खाँदबारी, ८ वैशाख । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरू गरेको छ ।
सो प्रणालीमार्फत नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण सेवा अब एउटै स्थानबाट उपलब्ध गराइने भएको छ । सेवाग्राहीले अब विभिन्न शाखा धाउनुपर्ने झन्झट समाप्त भएको छ । सोमबारदेखि एकद्वार प्रणालीमार्फत सेवा प्रवाह लागु गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।
सेवाग्राहीलाई सहजीकरणका लागि सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन प्रशासनिक निकायहरूमा एकद्वार सेवा प्रणाली लागु गर्ने नीति अघि सारेको थियो । –रासस