- आकाङ्क्षा धामी ,
काठमाडौँ, १ वैशाख । नेपाली कलाकारहरूले नयाँ वर्षलाई आ–आफ्नो अनुभव र दृष्टिकोणअनुसार फरक–फरक रूपमा व्याख्या गरेका छन् । कलाकारहरू रविन्द्र सिंह बानियाँ, सिर्जना अधिकारी र लोकगायक बिमलराज क्षेत्रीले नयाँ वर्षको महत्त्व, यसको बदलिँदो स्वरूप र व्यक्तिगत अनुभूति साझा गर्नुभएको छ ।
अभिनेता बानियाँले सानोदेखि सुन्दै आएको ‘मनपर्ने कामलाई पेशा बनायो भने जीवनभर काम गर्नुपर्दैन’ भन्ने भनाइलाई आफ्नो जीवनमा लागु गरेको बताउनुभयो । उहाँका अनुसार आफूले अभिनय र फिल्म निर्माणमा रमाइलो अनुभव गर्ने भएकाले हरेक दिन नै नयाँ वर्षजस्तै लाग्ने गर्छ । “हामीले गरेको कामलाई माया गरिरहेपछि हरेक दिन नयाँ वर्षजस्तै हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले नयाँ वर्षलाई पारिवारिक भेटघाट र मनोरञ्जनको अवसरका रूपमा लिए पनि कलाकारका लागि यो अन्य दिनजस्तै नै हुने उल्लेख गर्नुभयो । तर, फिल्म निर्माता र प्रदर्शनकर्ताका लागि भने नयाँ वर्ष विशेष हुने उहाँको भनाइ छ । “नयाँ वर्षमा चलचित्र हलमा दर्शकको भीड बढ्ने भएकाले निर्माताका लागि यो महत्त्वपूर्ण समय हो,” उहाँले भन्नुभयो ।
बानियाँले नयाँ वर्षको अवसरमा नयाँ नेपाली फिल्महरू प्रदर्शनमा आउने परम्परा रहेको उल्लेख गर्दै आफू संलग्न चलचित्र ‘पहाड’ तथा निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म हेरेर नयाँ वर्ष मनाउने योजना रहेको जानकारी दिनुभयो ।
यस्तै, उहाँले नयाँ वर्षमा ठुलो लक्ष्यभन्दा साना–साना प्रतिबद्धताबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । “सानो लक्ष्यबाट सुरू गर्दा निरन्तरता दिन सजिलो हुन्छ,” उहाँले भन्नुभयो ।
त्यसैगरी, अभिनेत्री सिर्जना अधिकारीले नयाँ वर्ष आफ्नो बाल्यकालका सम्झनासँग जोडिएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँको टोखा क्षेत्रमा लाग्ने ‘सपनतीर्थ मेला’ नयाँ वर्षको मुख्य आकर्षण हुने गरेको थियो । “वैशाख १ गतेको मेला, परिवारसँग जाने, भिडभाड र रमाइलो यी सबै अझै सम्झनामा ताजा छन्,” उहाँले भन्नुभयो ।
अधिकारीले अङ्ग्रेजी नयाँ वर्षभन्दा नेपाली नयाँ वर्षप्रति आफू बढी भावनात्मक रूपमा जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली नयाँ वर्षसँग बाल्यकालको सम्झना र सांस्कृतिक अनुभूति जोडिएको छ ।”
हाल उहाँ नयाँ वर्षको अवसरमा आफ्नो चलचित्र ‘परालको आगो’को प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । उहाँका अनुसार कलाकारका लागि नयाँ वर्ष पनि कामकै निरन्तरता हुने समय हो ।
यसैगरी कुनै समयका चर्चित लोकगायक बिमलराज क्षेत्रीले पछिल्लो समय नेपाली समाजमा नयाँ वर्ष मनाउने शैलीमा आएको परिवर्तनबारे आफ्ना अनुभव साझा गर्नुभएको छ ।
उहाँले विशेषगरी बाल्यकालमा आफू हुर्किएको गाउँमा अहिले जस्तो अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन नरहेको बताउनुभयो । उहाँका अनुसार त्यतिबेला नयाँ वर्षभन्दा बढी वैशाखी संक्रान्तिलाई नै महत्त्वपूर्ण रूपमा लिइन्थ्यो । “हामीलाई थाहा भएको भनेकै वैशाखी संक्रान्ति हो । त्यही अवसरमा नजिकका नदी–जस्तै कालीगण्डकीमा स्नान गर्न जाने चलन थियो,” उहाँले भन्नुभयो ।
क्षेत्रीका अनुसार गाउँको जीवनशैली भूगोल र संस्कृतिअनुसार फरक हुने भएकाले नयाँ वर्ष मनाउने औपचारिक परम्परा त्यति विकसित थिएन । उहाँले गण्डकी क्षेत्रको आफ्नो अनुभव सुनाउँदै मुक्तिनाथदेखि देवघाटसम्म फैलिएको सांस्कृतिक क्षेत्रभित्रका परम्पराले आफूलाई बढी प्रभावित पारेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा हुँदा अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन थिएन । काठमाडौँ आएपछि मात्रै नयाँ वर्ष, जस्ता चाडबाडबारे थाहा पाएँ ।” सहरमा आएपछि विभिन्न आधुनिक सांस्कृतिक अभ्यासहरू सिक्ने अवसर मिलेको उहाँको भनाइ छ ।
गायक क्षेत्रीले समयसँगै नेपाली समाजमा नयाँ वर्ष मनाउने शैली परिवर्तन हुँदै गएको र विशेषगरी युवापुस्तामा अङ्ग्रेजी नयाँ वर्षप्रति आकर्षण बढ्दो रहेको पनि बताउनुभयो । कलाकारहरूको भनाइले नयाँ वर्ष केवल उत्सव मात्र नभइ व्यक्तिगत अनुभव, सांस्कृतिक पहिचान र पेशागत गतिविधिसँग समेत गहिरो रूपमा जोडिएको देखिन्छ । –नेपाल न्युज बैङ्क