नामबाट ‘पिट’ हटाउन जोली र पिटकी छोरीद्वारा अदालतमा निवेदन

10

एजेन्सी, २० जेठ । हलिउडमा एक समय यस्तो थियो, जब एन्जेलिना जोली र ब्राड पिटको चर्चा हरेक ठाउँ हुन्थ्यो । उनीहरु हलिउडकै चर्चित र रुचाइएका जोडीमा पर्दथे । करिब १० वर्षसम्म सँगै रहेका यो जोडीले अलग्गिने निर्णय लिएपछि उनीहरुका फ्यानहरु दुःखी भएका थिए । अहिले आएर उनीहरुको छोरी शिलोहले आफ्नो नाम परिवर्तन गर्न माग गरेकी छन् ।

शिलोहले आफ्नो नामबाट ‘पिट’ हटाउनका लागि लसएन्जल्स काउन्टी सुपेरियर कोर्टमा निवेदन दिएकी छन् । शिलोह नोवेल जोली–पिटले गत मे २७ मा कोर्टमा आफ्नो नाम फेरेर शिलोह नोवल राख्नका लागि निवेदन दिएकी हुन् ।

२००६ मे २७ मा जन्मिएकी शिलोहको इन्स्टाग्राम प्रोफाइलबाट आफ्नो नामको पछाडिको ‘पिट’ हटाइ माग्न उनले कोर्टमा निवेदन दिएकी हुन् । यसपछि उनले कानुनी रुपमा नै उपनाम परिवर्तन गर्ने निर्णय लिएकी छन् । शिलोहले आफ्नो १५ वर्षे बहिनी बिबिएनले आफ्नो नाम पछाडिको ‘पिट’ हटाएपछि यो निर्णय लिएकी हुन् ।

जोली र पिटकी १९ वर्षकी छोरी जहरालाई उनको युनिभर्सिटीमा जहरा माले जोलीका रुपमा चिनिन्छ । उनका नाममा पनि पिता ब्राड पिटको उपनाम छैन । अब शिलोह पनि आफ्नो बाँकी बहिनीको जस्तै नामबाट ‘पिट’ हटाउन चाहन्छिन् । शिलोह कानुनी रुपमा नाममा बद्लाबका लागि निवेदन दिने जोली र ब्राडको पहिलो सन्तान हुन् ।

ब्राड पिट र एन्जेलिना जोलीको भेट सन् २००४ मा फिल्म ‘मिस्टर एण्ड मिसेस स्मिथ’को सुटिङमा भएको थियो । त्यो समयमा ब्राड ‘फ्रेण्ड्स’ फेम जेनिफर एनिस्टनसँग वैवाहिक बन्धनमा थिए । तर, जोलीसँग भेट भएपछि उनले जेनिफरबाट अलग्गिने निर्णय लिए ।

लामो समयको डेटपछि उनीहरुले सन् २०१४ मा विवाह गरे र सन् २०१६ मा अलग्गिने निर्णय लिए ।

Share This:
सम्बन्धित खबर
Loading...