- मनिषा बस्नेत/आंकाक्षा धामी
काठमाडौँ, २८ असोज । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार बस्दै छ । बिहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि मंगलबारका लागि केन्द्रीय समिति डाकिएको हो । जेनजी आन्दोलनपछि पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग चर्को रुपमा उठिरहेका बेला केन्द्रीय समिति बस्न लागेको हो ।
विशेषगरी कांग्रेसभित्र मंसिरमा नियमित महाधिवेशन नत्र विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग भइरहेको छ । जसका कारण सभापति शेरबहादुर देउवा चर्को दबाबमा छन् । कार्यवाहक तोकेर देउवालाई पार्टी राजनीतिबाट विश्राम लिनुपर्ने र तत्काल महाधिवेशन गराउनुपर्ने दबाब परेको छ । पार्टीका विभिन्न तहका काम गरिरहेका केही युवा नेताहरुले भावी नेतृत्वका लागि फरक फरक धारणाहरु राखिरहेका छन् ।
कांग्रेसलगायत सबै भातृ संगठनहरु भङ्ग गर्नुपर्छ
कांग्रेसका युवा नेता एवम् लेखक लाओस राईले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पछिल्लो घटनालाई कांग्रेसलाई नयाँ चरणमा पुर्याउने एउटा जोखिम र अवसर दुवै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जेनजी घटनाले कांग्रेसलाई नयाँ चरणमा पुर्याएको छ । त्यसकारण, कांग्रेस पहिला सचेत हुनुपर्यो । गतिशील निर्णय, समाजलाई रूपान्तरण गर्ने खालका निर्णयहरू गर्नुपर्छ जस्तो लाग्छ ।”
उहाँले सबैभन्दा पहिले संगठन विस्तारका लागि भ्रातृ संगठनहरू, उपसमितिलगायतका संगठनहरू सबै विघटन गर्नुपर्ने बताउनुभयो । “कांग्रेस पार्टीले, कांग्रेस पार्टीकै पनि केन्द्रीय समिति पनि भङ्ग गर्नुपर्छ । त्यस्तो निर्णय गरेपछि, मान्छेमा ऊर्जा आउँछ । नयाँ पुस्ताका मान्छेहरू चाहिँ कांग्रेसमा प्रवेश गर्छन् जस्तो लाग्छ,” उहाँले भन्नुभयो ।
राईले विशेष महाधिवेशनले तरङ्ग ल्याउन नसक्ने र त्यो समय–सापेक्ष उपयुक्त नभएको बताउनुभयो । “विशेष महाधिवेशन भन्ने कुरा उपयुक्त होइन । यत्रो ठुलो आन्दोलनले पार्टीको विचार, सिद्धान्त र संविधानमाथि नै आक्रमण भइरहेका बेला पार्टी आन्तरिक खलबलमा अल्झिन मिल्दैन,” उहाँले भन्नुभयो ।
उहाँले प्रस्ताव राख्दै विशेष महाधिवेशनभन्दा पनि केन्द्रीय समिति भङ्ग गरेर नयाँ पुस्तालाई कांग्रेसको केन्द्रीय समितिमा ल्याउनुपर्ने बताउनुभयो । राईले राजनीतिक विचारभन्दा व्यक्तिगत दुश्मनीका कारणले गरिएको गतिविधिले नयाँ पुस्तालाई आकर्षित नगर्ने बताउनुभयो ।
“विशेष महाधिवेशनले त्यहीँ १४औँ महाधिवेशनका प्रतिनिधिले मात्रै गर्ने हुन् । ती प्रतिनिधिहरुबाट कांग्रेस तरङ्ग आउँदैन,” उहाँले भन्नुभयो ।
राईले जेनजी आन्दोलनको ऊर्जालाई संस्थागत गरी विचारका साथ अघि बढाउनुपर्ने नत्र अतिवाद र क्रुर तरिकाले काम गर्दा लोकतान्त्रिक गणतन्त्रका लागि नकारात्मक असर पर्न सक्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो आन्दोलनमा ऊर्जा छ । तर, विचारबिनाको ऊर्जा छ । यसले लोकतान्त्रिक गणतन्त्रलाई नै सिध्याउने हो कि, अतिवादलाई ल्याउने हो कि भन्ने त्रास छ । त्यसैले विचारमा प्रष्ट हुनुपर्यो । कि लोकतान्त्रिक, कि अतिवादी, कि दक्षिणपन्थी हुनुपर्यो ।”
उहाँले आन्दोलनका चरित्र र क्रियाकलापसम्बन्धी अस्वीकार्य व्यवहारप्रति आलोचना गर्दै भन्नुभयो, “नीति नियम बनाएर कसैलाई कारबाही गर्छु भनेर भन्नु ठिक छ । तर, घरबाट थुतेर पिट्छु, सिध्याउँछु, ल देखाइदिन्छु भनेर हुँदैन । त्यो रगतको आवेश मात्रै हो ।”
राईले आफूहरूले राजनीतिमार्फत् स्पष्ट भएर जनताको सत्ता स्थापना गर्ने लक्ष्य उल्लेख गरेर २०६२ को आन्दोलनसँग तुलना गर्दै त्यो आन्दोलनले संविधान र गणतन्त्र निर्माणमा भूमिका खेलेको स्मरण गराउनुभयो ।
नेतृत्व परिवर्तनका लागि कार्यसमिति भङ्ग र नयाँ पुस्ताको सहभागितामा समाधानहरू खोज्नुपर्ने औँल्याउनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक पुनरावलोकन तथा जनआकर्षणका उपायहरू तत्परतासहित अपनाउनुपर्ने धारणा राख्नुभयो ।
नीति र नेतृत्व तत्काल परिवर्तन आवश्यक छ
अर्का युवा नेता सुशील भट्टले पार्टीभित्र वर्तमान राजनीतिक र संस्थागत परिप्रेक्ष्यका आधारमा परिवर्तन र जवाफदेहीपन आवश्यक भएको औँल्याउनुभयो ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै भट्टले अहिलेको विषम् परिस्थितिमा पार्टीमा जनताले उठाएका एजेन्डाहरूलाई र संविधानका संवेदनशील विषयहरूलाई अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म जनताको भाषा बोल्ने र जनताले खोजेको परिवर्तन नेतृत्व गर्ने दल हो । हालको विषम् परिस्थितिमा केन्द्रीय समिति बसिरहेको छ र त्यसले जनताले उठाएका एजेन्डाहरूलाई र संविधानका संवेदनशील विषयहरूलाई अगाडि बढाउनु आवश्यक छ ।”
भट्टले संघीयता, प्रत्यक्ष/अप्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, पार्टीको आन्तरिक नीति, र नागरिकले उठाएको भ्रष्टाचार विरोधी आवाजलाई कांग्रेसले संस्थागत रूपमा टेकओभर गरी कार्यान्वयन गर्नुपर्ने औँल्याउनुभयो । उहाँले नेतृत्व साथै नीतिमा पनि तत्काल परिवर्तन आवश्यक रहेको औँल्याउनुभयो ।
उनी साधारणतः महाधिवेशन–केन्द्रीत विकल्पमा विश्वास राख्छन् तर त्यसैबेलामा नेतृत्व र संगठन परिवर्तनका लागि केन्द्रीय समिति भंग गरी नयाँ ऊर्जा भित्र्याउनुपर्ने प्रस्ताव उहाँले अगाडि सार्नुभएको छ ।
विशेष महाधिवेशनभन्दा केन्द्रीय समिति भंग गरेर नयाँ पुस्तालाई केन्द्रीय समिति र नेतृत्वमा ल्याउनु बढी प्रभावकारी हुने उहाँको भनाइ छ ।
भट्टले जेनजी आन्दोलनका क्रममा निधन भएका, घाइते र घटनासँग सम्बन्धित पक्षहरूको स्वतन्त्र र गहिरो छानबिन हुनुपर्नेमा जोड दिनुभयो । साथै, सभापति शेरबहादुर देउवामाथि भएको आक्रमण र पार्टी कार्यालयमा गरिएको तोडफोडबारे दुवै पक्षको छानबिन आवश्यक भएको उहाँले बताउनुभयो ।
“सभापति पद व्यक्ति मात्र होइन, संस्था पनि हो । यदि सभापतिको स्वास्थ्यले साथ दिएन भने कार्यवाहक व्यवस्थाबाट पार्टीलाई महाधिवेशन केन्द्रित मार्गमा अघि बढाउनुपर्छ । सभापतिज्यूको स्वास्थ्यले कांग्रेस बिरामी हुनु हुँदैन । कांग्रेसले आफ्नो दैनिकीमा अगाडि बढ्नुपर्छ । किनकि कांग्रेस बिरामी भयो भने राष्ट्र बिरामी हुन्छ ।”
संगठन सुधारको प्रसंगमा भट्टले कांग्रेसले गतिशील निर्णय लिनुपर्ने बताउनुभयो । भ्रातृ र उपसंगठनहरूलाई पुनरावलोकन÷विघटन गरी नयाँ पुस्तालाई आकर्षित गर्नेगरी संगठन नविकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
भट्टले जेनजी पुस्ताद्वारा उठाइएका मुद्दाहरूलाई केवल युवा आन्दोलनको माग नठान्दै समग्र राष्ट्रको आवाजका रूपमा कांग्रेसले आत्मसात् गरी प्रमुख एजेन्डाको रुपमा कार्यान्वयन गर्ने दायित्व रहेको बताउनुभयो । त्यस्तै, आन्दोलनका क्रममा देखिएका आक्रोश र अतिवादी प्रवृत्तिहरूले लोकतान्त्रिक गणतन्त्र तथा शान्ति प्रक्रियामा नकरात्मक असर पार्न सक्ने चेतावनी पनि दिनुभयो ।
उहाँले सबै विभाजित धाराहरू समेटेर लोकतान्त्रिक मार्गदर्शन र भ्रष्टाचारविरोधी एजेन्डा कार्यान्वयन गरी कांग्रेसले देशलाई निकासमा लैजानुपर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
देउवाले मार्गप्रशस्त गर्नुपर्छ, विशेष महाधिवेशन जरुरी छ
युवा नेतृ एलिजा ढकालले पार्टीभित्रको नेतृत्व, संरचना र नीतिगत निर्णयको विषयमा गम्भीर पुनरावलोकनको आवश्यकता रहेको औँल्याउनुभएको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले विशेष महाधिवेशनको आवश्यकता र शेरबहादुर देउवाले मार्गप्रशस्त गर्नुपर्ने दाबी गर्नुभयो । उहाँको भनाइअनुसार अहिलेको राजनीतिक अवस्था एकदमै विकराल छ र कांग्रेसले अब जनताको प्रश्नको जवाफ दिनुपर्ने समय आएको छ ।
ढकालले भन्नुभयो, “अहिलेको अवस्था चाहिँ हामीले जनताको प्रश्नको जवाफ दिनुपर्ने समय आयो । कांग्रेसले जुन समाधान दिन्छु भनेर व्यवस्था परिवर्तन गरेर यहाँसम्म आइपुगेको थियो, त्यहाँ केही समस्याहरू देखियो । ती समस्याहरूको समाधान गर्न कांग्रेसले पहिला आफूबाट सुरु गर्नुपर्छ । नेतृत्व परिवर्तनबाटै सुरु गर्नुपर्छ ।”
उहाँका अनुसार, पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको आवश्यकता अनिवार्य भएको छ । तर, नियमित महाधिवेशन अहिलेको अवस्थामा सम्भव छैन भन्ने उहाँको तर्क छ ।
“अहिले नियमित महाधिवेशनको लागि केही जटिलताहरू छन् । ४५ भन्दा बढी जिल्लाहरूमा कांग्रेसका कार्यालयमा आगजनी भएको छ । डकुमेन्टेसन छैन । दुई वर्षअघि महामन्त्री गगन थापाले सदस्यता पठाएको भए पनि धेरै जिल्लामा कामै भएको छैन । त्यसैले डाटा छैन, डाटा नभएको अवस्थामा कसरी महाधिवेशन गर्ने ?” उहाँले प्रश्न गर्नुभयो ।
ढकालले विशेष महाधिवेशनको वैधानिकता कांग्रेसको विधानमै उल्लेख भएकाले अहिलेको असामान्य परिस्थितिमा त्यसैलाई कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।
सभापति शेरबहादुर देउवाको भूमिकाबारे उहाँले भन्नुभयो, “देउवा लोकतन्त्रको लागि लडेर यहाँसम्म आइपुगेको नेता हुनुहुन्छ । उहाँलाई यो व्यवस्थाप्रति माया हामीभन्दा बढी छ जस्तो लाग्छ । त्यसैले उहाँले मार्गप्रशस्त गर्न हिचकिचाउनुहुन्न । तर, उहाँको वरिपरिका नेताहरूले उहाँलाई भ्रममा राख्ने गरेका छन् । यही भ्रमले उहाँलाई दुर्घटनामा पुर्यायो ।” ढकालले विशेष महाधिवेशनबारे पार्टीभित्र प्रष्ट बहुमत रहेको दाबी गर्नृभयो ।
उहाँका अनुसार विशेष महाधिवेशनमार्फत् युवाहरूले सत्ता कब्जा गर्न खोजेको भन्ने संस्थापन पक्षको आरोप निराधार हो । “जो मान्छेहरूले अघिल्लो महाधिवेशनमा शेरबहादुर देउवालाई जिताएका थिए, ती नै अहिले विशेष महाधिवेशनमा भोट हाल्न लागेका छन् । उनीहरूको विवेकमाथि विश्वास गर्नुपर्छ । गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरू अहिले रिक्स लिइरहेका छन् । चुनाव हो हरेक मान्छे निर्वाचित हुने मौका हुन्छ । त्यसैले मौका दिनुपर्छ भन्ने हो,” उहाँले भन्नुभयो ।
ढकालले देउवाले विशेष महाधिवेशनप्रति सकारात्मक रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसभित्र जेन–जी पुस्ताको योगदान, युवा सहभागिता र संस्थागत सुधारको आवश्यकता औँल्याउनुभयो ।
कांग्रेसको केन्द्रीय समिति बैठक आज (२८ गते) बस्दै छ । जसमा विशेष महाधिवेशनसम्बन्धी माग र सम्भावनाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ । –नेपाल न्यूज बैंक