- आकाङ्क्षा धामी
काठमाडौँ, २९ चैत । आशा गणपतराव भोसले भारतीय उपमहाद्वीपकी अत्यन्त चर्चित तथा बहुमुखी पाश्र्व गायिका हुन् ।
सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म सङ्गीतमा आफ्नो जादुइ आवाजका माध्यमबाट दशकौँसम्म राज गरिन् । उनले आफ्नो जीवनकालमा करिब १५–१६ हजारभन्दा बढी गीत गाइसकेकी छन् ।
हिन्दीवाहेक उनले मराठी, बङ्गाली, गुजराती, पञ्जाबी, भोजपुरी, तमिल, मलयालम, अङ्ग्रेजी हुँदै रूसीसम्म गरी १४ भन्दा बढी भाषामा गीत गाएर अपार लोकप्रियता हासिल गरेकी छिन् ।
यसैक्रममा उनले नेपाली भाषाका गीतहरूमा पनि स्वर दिएकी थिइन्, जसले नेपाली स्रोतामाझ पनि उनलाई उत्तिकै प्रिय बनायो । ‘झरी बनी आएछ सावन’ जस्ता गीतमार्फत नेपाली सङ्गीतप्रेमीहरूको मन जितेकी भोसलेले थुप्रै नेपाली गीतहरूमा स्वर दिएकी छिन् ।
यद्यपि, ९२ वर्षको उमेरमा समेत सक्रिय रहँदै उनले रन्जित गजमेरको सङ्गीतमा ‘यो हाम्रो माया’ बोलको नेपाली गीत भने अन्तिम हुन पुग्यो । जसमा युवा गायक मोहन राईसँग उनको सहकार्य रह्यो । उनीसँग सहकार्य गर्ने नेपाली कलाकारहरूको सङ्ख्या भने निकै सीमित रहेको देखिन्छ ।
लामो समयदेखि सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएकी भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । उपचारकै क्रममा आइतबार उनको निधन भएको हो, जसले सङ्गीत जगतलाई ठुलो क्षति पुर्याएको छ ।
यद्यपि, जन्म र मृत्यु प्रकृतिको स्वाभाविक प्रक्रिया भए पनि आफ्नो कर्म, प्रतिभा, लगन र सीपले भूगोलका सीमाहरू भत्काएर करोडौँ मानिसको मनमा बस्न सफल कलाकारहरू कहिल्यै हराउँदैनन् । भोसले पनि आफ्नो कोकिल स्वरमार्फत सधैँ श्रोता–दर्शकको मनमा जीवित रहिरहने छिन् ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक घमराज लुईटेल सामाजिक सञ्जालमा लेख्नुहुन्छ, “जन्म र मृत्यु स्वाभाविक चक्र हुन् । तर, केही व्यक्तित्वहरू आफ्नो योगदानका कारण अमिट छाप छोडेर जान्छन् । आशा भोसले भौतिक रूपमा हामीबाट टाढा भए पनि उनको स्वरले सधैँ हामीसँगै रहनेछ ।” उहाँले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यसैगरी गायक शिव परियारले पनि सुप्रसिद्ध बलिउड गायिका आशा भोसलेको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “श्रद्धेय आशा भोसलेज्यूको निधनको खबरले म अत्यन्त दुःखी भएको छु । ‘गैरी खेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘दियो बाली साँझको’ जस्ता लोकप्रिय तथा कालजयी नेपाली गीतमा स्वर भरेर उहाँले नेपाली सङ्गीत क्षेत्रमा समेत अमूल्य योगदान दिनुभएको छ । भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँका गीत–सङ्गीतले हाम्रो अन्तरहृदयमा सदैव गुञ्जिरहनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”
गायिका देवीका बन्दनाले आशा भोसलेलाई ‘स्वर किन्नरी’का रुपमा स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । यसैबीच, भोसलेसँग अन्तिम नेपाली गीतमा साथ दिएका गायक मोहन राईले गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
उनी सन् २०१९ मा कार्यक्रमका लागि पहिलो पटक नेपाल आएकी थिइन् । त्यस्तै, ०७६ को पुसमा राजधानीको सोल्टी होटलमा प्रस्तुती दिएकी थिइन् । साधना कला केन्द्र पुलतीसडकले आयोजना गरेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’मा केही कालजायी गीतहरु सुनाएकी थिइन् ।
उनले गाएका केही चर्चित नेपाली गीतहरूः
१. गैरी खेतको शिरै हान्यो
२. एउटा मान्छे मन पर्छ
३. यति धेरै माया दियौ
४. आज हाम्रो भेट भएको दिन
५. लै बरि मेरो मायालु
६. बसन्त नै बस्न खोज्छ यहाँ (माइतीघर)
७. किन बढ्दै छ ढुकढुकी
८. दियो बाली साँझको साउने झरिमा
९. मोहनी लाग्ला है
१०. पहाडको माथि माथि
११. म प्यार बेचि दिन्छु
१२. चन्चले मन भुल्यो
१३. तिम्रो मनमा लुकेको कुरा ।
१४. सिक्रेट नदेऊ म बिडी खानेलाई…
१५. माया त माया हो …।
–नेपाली न्यूज बैङ्क