म्याग्दी, १९ चैत । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिम बहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन् ।
सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रुपमा चिनने मल्कवाङका हिम बहादुर भेडाबाख्रा पालेर जङ्गल पस्नुभएको छ । “युएईमा २० वर्ष काम गरेर कमाएको पैसाले पोखरामा घरपरिवारसँगै बिलासी जीवन बिताउन पनि पुग्ने थियो,” उहाँले भन्नुभयो “आफ्नो जन्मिएको ठाउँमा पनि केही गराौँ । कोही गाउँ छाडेर गए पनि कोहीले केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर जन्मथलो फर्किएर ब्यावसायिक भेडाबाख्रा पालेको हो ।”
हिम बहादुरले विदेशमा आर्जेको अनुभव र पुँजीलाई परिचालन गरेर जन्मथलोमा ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गर्नुभएको छ । उहाँका परिवार र आफन्त पोखरामा बसोबास गर्नुहुन्छ । उहाँ भने छ सय भेडा चराउँदै हिउँदमा बेसीका फाँट र बर्खामा हिमालको काँखमा घुम्ती गोठ लिएर पुग्ने गर्नुभएको छ ।
“असोजमा बेसी झारेको भेडागोठ हिउँदभरी मल्कवाङको फेदी खालीखोलामा राखे,” उहाँले भन्नुभयो “वैशाख महिनासँगै गोठ लेकतिर सार्दै साउन–भदौमा धौलागिरि हिमालको बुकी पाटनमा पुर्याउछौँ ।” सहरबजारको कोलाहल, प्रदूषण र तनाव भन्दा भेडाबाख्रासँगै लेकबेसी गर्दा रमाइलो लाग्ने हिमबहादुरले अनुभव सुनाउनुभयो ।
एक वर्षमा तीन सयको हाराहारीमा भेडाबाख्रा बिक्री गर्ने हिम बहादुरले आफू स्वरोजगार बन्नुका साथै गाउँका तीन जनालाई रोजगारी दिनुभएको छ । करिब एक करोड रूपैयाँ लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिम बहादुरले वार्षिक ३० देखि ४० लाख रूपैयाँको भेडाबाख्रा बिक्री हुने बताउनुभयो ।
मासु र पूजाआजाका लागि गोठबाटै भेडाबाख्राको खसीबोका बिक्री हुन्छन् । उत्पादन गर्न सकेमा बजारको समस्या नभएको हिम बहादुरको अनुभव छ । भेडाबाख्रालाई हिउँको चिसोबाट बचाउनका लागि धवलागिरि गाउँपालिकाले खालीखोलामा टहरा निर्माण गर्न सघाएको वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आन्तरिक तथा बाह्य परजीवी तथा महामारीकाविरुद्ध निःशुल्क खोपको व्यवस्था मिलाएको छ । घुम्ती गोठमा भेडाबाख्राको सुरक्षाका लागि हिमबहादुरले पाँच वटा कुकुर पाल्नुभएको छ । खाद्यान्न ढुवानी गर्न दुई वटा घोडा पनिसँगै पाल्नुभएको छ । चरन क्षेत्रको कमी, वन्यजन्तुको आक्रमण र मौसममा आएको परिवर्तन भेडापालनमा चुनौती बनेको हिमबहादुरले बताउनुभयो ।