भेप तान्नुहुन्छ ? यस्तो छ यसको खतरनाक स्वास्थ्य असर

1
  • प्रमिला कार्की

काठमाडौँ, ४ पुस । पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात् ई–सिगरेट अत्यधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । भेपलाई चुरोटको विकल्पका रूपमा लिनका साथै सोख र फेसनका रूपमा पनि पिउने गरेका छन् । तर, धेरैजसो भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनविज्ञ रहेको पाइएको छ ।

क्यान्सर विशेषज्ञ समिम अख्तरका अनुसार भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले भेपले फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले जुन हिसाबले भनिरहेका छौँ, यसले हानी गर्दैन अथवा चुरोटभन्दा कम हानी गर्छ । यो सब गलत चिज हो । भेपले तपाईको फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ ।”

उहाँले अगाडि थप्नुभयो, “भेपभित्र जुन पदार्थहरु प्रयोग भएको हुन्छ अर्थात् केमिकलहरु हेभी मेटल्स हुन्छ । बास्ना दिनका लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरु प्रयोग भएको हुन्छ । अन्य अखाद्य पदार्थहरु पनि प्रयोगशालामा बनाएर त्यो भेप सोलुसन दिएको हुन्छ ।”

त्यस्तै उहाँले भेपको धुँवा लिँदा श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सोभित्रसम्मको मांसपेशीलाई बिगार्ने जोखिम रहेको पनि जानकारी दिनुभयो । त्यति मात्र होइन, भेपले डिएनए इकाईमा परिवर्तनसम्म ल्याउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “भेपको धुँवा लिँदा तपाईंको श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सोभित्रसम्मको मांसपेशीलाई ड्यामेज गर्छ । डिएनए भन्ने जुन सानो इकाई हुन्छ, त्यसमा पनि परिवर्तनहरु ल्याइदिन्छ । त्यसैले भेप लिने मान्छेहरुको फोक्सोमा पपकर्न लिसन देखा पर्न सक्छ । जस्तो छातीको एक्सरे लियो भने त्यसमा सेतो सेतो दागहरु दुईटै फोक्सोमा देखापर्न सक्छ ।”

के हो भेप ?
भेप धूम्रपानको तलतल मेट्ने विद्युतीय उपकरण हो । विद्युतीय चुरोटहरू मुख्य गरी इलेक्ट्रोनिक निकोटिन वितरण प्रणाली र इलेक्ट्रोनिक गैरनिकोटिन वितरण प्रणाली गरी दुई प्रकारका प्रचलनमा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । भेप एक विद्युतीय चुरोट भएकाले यो ब्याट्रीबाट चल्छ । मानिसहरूले यसमा तरल पदार्थलाई सास फेर्न सकिने वाष्पमा तताउन प्रयोग गर्छन् । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...