- सबिता नयाँजू
काठमाडौँ, २८ भदौ । गोरखा जिल्ला, बारपाक सुलिकोट–५ घर भइ हाल काठमाडौँमा बस्दै आएका २२ वर्षीय विमलबाबु भट्ट संसद भवन अगाडिको आन्दोलनमा प्रहरीको गोली लाग्ने पहिलो जेनजी आन्दोलनकारी हुन् । उनी देश परिवर्तन गर्न भनेर आन्दोलनमा गएका थिए । आन्दोलन सफल भयो तर उनी फर्किएनन् ।
उनी कहिल्यै घर फर्किँदैन भन्ने परिवारले कल्पना समेत गरेको थिएन । बिमललाई गोली लागेको कुरा लामो समयसम्म पनि परिवारलाई पत्तो नै भएन । एउटा टिकटक भिडिओमा आफ्नो दाइलाई गोली लागेर अस्पताल लगिएको छ बहिनीले पहिलो पटक पत्ता लगाएकी थिइन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा बहिनीले भन्नुभयो, ‘दाइलाई गोली लागेको थाहा पनि थिएन । एक जना दिदीले पहिलो गोली लाग्ने जेनजी भनेर टिकटकमा भिडिओ राख्नुभएको रहेछ । त्यहीँबाट थाहा पाएर म अस्पतालसम्म पुगेको हुँ ।’
साथै, आफ्नो दाइले ढुङ्गा पनि नहानेको साइडमा बसेको अवस्थामा पनि गोली हानेको भन्दै खुट्टातिर गोली हानेको भए बाच्ने मेरो दाइलाई छातिमा नै गोली हानेर मारेको पनि उहाँको दाबी रहेको छ ।
विमल आफू आन्दोलनमा गए पनि ढुंगामुढा गर्न उत्रिएका थिएनन् । आन्दोलनमा नारा लगाइरहेका थिए तर छातीमै गोली बर्षाइएको बहिनीले सुनाउनुभयो ।
“मेरो दाइको हातमा ढुङ्गा पनि थिएन । साइडमा बसेको थियो रे । साइडमा बसेको मान्छेको छातीमा गोली हानियो । उनीहरुले खुट्टातिर पनि गोली हान्न सक्थे तर छातीमै बर्षाए । खुट्टामा लागेको भए मेरो दाइ ज्यूँदै हुन्थ्यो कि” उहाँले भन्नुभयो ।
“दाइको मृत्युका बारेमा अहिलेसम्म सरकारको तर्फबाट केही अभिव्यक्ति आएको छैन । सरकारले गर्ने कामहरु पूरा गर्छ होला भन्ने आशामा छौँ,’ उहाँ आशावादी हुनुहुन्छ ।
विमल परिवारको तीन छोरामध्ये कान्छो थिए । घरमा सबैको प्यारो थिए । आमा मानसिक रोगको बिरामी हुुँदा पनि बुबाले खेतीकिसानी गरेर काबिल बनाएका छोरा थिए । अब उनका बुबाले शव कसरी हेर्लान र उठाउलान् ?
सरकारी पक्षबाट गोली लागेर मृत्यु भएका बिमलको शवलाई पोस्टमाटम गरेर टुक्रा टुक्रा पार्ने पक्षमा आफूहरु नरहेको भाउजु गोमा भट्टको भनाइ छ । उहाँले भन्नुभयो, “पोस्टमाटम गर्ने पक्षमा हामी छैनौँ । किनभने सरकारी पक्षबाट गोली हानेर उहाँको हत्या भएको छ । मरिसकेको मान्छेलाई किन टुक्रा टुक्रा पार्ने ? त्यस्तो शव आमाबाबुले कसरी हेर्ने ? ६ दिन बितिसक्दा पनि आमालाई छोराको मृत्यु भएको कुरा थाहा छैन ।”
मृत्यु भएको ६ दिन बित्दा पनि शव हेर्न नपाएको भन्दै उनलाई सहिद घोषणा गरेर उचित क्षतिपूर्ती दिनुपर्ने उहाँले माग राख्नुभएको छ ।
“जेनजीको आन्दोलनमा सबैभन्दा पहिला गोली खाने युवा हो । हामीले अहिलेसम्म पनि हेर्न पाएका थिएनौँ, भर्खरै देख्न पायौँ । केही भन्नु छैन । मात्र सहिद घोषणा हुनुपर्छ र उचित क्षतिपूर्ती पाउनुपर्छ । गोली हान्ने अपराधीलाई पनि सजाय हुनुपर्छ ।”
मामाको घरबाट निस्किनुअघि विमलले खुलेरै भनेका थिए, “म जेनजी आन्दोलनमा जान लागेको भन्दा मामाले सम्झाएका थिए,‘नजाऊ भान्जा, त्यहाँ गएर केही हुन्न ।’ बिमलले भने ‘हामी नगए, को जान्छ ? हामीले देश नबनाए अब कसले बनाउँछ ?”
*बिमलको तस्बिर सामाजिक सञ्जालबाट साभार गरिएको छ ।