- राजेन्द्र विश्वकर्मा
सर्लाही, १० मङ्सिर । सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिरनजिक शरीरमा पेट्रोल छरेर आगो लगाइ आत्मदाह प्रयास गरेका एक पुरुषको मृत्यु भएको छ ।
घटनामा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–२ निवासी धनपती पोखरेलका छोरा ५५ वर्षीय सूर्यप्रसाद पोखरेल रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे सो स्थानमा उनले आफैँ शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए । स्थानीयले आगो लागेको देखेपछि करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक विरेन्द्र सिंह जोहारीको कमाण्डमा प्रहरी टोली राति ८ बजे घटनास्थल पुगेको थियो । टोलीले आगोले गम्भीर रूपमा जलेका घाइते उनलाई तत्कालै सिटी हेल्थ केयर लालबन्दीमा उपचारका लागि पुर्याएको थियो ।
आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको थियो । त्यहाँ सामान्य उपचारपछि उनलाई राति करिब ९ बजे एम्बुलेन्समार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो ।
तर, उपचारकै क्रममा बुधबार राति २ः१० बजे ती पुरुषको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको पहिचान मोबाइलमार्फत् खोजी गर्दा भएको हो । मोबाइलमा उनका भान्जाको नम्बर भेटेको र त्यहाँबाट सम्पर्क भएको हो । मृतकका आफन्तहरू घटनास्थलतर्फ आइरहेका प्रहरी स्रोतले जनाएको छ ।
उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे भन्ने विषय हालसम्म खुलेको छैन । अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । –नेपाल न्युज बैंक