काठमाडौँ, ७ वैशाख । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बिच भइरहेको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला वर्षाका कारण अवरुद्ध भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेल वर्षाका कारण प्रभावित भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि वर्षा सुरू भएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ९ बलमा १६ रन बनाउँदा अर्जुन साउदले ११ बलमा १३ रन जोडे । सन्दीप जोराले ६ रनमै आफ्नो विकेट गुमाए । मध्यक्रममा कुशल मल्लले १७ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा अविजित ३२ रनको महत्त्वपूर्ण इनिङ्स खेले ।
बासिर अहमदले १४ रन योगदान गरे भने अन्त्यतिर नन्दन यादवले ७ बलमा २ छक्कासहित १३ रन जोड्दै टोलीलाई १२२ रनसम्म पु¥याए । यूएईका तर्फबाट मोहम्मद जुहैबले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । जुनैद सिद्दिकीले २ विकेट लिए भने हैदर अली र मोहम्मद अरफानले समान १–१ विकेट लिए ।
नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ४० रन बनाएको थियो । १० ओभरमा ६२/३ को स्थितिमा रहेको नेपालले १६.३ ओभरमा १०० रन पूरा गरेको थियो ।