाट धोसम्म निर्माण हुन बाँकी छ ।

देशको उत्तरी सीमासँग जोडिएको माथिल्लो डोल्पाका तीन गाउँपालिकाका नागरिकलाई नेपालतर्फ सडक सुविधा नहुँदा जिल्ला सदरमुकाम दुनैसम्म पुग्न हप्ता दिनसम्म पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । दुनैबाट धोसम्मको ५० किमि खण्डमा पर्ने चट्टान बिस्फोट गराउनुपर्ने आयोजनाको भनाइ छ । डोल्पा जडीबुटीको भण्डार भएकाले त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशसहित मुलुकको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...