दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

9

कञ्चनपुर, ६ कात्तिक । कञ्चनपुरको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ । हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको दुवै छेउतर्फ पर्खाल निर्माण र माटो भरानको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पुल निर्माणको कुल लागत अनुमान २४ करोड ७३ लाख ८० हजार रूपैयाँ रहेकामा लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग २४ करोड तीन लाख ९२ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको छ । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन ।

पुष मसान्तमा काम सम्पन्न गर्ने गरी म्याद थपिएको र चालु आआर्थिक वर्षमा पुल निर्माणका लागि ४० लाख रूपैयाँ मात्रै विनियोजन भएकाले समस्या हुने हो कि भन्ने चिन्ता रहेको जोशीले सुनाउनुभयो । पलको काम सम्पन्न गर्न अझै चार करोड रूपैयाँ आवश्यक पर्ने उहाँले बताउनुभयो ।

यहाँ पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्दै आएका छन् । पुल निर्माण भए लाझाडी, शुक्लाफाँटा र कृष्णपुरका बासिन्दाको आवागमनमा सहज हुने स्थानीय बच्चन रानाले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...