धरान, ३ फागुन । छब्बिसौँँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ । धरान रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफको ६३औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी प्रतापसिंह राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा राईले गरेको गोल खेलको निर्णायक बन्यो ।
प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड लगातार दोस्रोपटक उपविजेता बनेको हो भने पहिलोपटक सहभागिता जनाएको प्लानिङ ब्वाइज युनाइटेड भने बुढासुब्बा गोल्डकपको विजेता बन्न सफल भएको छ । उपाधिसँगै प्लानिङ ब्वाइजले १० लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ प्लानिङ ब्वाइजका पुजन थापा घोषित भए । थापालाई १० हजार रूपैयाँ प्रदान गरियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रतापसिंह राई घोषित हुँदै एक थान स्कुटर प्राप्त गरे । उत्कृष्ट गोलरक्षक प्लानिङ ब्वाइजका योगेश धिमाल तथा उत्कृष्ट डिफेन्डर निङ्मा घिसिङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की तथा उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका अभियोमी घोष भए । उनीहरुले जनही २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाइजका प्रतापसिंह राई, झापा–११ का एरोन थापा र राजेश दाहाल घोषित हुँदै जनही १२ हजार रूपैयाँ पुरस्कार पाए ।