पोर्चुगल, १४ वैशाख । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ४२ वर्षीय धरमराज भण्डारी यहाँ पहिलो नेपाली अग्निनियन्त्रक बन्न सफल हुनुभएको हो । करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम पूरा गरेपछि उहाँ स्वयंसेवी अग्निनियन्त्रक बन्नुभएको हो ।
तालिमपश्चात् आवश्यक प्रक्रिया पूरा गरेर भण्डारी सेतुबाल जिल्लाको मोइता नगरपालिकाअन्तर्गत रहेको ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ मा आबद्ध हुनुभएको हो । उक्त संस्थाले केही साताअघि औपचारिक समारोहका बिच उहाँलाई अन्य पाँच नयाँ अग्निनियन्त्रकसँगै सेवामा प्रवेश गराएको थियो ।
समारोहमा नवनियुक्त अग्नि नियन्त्रकहरूले संस्थाको झण्डासामु शपथ ग्रहण गर्दै सम्मान, कर्तव्यबोध र जिम्मेवारीका साथ समुदायको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भण्डारीले स्वयंसेवी अग्नि नियन्त्रक बन्न पाउँदा आफूलाई अत्यन्त खुसी र गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी भूमिमा मानवीय सेवासँग जोडिन पाउनु एउटा नेपालीका रूपमा गर्वको कुरा हो । पोर्चुगलले हामीलाई धेरै दिएको छ, त्यसैले हामीले केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले यो सेवामा जोडिएको हुँ । यसलाई आत्मसन्तुष्टि र सौभाग्यका रूपमा लिएको छु ।”
भण्डारीका अनुसार यो सेवा पूर्ण रूपमा स्वयंसेवी हो र यसमा कुनै पारिश्रमिक वा सुविधा हुँदैन । “यो विशुद्ध सामाजिक र मानवीय सेवा हो, जसले छुट्टै सन्तुष्टि दिन्छ”, उहाँले भन्नुभयो ।
भण्डारीको यो यात्रा भने सहज थिएन । सुरुवातमा उहाँले धेरै संस्थामा अग्नि नियन्त्रणका लागि आवेदन दिए पनि अस्वीकृत हुनुपरेको थियो । अग्नि नियन्त्रक बन्ने चाहना व्यक्त गर्दा धेरैले अचम्म माने पनि अन्ततः ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ ले आफूलाई अवसर दिएको भन्दै उहाँले धन्यावाद दिनुभयो ।
“नियुक्ति प्रक्रियाकै क्रममा विदेशी नागरिकलाई अग्नि नियन्त्रक बनाउन नहुने भन्दै उजुरीसमेत परेको थियो, तर प्रशासनले उक्त उजुरी अस्वीकार गर्दै नियुक्ति दिएको छ”, भण्डारीले भन्नुभयो, “तालिममा सहभागी भएका २२ जनामध्ये छ जना मात्र छनोट भएका छौँ । जसमा म मात्र एसियाली क्षेत्रको हुँ ।”
उहाँको शपथ ग्रहण समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यस क्रममा राजदूत पौडेलले भण्डारीको उपलब्धिले नेपाल र नेपाली समुदायको गौरव बढाएको बताउनुभयो । “यो उपलब्धि सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायी छ । यसले पोर्चुगलमा नेपालीहरूको सकारात्मक छवि अझ मजबुत बनाएको छ”, उहाँले भन्नुभयो ।
लामो समय अरब मुलुकहरूमा काम गरेपछि पाँच वर्षअघि पोर्चुगल पुग्नुभएका भण्डारीले सुरुमा रेस्टुरेण्टमा काम गरेको सुनाउनुभयो । पछि एउटा कम्पनीमा ‘मेकानिक्स’ का रूपमा काम सुरू गरेपछि सामाजिक सेवामा संलग्न भएको उहाँको भनाइ छ ।
पोर्चुगलको अग्नि नियन्त्रण सेवा सरकारी तथा स्वयंसेवी दुवै संरचनामा आधारित छ । यसले आगलागी नियन्त्रणका साथै आकस्मिक चिकित्सा सेवा, एम्बुलेन्स सेवा, सवारी दुर्घटना, बाढी तथा प्राकृतिक विपद्का बेला उद्धार र राहत कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
भण्डारी हाल परिवारसहित पोर्चुगलमा बसोबास गर्दै आउनुभएको छ ।