काठमाडौँ, १० माघ । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो ।
जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएकी हुन् ।
कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ तथा सीता रानामगरले ११ रनको योगदान गरेका थिए ।
प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक-एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । जिम्बाबेकी केलिस धलोभुले अविजित ५२ रन बनाइन् । बलिङमा नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन् । सुरुवाती दुई खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो ।