- आकांक्षा धामी
काठमाडौँ, १६ असोज । हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्त्वको पर्व विजया दशमी, जसलाई प्रचलित रूपमा बडा दसैँ भनिन्छ । शक्ति, सत्य र सांस्कृतिक एकताको प्रतिकको रूपमा बर्सेनि विशेष श्रद्धा र उल्लासका साथ मनाइन्छ । गुरु रविन्द्र आचार्यका अनुसार, विजया दशमी केवल एक धार्मिक पर्व मात्र नभइ, देवी शक्तिको आराधना, सत्यको विजय र सामाजिक सद्भावको उत्सव हो ।
शक्तिको आराधनाः नौ दिनको नवरात्रि
वेदशास्त्रअनुसार, वर्षमा चारवटा नवरात्रिहरूको वर्णन पाइन्छ, जसमा विशेषतः वसन्त नवरात्रि र शारदीय नवरात्रिलाई विशेष महत्त्व दिइएको छ । शारदीय नवरात्रिअन्तर्गत मनाइने बडादसैँमा नवदुर्गाको नौ दिनसम्म पूजा आराधना गरिन्छ । घटस्थापनाबाट सुरु हुने यो अनुष्ठान, हरेक दिन पृथक दुर्गा स्वरूपको पूजा गर्दै दशौँ दिनमा विजया दशमीको रूपमा समापन गरिन्छ ।
वेदगुरु रविन्द्र आचार्यका अनुसार, देवी दुर्गाले नवौँ दिनसम्म महिषासुरलगायतका आसुरी शक्तिहरूसँग युद्ध गरी दशौँ दिनमा उनीहरूको संहार गर्नुभयो । त्यसैको सम्झनामा, सत्यको विजयको रूपमा यो दिनलाई ‘विजया दशमी’ भनिएको हो ।
दशमीः सत्यको विजय र टीका प्रसाद ग्रहण
विजया दशमीको दिन असत्यमाथि सत्यको विजय भएको विश्वासमा, आफ्ना मान्यजनहरूसँग टीका र जमरा ग्रहण गर्ने चलन छ । पूजामा प्रयोग गरिएको जमरा-जसलाई घटस्थापनाका दिन यव (जौँ) रोपेर उमारिएको हुन्छ जसलाई देवीको प्रसादस्वरूप मानिन्छ ।
‘जमरा भनेको प्रकृति र कृषिसँग प्रत्यक्ष सम्बन्धित छ,’ वेदगुरु आचार्य स्पष्ट पार्छन्, ‘जौलाई भगवान भोलेनाथको प्रतिक मानिन्छ भने यसलाई घरमा अत्यन्तै पवित्र, गुप्त स्थानमा उमारिन्छ । त्यसैले यो जमरा ग्रहण गर्नु भनेको भगवतीको प्रत्यक्ष कृपा प्राप्त गर्नु हो ।’
टीका र जमराको सांस्कृतिक महत्त्व
विजया दशमीको दिन, मान्यजनका हातबाट टीका र जमरा ग्रहण गरी जीवनमा आरोग्यता, समृद्धि, विद्या र यशको कामना गरिन्छ । समाजमा सम्मान र एकताको सन्देश फैलाउने यो परम्परा, पितामातादेखि अग्रज, गुरुजन र घरका वृद्ध सदस्यहरूसम्मको आशीर्वाद ग्रहण गर्ने अनुपम अवसर हो ।
राजा, राष्ट्रप्रमुखजस्ता व्यक्तित्वहरूले चाहिँ विशेष साइतअनुसार टीका ग्रहण गर्ने चलन रहिआएको छ । तर, सर्वसाधारणका लागि भने दिनभरि जुनसुकै समयमा पनि टिका लगाउने परम्परा रहिआएको वेदगुरुले स्पष्ट पार्छन् ।
देवी–देवताहरूको संयुक्त उपासना
विजया दशमीको पूजामा शिव–शक्तिको संयुक्त आराधना गरिन्छ । ‘जहाँ शिव हुन्छन्, त्यहाँ शिवा पनि हुनुहुन्छ, ! वेदगुरु भन्नुहुन्छ, ‘शिवा पराअम्बा, भुवनेश्वरी, दुर्गा, शैलपुत्री लगायतका नौ दुर्गा स्वरूपमा पूजनीय हुनुहुन्छ ।’ यही कारण, नौ दिनसम्म पृथक–पृथक दुर्गा स्वरूपहरूको पूजा गरी दशौँ दिनमा भगवतीको महाप्रसाद ग्रहण गरिन्छ ।
कृषि संस्कृतिसँग जोडिएको पर्व
दसैँ, नेपाली समाजमा केवल धार्मिक पर्व नभइ कृषिसँग पनि गहिरो सम्बन्ध राख्दछ । यव रोपण, जमरा उमार्ने परम्परा, अन्नको संरक्षण र दैवी शक्तिको कृपाका लागि प्रार्थनासमेत यस पर्वमा समेटिएको हुन्छ । ‘हाम्रो देश कृषि प्रधान छ । दसैँ पर्वले त्यसै कृषिलाई पनि सम्मान गर्छ,’ वेदगुरुले थप्नुभयो ।
विजया दशमी केवल असुरमाथि विजयको उत्सव नभइ, सत्य, सदाचार, सद्भाव र एकताको सन्देश दिने हिन्दु धर्मको एक महान पर्व हो । यस दिन, हामीले शक्ति स्वरूपा भगवतीको आराधना गर्दै, मान्यजनहरूबाट टीका–जमरा ग्रहण गरेर आत्मबल, सद्बुद्धि, र सकारात्मक ऊर्जाको सञ्चार गर्ने परम्परा निरन्तरता दिँदै आएका छौँ ।
वेदगुरु रविन्द्र आचार्यले दुष्टलाई दमन गर्न भगवती पराअम्बिकाले जुन प्रयास गरिन् र लड्दै–लड्दै गएर नौ दिनमा दमन गरेर दशौँ दिनका दिनमा खुसीयाली गर्दै सारा लोकलाई आसुरिय शक्तिबाट मुक्त गराएको दिनमा दसैँ मनाइन्छ । दसैँको दिन नौवटी दुर्गा देवीहरूको पूजा भइसकेपश्चात त्यसलाई महाप्रसादको रूपमा हामीले ग्रहण गर्ने गर्दछौँ ।’
यसै सन्दर्भमा गुरु नारायणप्रसाद आचार्यले भन्नुभयो, “दसैँ हाम्रो घर–आँगनमा बडो रमाइलोसँग आइपुग्छ । बाटो सफा गर्ने, मिलमा चिउरा कुट्न जाने, साथीभाइसँग आनन्दपूर्वक रमाइलो गर्ने चलन हुन्थ्यो । अहिले परिवेश अलि फरक भएपनि दसैँ आउँदा बजार र समाज उस्तै उल्लासमय हुन्छ ।”
उहाँका अनुसार दसैँ भनेको नवदुर्गा भगवतीको आराधनाको क्रम हो । उहाँले भन्नुभयो, “वर्षमा चारवटा दसैँ पर्छन्–आषाढ शुक्ल, माघ शुक्ल, चैत्र शुक्ल र आश्विन शुक्ल । अहिले हामीले मनाउने ठुलो दसैँ भने आश्विन शुक्लको बडादसैँ हो ।’
चैत्र र असोज महिनामा बढी दुर्गा आराधना हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो समयमा रोग व्याधि र दुर्घटनाहरु बढ्ने भएकाले देवीको पूजा गरेर ती संकट टारिन्छ भन्ने विश्वास छ ।”
दशमीलाई उहाँले पूर्ण तिथि भएको स्पष्ट पार्दै थप्नुभयो, “नवरात्र पूरा भएपछि दशौँ दिन पूर्ण मानिन्छ । जब भगवान् रामले रावणलाई हराउन भगवतीको आराधना गर्नुभयो, नवौँ दिनमा देवी प्रकट भइ शक्ति दिनुभयो । त्यसपछि रामले विजय प्राप्त गर्नुभयो । यही कारण दशमीलाई ‘विजया दशमी’ भनिन्छ ।”
गुरु आचार्यका अनुसार दसैँ केवल पूजा मात्र नभइ परिवारसँगको मिलन, समाजमा खुसी बाँड्ने अवसर र असत्यमाथि सत्यको विजयको प्रतिक हो । –नेपाल न्यूज बैंक